कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

नियमावली संशोधन नहुँदा नास्टमा ६ वर्षदेखि कर्मचारी भर्ना बन्द

२३१ स्वीकृत दरबन्दी रहेको नास्टमा हाल ८२ जना कर्मचारी छन् । तीमध्ये २७ जना मात्रै वैज्ञानिक छन्
गोविन्द पोखरेल

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)मा ६ वर्षदेखि वैज्ञानिक तथा कर्मचारीको पदपूर्ति हुन सकेको छैन । नेपालको संविधान २०७२ मा सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व रहेका निकायहरुमा लोकसेवा आयोगले नै परीक्षा लिएर पदपूर्ति गर्ने व्यवस्था गरिएपछि नास्टले कर्मचारी पदपूर्ति गर्न नसकेको हो । यसअघि नास्टले सेवा आयोगमार्फत कर्मचारी भर्ना गर्दै आएको थियो ।

नियमावली संशोधन नहुँदा नास्टमा ६ वर्षदेखि कर्मचारी भर्ना बन्द

२३१ स्वीकृत दरबन्दी रहेको नास्टमा हाल ८२ जना स्थायी कर्मचारी छन् । तीमध्ये २७ जना मात्रै वैज्ञानिक प्राविधिक छन् भने कर्मचारी प्रशासनमा ५७ जना छन् ।

केही वैज्ञानिक अधिकृत तथा प्राविधिकहरु अध्ययनका लागि विदेशमा छन् । अत्यावश्यक कामका लागि भनेर १६ जना वैज्ञानिक/प्राविधिक र ७ जना प्रशासनमा करार भर्ना गरिएको छ । यो बीचमा नास्टका कर्मचारीहरुको बढुवा तथा वृत्तिविकास हुन सकेको छैन ।

'६ वर्ष पूरा भयो विज्ञापन नभएको । करिब १५ वर्षदेखि करार सेवाका कर्मचारीहरु अझै सोही पदमा छन्,' नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले भने,' कर्मचारी भर्नाको नियमित प्रक्रियाहरु सबै रोकिएका छन्', उनले भने, 'नयाँ विज्ञापन भएको छैन, जनशक्ति अभाव हाम्रो प्रमुख समस्या हो । '

विज्ञानका अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठ अनुसन्धान गर्ने संस्थामा कर्मचारीभन्दा अनुसन्धानकर्मी बढी हुनु पर्ने बताउँछन् । उनी भन्छन्, 'कर्मचारी प्रशासन पनि चाहिन्छ । तर वैज्ञानिकहरुको संस्थामा वैज्ञानिकहरुको उपस्थिति धेरै हुनुपर्छ । नभए कसरी काम गर्छन् ? ' श्रेष्ठका अनुसार नेपालमा नास्ट, नार्कलगायतका संस्थाहरुमा विगतकाभन्दा पनि वैज्ञानिकहरुको संख्या घट्दै जानु दुःखद् कुरा हो ।

नास्टका पदाधिकारीहरुले कर्मचारी नियमावली संशोधनमा चासो नदेखाउँदा जनशक्ति घट्ने र सेवानिवृत्त हुने कर्मचारीहरुको संख्या बढ्दै जाने अवस्था छ । यो वर्षमात्रै नास्टका ४ जना कर्मचारी सेवानिवृत्त हुँदैछन् । कर्मचारी प्रशासन महाशाखाका प्रमुख निरञ्जन आचार्यले भने, 'अघिल्लो वर्षमा ४ जना अवकाश हुनुभयो । यो वर्ष मसहित ४ जना अवकाश हुँदैछौं ।' पछिल्लो एक दशकमा ६० जना स्थायी कर्मचारी सेवानिवृत्त भएर गएको उनले बताए ।

संविधानको धारा २४३ को उपधारमा २ मा नेपाल सरकारका ५० प्रतिशतभन्दा बढी स्वामित्वमा भएका संस्थाहरुमा कर्मचारी भर्ना गर्दा लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने उल्लेख छ । उक्त प्रावधान अनुसार सेवा आयोगमार्फत कर्मचारी भर्ना गर्न नपाउने भएपछि नास्टले कर्मचारी नियमावली संशोधन गर्नुपर्ने भए पनि गरेको छैन । पदाधिकारीहरुले कुनै चासो नदेखाएपछि भर्ना प्रक्रिया र कर्मचारीको वृत्ति विकास रोकिएको छ ।

हालै नास्टको सेवा आयोग अध्यक्षमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसचिव खगराज बराललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बरालले अवकाश हुनु महिना दिनअघि नास्टमा नियुक्ति पाएका हुन् । उनले सचिव पदबाट राजीनामा दिएर मंगलबार नास्टमा नियुक्ति लिएका थिए ।

बरालले बुधबार (असार २३ गते) नास्टमा पुगेर पदभार ग्रहण गरिसकेका छन् । उनले नास्टमा रहेको कर्मचारी भर्ना र वृत्ति विकासजस्ता समस्या समाधान गर्ने आश्वासन दिएका छन् । सेवा आयोगमा सदस्यहरुमा एक जना लोकसेवा आयोगको प्रतिनिधि र नास्टका प्राज्ञ प्राडा जनार्दन लामिछाने छन् ।

प्रवक्ता ढुंगेलले नास्टको कर्मचारी नियमावली संशोधनको प्रक्रियामा रहेको भन्दै अहिले देखिएको समस्या छिट्टै हल हुने बताए ।

प्रकाशित : असार २३, २०७८ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?