कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस महाधिवेशन : महामन्त्रीमा क–कसको दाबी ?

टिमको नेतृत्वमा को हुने भन्ने यकिन नहुँदा कतिपय नेतालाई पदाधिकारीमा निर्णय गर्न अप्ठ्यारो परेको छ

काठमाडौँ — कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उठ्न चाहनेहरू एक दर्जनभन्दा बढी देखिएका छन् । दुई महामन्त्री पदका लागि संस्थापन पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद र विश्वप्रकाश शर्माले आकांक्षा राखेका छन् । संस्थापनइतर पक्षबाट चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेललायतका युवा नेताको पहिलो रोजाइ महामन्त्रीमा रहेको छ । 

कांग्रेस महाधिवेशन : महामन्त्रीमा क–कसको दाबी ?

पदीय हिसाबले सभापतिपछिको वरीयतामा उपसभापति भए पनि कांग्रेसमा महामन्त्री आकर्षक पद बन्ने गरेको छ । पछिल्लो पटक संशोधन गरिएको विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने नयाँ व्यवस्था यसै महाधिवेशनबाट कार्यान्वयनमा आउने भएको छ । कांग्रेसमा उपसभापति पद नै थिएन । सभापतिपछि महामन्त्रीको व्यवस्था थियो ।

पार्टी संगठनमा मुख्य हर्ताकर्ता महामन्त्री नै हुने गरेका छन् । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पहिलो पटक शैलजा आचार्यलाई उपसभापति बनाएका थिए । कांग्रेस विभाजित भई शेरबहादुर देउवाको नेतृत्वमा बनेको तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) ले गोपालमान श्रेष्ठ र प्रकाशमान सिंहलाई उपसभापति बनाएको थियो । शैलजापछि कांग्रेसमा सुशील कोइराला उपसभापति बने । त्यसपछि नै उपसभापति पदले निरन्तरता पाएको हो ।

संस्थापन पक्षबाट महामन्त्रीमा आकांक्षा राखेका कार्की उपसभापति विमलेन्द्र निधिपछिको वरिष्ठ नेतामा पर्छन् । उनी निधिपछिको नेविसंघको अध्यक्षसमेत हुन् । देउवाको विश्वासपात्र रहेका कार्कीको पार्टीमा भद्र नेताको छवि बनेको छ । यस पटक महामन्त्री बन्न नसके अर्को महाधिवेशन आफ्ना लागि अनुकूल नहुने उनले ठानेका छन् । देउवाका अर्का विश्वासपात्र हुन– महत । देउवाका राम्रा र नराम्रा सबै कामका पक्षपोषण गर्दै आएका महत महामन्त्रीको उम्मेदवार हुनेमा ढुक्क देखिन्छन् । उनले आफू महामन्त्रीमा उम्मदेवार हुने सार्वजनिक रूपमा बताइसकेका छन् ।

पटक–पटक मन्त्री र पार्टीको सहमहामन्त्री भइसकेका कारणले संगठनमा आफ्नो अनुभवले काम गर्ने भन्दै उनले महामन्त्रीमा दाबी गरेका छन् । तरुण दल र नेविसंघको सांगठनिक नेटवर्क भएका खाँण महामन्त्रीका सशक्त आकांक्षी हुन् । उनले महामन्त्री नपाए संस्थापन पक्ष छाड्नेसम्मको चर्चा हुन थालेपछि देउवालाई महामन्त्रीमा क–कसलाई ल्याउने भन्नेमा समस्या देखिन थालेको छ । युवा जनमत र आकर्षण बोकेका सावद र शर्मा पनि महामन्त्रीका प्रबल दाबेदार हुन् । नेविसंघका सातौं अध्यक्ष सावद र दसौं अध्यक्ष शर्माप्रति युवा पंक्तिको आकर्षण छ ।

संस्थापनइतर पक्षमा तेस्रो पुस्ताका युवा नेता महामन्त्री र सहमहामन्त्रीका लागि आकर्षित छन् । चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेललगायत आकांक्षी देखिए पनि समूह व्यवस्थापनका लागि भण्डारी, थापाबाहेकका युवा नेताले सहमहामन्त्रीमा आफू सुरक्षित हुने ठानेका छन् । संस्थापनइतर पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिका प्रत्याशी छन् । उनीहरूले सभापतिको उम्मेदवार नभए पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने बताएका छन् । सभापतिका आकांक्षी धेरै भएकाले दोस्रो पुस्ताका वरिष्ठ नेताहरूमा उपसभापति र महामन्त्री कता प्रतिस्पर्धा गर्ने भन्नेमै अन्योल छ ।

केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार टिमको नेतृत्वमा को हुने भन्ने यकिन नभएकाले पनि समकक्षी नेताहरूलाई पदाधिकारीमा निर्णय गर्न अप्ठ्यारो परेको छ । आफूभन्दा कनिष्ठले टिमको नेतृत्व गर्ने भए आफू पदाधिकारीमा प्रतिस्पर्धा नगर्ने उनको संकेत थियो । त्यसैले पहिला नेतृत्वका लागि सहमति गराउन खोजिएको उनले बताए । अर्का नेता महेश आचार्य साथीभाइको सहयोग प्रस्ट नभएसम्म आफू उम्मेदवार हुन्छु भनेर लाग्नुको अर्थ नहुने बताउँछन् । ‘सबै साथी आ–आफ्नो बाटामा छन् । परिस्थिति केन्द्रित भएर छलफल भएको छैन,’ उनले भने, ‘समय भएकाले केही दिन परिस्थिति हेरेर मात्रै निर्णय गर्न सकिन्छ ।’

दोस्रो पुस्तामा नेता मीनेन्द्र रिजालले भने महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएका छन् । नेता महत भने राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध र अनुभवका आधारमा आफूलाई साथीभाइले सभापतिकै लागि प्रत्याशी बन्न दबाब दिँदै आएको बताउँछन् । ‘तपाईं कि त सभापति बन्नुपर्छ, कि त कार्यकारी प्रमुख नै हुनुपर्छ भन्ने सुझाव छ,’ उनले कान्तिपुरसँग भने, ‘मेरो प्राथमिकता पार्टीभित्र समग्र एकता होस् भन्नेमा हो । नभए आफ्नो टिमभित्र एकता हुनुपर्छ, एकताका बखत म नै हुनुपर्छ भनेर अडान मैले राखेको छैन । तर, आफूभन्दा जुनियर सभापति हुने भए म पदाधिकारीमा उठ्दिनँ, सिनियरकै नेतृत्वमा बस्नुपर्ने भयो भने विचार गर्न सकिन्छ ।’

संस्थापनइतर पक्षमा पार्टीमा नेतृत्व लिन चाहने युवाको पंक्ति ठूलो छ । तीमध्ये एक दर्जन युवा तहका नेता एकैठाउँमा उभिएपछि वरिष्ठ नेताहरूलाई नै युवासँग प्रतिस्पर्धामा खरो उत्रन कठिनाइ परेको छ । दुई उपसभापति र दुई महामन्त्रीमध्ये दोस्रो तहका नेताहरूका लागि एक/एक पद दिएर अरू सबैमा युवालाई ल्याउने प्रयासमा चन्द्र भण्डारी र गगन थापालगायतका युवा पंक्तिको जोड छ । भण्डारीले उपसभापति पद ताकेका छन् । अर्का नेता गगन थापालाई जुनै समूहले पनि महामन्त्रीमा उठाउन चाहेको छ । उनी कांग्रेसमा निर्विरोध महामन्त्रीका उम्मेदवार जस्ता बनेका छन् ।

धनराज गुरुङ, प्रदीप पौडेल, गुरु घिमिरे, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव, सरिता प्रसाईंसहितका नेतामध्ये अधिकांशले सहमहामन्त्री सुरिक्षत हुन खोजेका छन् । समानुपातिक समावेशीको समूहबाट ८ सहमहामन्त्रीको व्यवस्था रहेकाले धेरै युवाको व्यवस्थापनमा सहज हुने पनि देखिएको छ । सभापतिका धेरै प्रत्याशी हुँदा कसको टिमबाट उम्मेदवार हुने भन्ने अन्योल युवामा पनि छ । ‘पहिला त हामी तपार्इंहरू एक भएर आउनुहोस् भनेर सबैलाई दबाब दिएका छौं, भएन भने हाम्रो भावना र टिमलाई जसले मिलाएर लैजान्छ त्यतातिरै हामी सबै जोडिन्छौं,’ भण्डारीले भने, ‘हामी विभाजित हुँदैनौं, संस्थापनपक्षबाट पनि युवा साथीहरू आउन खोज्नुभएको छ । जो जति हुन्छौं, हामी एक भएर एउटै टिमबाट उम्मेदवारी दिन्छौं ।’

२०७५ पुसको महासमिति बैठकले पार्टी विधान संशोधन गर्दै कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरेपछि उपसभापति र महामन्त्री दुवै पदप्रति आकर्षण उत्तिकै रहेको नेता एनपी सावद बताउँछन् । पुरानो संरचनामा महामन्त्रीमा बढी आकर्षण भए पनि अहिलेको विधानले सबै पद निर्वाचनबाट आउने व्यवस्था गरेपछि उपसभापति पनि आकर्षक पद रहेको उनको ठम्याइ छ । यसअघि उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री सभापतिबाट मनोनीत हुने व्यवस्था थियो ।

प्रकाशित : असार २४, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?