एक मात्रा लगाए हुने खोप ल्याइँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक मात्रा लगाए हुने खोप ल्याइँदै

कोभाक्स सुविधाअन्तर्गत अस्ट्राजेनेकाको खोप पनि जुलाईभित्रै आउने
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो । 

तस्बिर : रोयटर्स

जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

‘एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले कान्तिपुरसँग भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक सातापछि थाहा हुन्छ ।’ कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । ‘यो खोप अमेरिकी सरकारले कोभाक्सलाई दिने र कोभाक्सको कोटाअन्तर्गत हामीकहाँ आउने हो,’ उनले भने ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन । विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन । पलिसार्वेट औषधि र मेकअपजस्तो उत्पादनमा पाइने सामान्य घटक हो । यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी छ । खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्घ ६६.९ प्रतिशत प्रभावकारिता देखिएको छ ।

कोभाक्स सुविधाबाटै अस्ट्राजेनेकाको कोभिसिल्ड खोप जुलाई महिनाभित्र नेपाललाई दिने जानकारी आएको डा. पोख्रेलले बताए । यो खोप कति मात्रा दिने हो भन्नेबारे हालसम्म यकिन भएको छैन । अस्ट्राजेनेकाको खोप आउनासाथ पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइनेछ । ६५ वर्षमाथिकाका लागि गत वर्ष फागुन २३ देखि सुरु भएको खोप अभियानअन्तर्गत करिब १३ लाख ६० हजार जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । उनीहरूले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले भारतमा ‘कोभिसिल्ड’ को नाममा उत्पादन गरिरहेको छ । कोभाक्स सुविधाअन्तर्गत हालसम्म नेपालले ३ लाख ४८ हजार मात्रा ‘कोभिसिल्ड’ खोप पाएको छ । कोभिसिल्ड खोप भारतसँग २० लाख खरिद गरिएकामा हालसम्म आधामात्रै नेपालले पाएको छ । भारतले अनुदानमा छुट्टै १० लाख मात्रा खोप दिएको थियो । ‘पहिले जस्तै न्यूनतम साढे तीनदेखि १५ लाख मात्रासम्ममा कति दिने हो यकिन भएको छैन,’ डा. पोख्रेलले भने, ‘कोभाक्सलाई जति उपलब्ध हुन्छ, त्यसअनुसार नै हामीले पाउने हो ।’

कोभाक्स सुविधाबाट उपलब्ध गराइने अस्ट्रेजेनेकाको खोपको मात्राअनुसार यसलाई ६५ वर्षमाथिका ज्येष्ठ नागरिकमा समेत उच्च उमेरकालाई सबैभन्दा पहिलाको रणनीतिअनुसार दोस्रो मात्रा लगाइने डा. पोख्रेल बताउँछन् ।

प्रकाशित : असार २३, २०७८ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमण दर अझै २०–२२ प्रतिशत

अतुल मिश्र

काठमाडौँ — निषेधाज्ञा खुकुलो भएपछि कोभिड–१९ संक्रमण दर स्थिर छ भने मृत्युको संख्यामा केही कमी देखिएको छ । पछिल्लो साता दैनिक ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको छ । 

फाइल तस्बिर : कान्तिपुर

असार दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो भएपछि करिब ४ जनाको पीसीआर परीक्षणमा एक जनामा पोजिटिभ दर देखिएको छ । एन्टिजेन परीक्षणमा कहिले ५ जनामा त कहिले ४ जनाको परीक्षणमा एक जनामा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो हुनुभन्दा अगाडि पनि ४ जनाको पीसीआर परीक्षण गर्दा १ जना पोजिटिभ र ५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको थियो ।

‘निषेधाज्ञा खुकुलो भएपछि पनि पोजिटिभ देखिने प्रतिशत खासै फरक छैन,’ वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले भने, ‘तर नेपाल जस्तो सानो मुलुकमा दिनहुँ कुल परीक्षण गराउनेमध्ये २०–२२ प्रतिशत पोजिटिभ देखिनु अत्यन्त बढी हो ।’ निषेधाज्ञा खुकुलो

भएपछि दैनिक कोभिड पोजिटिभ प्रतिशत २१ देखि २६ सम्म देखिएको छ । यसअघि यो प्रतिशत न्यूनतम १८.६ देखि अधिकतम २४.९५ सम्म देखिएको थियो । यस्तै, निषेधाज्ञा खोल्नुभन्दा केही दिनअघिसम्म एन्टिजेन परीक्षणबाट दिनहुँ १४.८ देखि १८.७ प्रतिशतसम्म पोजिटिभ देखिएको थियो । हाल एन्टिजेन परीक्षणबाट २०.२ देखि २३.४ प्रतिशतसम्म पोजिटिभ देखिएको छ ।

परीक्षणको संख्या नबढाएसम्म कोभिडको वास्तविकता थाहा पाउन नसकिने विज्ञहरू बताउँछन् । दिनहुँ ६–७ हजारको संख्यामा पीसीआर परीक्षण र ४ हजारदेखि साढे ४ हजारको संख्यामा एन्टिजेन परीक्षण भइरहेको छ । हवाई उडान सुरु हुनासाथ यथास्थितिमा कोभिड परीक्षण जारी रहँदा हालको परीक्षणको संख्यामा दोब्बर वृद्घि भएर संक्रमण प्रतिशतमा भने कमी देखिने उनीहरू बताउँछन् ।

‘अहिले अत्यावश्यक भएकाहरूले मात्र दिनहुँ ६–७ हजार जनाले परीक्षण गराइरहेका छन्,’ डा.बीसी भन्छन्, ‘हवाई उडान सुरु हुनासाथ दिनहुँ १४–१५ हजारसम्म परीक्षण हुन सक्छ, त्यसमा आधाजति बाहिर जान खोज्ने स्वस्थ व्यक्ति हुने भएकाले दिनहुँ देखिने संक्रमणको प्रतिशतमा कमी आउन सक्छ ।’ स्वस्थ व्यक्तिले बाध्यतावश परीक्षण गराउनुपर्दा यसले दैनिक देखिने संक्रमण दरमा कमी देखिने जनाउँदै डा. बीसीले भने, ‘यसरी संक्रमणमा देखिएको कमीलाई सरकारले ‘हामीले संक्रमण घटायौं’ भनेर उपलब्धिका रूपमा देखाउन बेर छैन ।’

अहिले पनि समाजमा कोभिडको संक्रमण नराम्ररी फैलिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरले बताए । ‘दिनहुँ ६–७ हजार परीक्षण गरेर वास्तविकता थाहा पाउन सकिन्न । निषेधाज्ञा खुकुलो भएपछि अहिले त सामान्य जनसंख्यामा व्यापक रूपमा परीक्षण हुनुपर्थ्यो,’ उनले भने । मुलुक तेस्रो लहरको उच्च जोखिममा रहेकाले तुरुन्त खोपको उपलब्धता हुनुपर्नेमा डा. बीसीले जोड दिए ।

प्रकाशित : असार २०, २०७८ ०६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×