१० लाख धरौटीमा रिहा भए कांग्रेस उपसभापति गच्छदार- समाचार - कान्तिपुर समाचार

१० लाख धरौटीमा रिहा भए कांग्रेस उपसभापति गच्छदार

कान्तिपुर संवाददाता

काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । 

विशेष अदालतबाट बाहिरिँदै कांग्रेस उपसभापति विजयकुमार गच्छदार । तस्बिर: दीपक केसी/कान्तिपुर

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अहिलेसम्म केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।


प्रकाशित : असार ३०, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ व्यापारिक संस्था र नेपाल चीन चेम्बर अफ कमर्सबीच समझदारी

लक्ष्मी लम्साल

बेइजिङ — अन्तरदेशीय व्यापार, लगानी तथा उद्योग लगायतका क्षेत्रमा आपसी सहजीकरण गर्ने उद्देश्यले नेपाल र चीनका व्यावसायिक संस्थाहरूबीच बुधबार बेइजिङमा एउटा समझदारी (एमओयू) पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

चिनियाँ एसोसियसन अफ इन्टरनेशनल इन्जिनियरिङ कन्सल्ट्यान्ट तथा इन्टरनेशनल बिजनेस एड्भाइजरी काउन्सिल (आईबीएसी/सीएआईईसी) र नेपाल चीन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनसीसीसीआई) बीच राजधानी बेइजिङस्थित नेपाली दूतावासमा हस्ताक्षर सम्पन्न भएको हो ।

समझदारीमा उत्पादन आयात तथा निर्यात व्यापार, सहकार्य संयन्त्र, दुवै पक्षबीच जानकारी आदान प्रदान, परियोजनाको व्यवस्थापन, मैत्रीपूर्ण समझदारी तथा विश्वास विकास गर्नका लागि समझदारीले सहकार्य बढाउने उल्लेख गरिएको छ। ‘समझदारीले सम्भावनाका नयाँ ढोकाहरू खोल्छ,’ बेइजिङस्थित दूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले भने, ‘दुई पक्षका व्यवसायीबीच व्यापार, लगानी, क्षमता अभिवृद्धि, टेक्नोलोजी ट्रान्सफर्मर लगायतका विषयमा नयाँ तरिकाले अघि बढ्ने बाटो बनाउनेछ ।’

समझदारीमा दुवै पक्षबीच आयात निर्यात, प्राविधिक सहकार्य, औद्योगिक लगानी, परियोजना समझदारी सम्बन्धी सूचना र सम्पर्क स्थापित गर्ने, आपसी क्षमता अभिवृद्धि गर्ने, मैत्रीपूर्ण भ्रमण, लगानी, व्यापारलगायतका विषयमा जानकारी सम्प्रेषण, औद्योगिक परामर्शको ‘डायलग मेकानिज्म’ लगायतका विषयमा तीन वर्षका लागि यस्तो समझदारी भएको हो। यस्तो समझदारी केही दिनअघि श्रीलंकाली व्यावसायिक निकायसँग पनि भएकाले उस्तै तरिकाले नेपालले पनि हस्ताक्षर गरेको पराजुलीले बताए ।

समझदारीमा हस्ताक्षरपछि सीएआईईसीका महासचिव रन यी फङले कोरोना महामारी मत्थर भएपछि नेपालको लगानी स्थितिबारे अध्ययन गरेर बेइजिङमा ठूला लगानीकर्ताहरूबीच बृहत् लगानी मञ्चको आयोजना गर्ने घोषणा गरे। महामारीका कारण नेपालबाट (एनसीसीसीआई) का महासचिव विवेक पौड्यालको हस्ताक्षर सहितको कागजात बेइजिङमा मगाएर हस्ताक्षर गरिएको थियो ।

प्रकाशित : असार ३०, २०७८ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×