२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एमाले कार्यदल : दुवै पक्ष अदालतको निर्णय नआउन्जेल ‘पर्ख र हेर’को रणनीतिमा !

बबिता शर्मा

काठमाडौँ — सहमतिको मस्यौदा बनाएर शीर्ष नेताबीच समझदारी निर्माण गर्ने कोसिसमा जुटे पनि एमाले कार्यदलका दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन् ।

एमाले कार्यदल : दुवै पक्ष अदालतको निर्णय नआउन्जेल ‘पर्ख र हेर’को रणनीतिमा !

डेढ महिनादेखि निष्क्रिय १० सदस्यीय कार्यदल सक्रिय बनाएर दुई दिन लगातार वार्ता गरे पनि दुवै पक्षले वार्तालाई ‘दाउपेच’ को माध्यम बनाएका छन् । तर, दुवैपक्ष वार्तालाई निरन्तरता दिन भने तयार छन् ।

‘सहमति जुटाउने कोसिस छ । तर, दुवै पक्ष सर्वोच्च अदालतको फैसला नआउन्जेल पक्ष पर्ख र हेरको रणनीतिमा देखिन्छन्’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैले वार्ता भए पनि नाटकीय घटनाक्रम विकास भएन भने अदालतको फैसलापूर्व सहमतिको सम्भावना कमजोर छ । दुवै पक्ष फैसलासम्म वार्ता लम्ब्याउने दाउपेचमा छन् । कार्यदलमा केन्द्रीय कमिटीको संख्या, पूर्वमाओवादी नेताहरुको व्यवस्थापनलगायतका विषयमा सहमति भएको छैन ।

प्रतिनिधिसभा विघटन बदर भई प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त हुनुपर्ने मागसहित परेका रिटमाथि असार ९ बाट सुरु भएको बहस सोमबार सकिएको छ । मुद्दाको हेर्दाहेर्दैमा अर्को पेसी असार २८ मा राखिएको छ । कार्यदलका एक सदस्यका अनुसार असार २८ आसपास फैसला आउने र त्यसले राजनीतिक शक्ति सन्तुलनमा फेरबदल हुने भएकाले दुवै पक्ष अहिले ‘पर्ख र हेर’को रणनीतिमा लागेका हुन् ।

ती सदस्यले भने, ‘यदि प्रतिनिधिसभा विघटन बदर भई प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त हुनुपर्ने मागलाई अदालतले स्वीकार गर्‍यो भने नयाँ राजनीतिक परिवेश हुन्छ । होइन, अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरिदियो भने नयाँ कोर्स सुरु हुन्छ वा अदालतले मध्यमार्गी कुनै निर्णय दियो भने त्यसले पनि नयाँ आधार बनाउन सक्छ । यी सबै जोडकोणलाई ध्यान दिएर दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा छन् ।’

सोमबार सिंहदरबारमा नै बसेको बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भए पनि नियमित एजेन्डामा प्रवेश गरेको थिएन । नमिलेका सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल तयार देखिएका छन् ।

नेता भीम रावलले पनि बैठकमा संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयहरुमा छलफल भएको भन्दै बुधबार थप छलफल गरेर अगाडि बढ्ने बताए । ‘हिजोको बैठकमा विषय प्रवेश गरेका थिएनौं । आज हामीले विषयमा प्रवेश गरेका छौं । र, छलफल गरेका छौं । कार्यदल सदस्यहरुबाट विविध विषय आएका छन् । ती विषयका आधारमा हामी थप छलफल गरेर अगाडि बढ्छौं ।’

प्रतिनिधिसभा विघटन बदर भई प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुपर्ने मागसहितको रिटमा एमालेको झलनाथ खनाल–नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । ओली पक्षले हस्ताक्षर फिर्ता लिन सोमवार साँझ पाँच बजेसम्मको अल्टिमेटम दिए पनि पछाडि हटेको छ । सुनुवाइ सकिएकाले यसमा थप अडान नलिनेमा ओलीपक्ष पुगेको छ । दुवै पक्ष अदालतको निर्णय पर्खन तयार भएका छन् तर सहमतिको भाषामा भने सहमति बनिसकेको छैन ।

मंगलबारको बैठक बुधबार बिहान साढे ८ बजे पुनः बस्ने गरी टुंगिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ‘आजको बैठक सकियो । भोलि बिहान साढे ८ बजेदेखि फेरि बस्ने छ । सबै विवादका विषयमा छलफल भएको छ,’ नेता नेम्वाङले भने, ‘विवादका विषयमा कार्यदलका सबै सदस्यले आफ्ना धारणा राख्नुभएको छ ।’

माधव नेपालपक्षीय नेता रावलले आइतबार राति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग भेट गरेपछि डेढ महिनादेखि निष्क्रिय कार्यदल व्युँतिएको थियो । त्यसलगत्तै सोमबार र मंगलबार कार्यदलको बैठक बसे पनि ठोस सहमति भएको छैन ।

पहिलो दिन कार्यदलका नेताहरुबीच अनौपचारिक तहमा भएका विषयवस्तुबारे छलफल भएको थियो भने दोस्रो दिन सहमति जुटाउन खोजिएका विषयमा कार्यदल सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।

सहमतिका लागि कार्यदल व्युँताउनुपर्ने नेपालको अडानपछि ओली तयार भएका थिए । एमालले पार्टी विवाद समाधानका लागि जेठ २ मा १० सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट कार्यदलमा रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त छन् ।

प्रकाशित : असार २२, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?