पहिरोपीडित पाँच वर्षदेखि जोखिमस्थलमै

५३ जनाको मृत्यु भएको गाउँका ५० परिवार अहिले पनि पहिरोको उच्च जोखिममा 
भूकम्पपीडितसरह राहत उपलब्ध गराउने सरकारको आश्वासन अपूरै
कान्तिपुर संवाददाता

प्यूठान — त्यो कहालीलाग्दो क्षण सम्झिँदा अझै उनका हातखुट्टा चिसा हुन्छन् । बादल मडारिन थालेपछि घरभन्दा माथिको डाँडाको निगरानी गरेरै दिन कटाउँछन् । पाँच वर्षअघि खसेको ठूलो पहिरोले बुहारी र एक वर्षीय नातिलाई पुरेको थियो । त्यसैले शनिबार पनि नौबहिनी गाउँपालिका–८ फोप्लीका टेके पुन पिँढीमा बसेर घरमाथिको पहिरोस्थल नियालिरहेका थिए । त्यो पहिरोमा परेर उनका १० आफन्त एकै दिन दिवंगत भएका थिए ।

घरछेउको त्यो बारी अहिले मसानघाटजस्तै लाग्ने उनले बताए । ‘बर्खा सुरु भएपछि मनमा अनेकौं कुरा खेल्न थाल्छन्,’ उनले भने, ‘पहिरोले भाइसन्तानको जिलो (वंश) नै मासियो, अहिले पनि पानी पर्दा झलझली त्यही दिनको याद आउँछ ।’

पहिरोस्थल देखाउँदै पुनले त्रासदीबाट मुक्त हुन बसाइँ सार्नुको विकल्प नभएको बताए । सुरक्षित स्थलमा खोजे पनि नपाएको उनको गुनासो छ । ‘गर्जो टार्नै धौधौ छ, यहाँ नबसे कहाँ जानु ? अहिले पनि पानी दर्किएपछि भासिएको जमिन कतै बग्ने हो कि भन्ने सोचेर आङ सिरिङ हुन्छ,’ उनले भने ।

यहाँको फोप्लीकी स्थानीय छिमा पुनले ०७३ साउन १० मा आएको उक्त पहिरोमा अभिभावक गुमाइन् । सँगैका भाइ बिते, दुई बहिनीको पहिरोमै परेर मृत्यु भयो । गोठमा बसेका परिवारका सबै सदस्य गुमाएकी उनको मन अहिलेसम्म उज्यालिएको छैन । सम्झेर बेला बेला रुन्छिन् । ‘चाडपर्व, मेलापात गर्न साह्रै याद आउँछ,’ उनले भनिन्, ‘पहिरोले सबै खोस्यो, टुहुरी भएँ ।’ उक्त पहिरोमा परेर ५३ जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रशासनका अनुसार फोप्लीका मात्रै २७ जनाको मृत्यु भएको थियो । घटनालगत्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले लुङको बहानेमा आएर पीडितलाई सरकारले भूकम्पपीडित सरह राहत उपलब्ध गराउने आश्वासन दिएका थिए । उक्त आश्वासन अहिलेसम्म पूरा नभएको छिमाले बताइन् । ‘लत्ताकपडासहितको सानो बाकस दिनुभएको थियो,’ उनले भनिन्, ‘त्यसपछि के भयो, थाहा छैन ।’ कसैले सहयोग नगरेको उनले बताइन् ।

फोप्लीकै लोकबहादुर विक सोही पहिरोले बस्ती जोखिममा परेपछि नजिकैको विद्यालयमा आश्रय लिएर बसे । लामो समयसम्म वैकल्पिक बासको व्यवस्था नभएपछि अहिले पुरानै घरमा फर्किएका छन् । चर्किएको जमिन र घर कति खेर बग्ने हो भन्ने पीरमा दिन बिताउने गरेको उनले बताए । उनका अनुसार गाउँका २ सय घर जोखिममा परेका थिए । ‘बस्ती छोडेर त्यसबेला स्कुलमा सर्‍यौं,’ उनले भने, ‘पछि फर्केर जोखिम स्थलमै बसिरहेका छौं ।’ पानी परेका बेला अहिले पनि घरवरपर पहिरो जान थालेको उनले बताए । ‘जग्गा यस्तैमा छ, कहाँ जानु,’ उनले भने, ‘बस्ने र केही गरिखाने ठाउँको व्यवस्था भए बस्ती नै अन्यत्र सर्ने सोच थियो ।’

स्थानीयका अनुसार गाउँका ५० परिवार अहिले पनि पहिरोको उच्च जोखिममा छन् । घटनाका बेला नेताले दिएको आश्वासन मिठो मानेर सुनेका फोप्लीकै पुठे विक अहिले दिक्क मानेर बसिरहेका छन् । आश्वासन दिनेले काम नगर्दा दुःखीका लागि कोही नभएको उनले बताए । ‘पहिरोले घर चर्किएको छ, अन्यत्र सर्न हामी सक्दैनौं, सरकारले हेरेन,’ उनले भने । बस्ती जोखिममा छ भनेर सबैले भन्छन् तर कसरी सुरक्षित हुने भनेर कसैले सिकाउँदैनन् । ‘बस्ती सुरक्षित ठाउँमा सार्छौं भन्ने धेरै आए तर कसैले काम गरेर देखाएनन्,’ उनले गुनासो पोखे ।

०७३ सालको पहिरोले घरबारविहीन भएर आफन्तकहाँ आश्रय लिएर बसेकाहरूको अवस्था अहिले पनि उस्तै छ । ८० भन्दा बढी घरमा पहिरोले क्षति पुर्‍याएको थियो । तिनै घरलाई टालटुल पारेर अधिकांश बसेका छन् । त्यो बेला भूकम्पको धक्काजस्तै गरी आएको पहिरोले पूरै गाउँ हल्लाएको फोप्लीकै समसेर पुनले बताए । ‘पहिरोले घरबारविहीन भएकालाई सरकारले आश्वासन दियो, सहयोग गरेन,’ उनले भने ।

पहिरोपीडितका लागि फोप्लीकै रामबारीमा जनता आवासमार्फत सरकारले जंगलका बीचमा ७ वटा घर बनाइदिएको थियो । अत्यन्तै नाजुक अवस्थाका परिवारलाई सर्न भनिए पनि पीडितहरू नमानेर पुरानै घरमा फर्किएको नौबहिनी–८ का वडाध्यक्ष ओबे कामीले बताए । ‘पीडितहरूको अवस्था नाजुक छ,’ उनले भने, ‘अन्तै सर्नूस् भनेका छौं तर उहाँहरू पुरानो थातथलो छोड्न मान्नुहुन्न ।’ पीडितले पुरानो थलोबाट सार्न सुरक्षित स्थान पनि व्यवस्था नभएको उनले बताए ।

विद्युत् र खानेपानीको व्यवस्था गरिए पनि बस्तीदेखि जंगलको छेउमा भनेर रामबारीमा सार्न नसकिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिवराज रिजालले बताए । ‘सबैलाई बस्न आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘पीडितलाई जस्तापाता उपलब्ध गराइएको थियो ।’ प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाउँपालिकामार्फत अहिलेसम्म उक्त बस्तीको जोखिमका बारेमा कुनै जानकारी नआएको बताए । ‘अन्य पालिकाबाट आएको जोखिमको खबर प्रदेश सरकारलाई जानकारी गराएका छौं,’ उनले भने, ‘तर, फोप्लीका विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।’

प्रकाशित : असार २७, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

प्लेयर्स टु वाच : लियोनार्डो बोनुची र ह्यारी केन

कान्तिपुर संवाददाता

काठमाडौँ — युरो २०२० अन्तर्गत आइतबार राति फाइनल खेल हुँदै छ । लन्डनको वेम्बली स्टेडियममा राति १२:४५ बजे हुने खेलमा उपाधिका लागि घरेलु टोली इङ्ल्यान्डले इटालीको सामना गर्नेछ । सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ ले हराएको थियो ।


आजको ‘प्लेयर्स टु वाच’ मा हामीले इटालीका लियोनार्डो बोनुची र इङ्ल्यान्डका ह्यारी केनलाई छानेका छौं ।

लियोनार्डो बोनुची, इटाली

इटालीको सेन्टरब्याक लियोनार्डो बोनुची र जर्जियो चिलिनीले सम्हालिरहेका छन् । विश्वका जस्तोसुकै फरवार्डलाई पनि यी दुई डिफेन्सलाई उछिन्न गाह्रो हुन्छ । यी दुवै डिफेन्स इटालियन महारथी युभेन्ट्समा आबद्ध छन् । युरो २०२० मा ६ खेलमा ५५५ मिनेट मैदानमा रहेका बोनुचीले २२ पल्ट बल रिकोभर गरेका छन् । कठिन परिस्थितिमा १३ पल्ट क्लियर गरेका उनले तीनपल्ट ब्लक गरेका छन् । प्रतिघण्टा २९.९ किमिसम्म दौडिएका ३४ वर्षीय उनको ८८ प्रतिशत पास सफल भएको छ । उनलाई युरोको फाइनलमा ह्यारी केन र रहिम स्टर्लिङलाई रोक्ने चुनौती छ ।

ह्यारी केन, इङ्ल्यान्ड

इङ्ल्यान्डका कप्तान ह्यारी केनले सही समयमा लय समातेका छन् । उनले युरो २०२० मा नकआउट चरणका तीन खेलमा ४ गोल गरेका छन् । गोलपोस्टमा १५ पल्ट प्रहार गरेका गरेका उनको आठ आक्रमण अन टार्गेट रह्यो । प्रतिघण्टा ३०.८ किमिसम्म दौडिएका २७ वर्षीय उनको ७३ प्रतिशत पास सफल भएको छ । टोटेनहमका यी फरवार्डले उनले थ्री लायन्सका लागि ६० खेलमै ३८ गोल गरिसकेका छन् । उनी कीर्तिमानी गोलकर्ता वायन रोनीको १३ गोल नजिक पुगेका छन् । उनको नेतृत्वमा इङ्ल्यान्डले ५५ वर्षयता पहिलो उपाधि जित्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : असार २७, २०७८ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×