कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब चिम्पु र चम्पालाई हेर्न पाइने

जावलाखेल चिडियाखानामा एसीजडित खोरका लागि टेन्डर आह्वान
गोविन्द पोखरेल

काठमाडौँ — तस्करको नियन्त्रणबाट उद्धार गरिएका दुई चिपान्जीलाई अब आगन्तुकहरूले हेर्न पाउने भएका छन् । जावलाखेलस्थित सदर चिडियाखानाले हेर्न दिने व्यवस्था मिलाउन लागेको हो ।

अब चिम्पु र चम्पालाई हेर्न पाइने

चिम्पु र चम्पा नाम दिइएका भालेपोथी चिपान्जीलाई एसीजडित खोरमा राखिने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले केही साताअघि करिब एक करोड बराबरको अत्याधुनिक खोर (चिपान्जी इन्क्लोजर) निर्माणका लागि ठेक्का आह्वान गरिसकेको सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले बताए । ‘बढ्ने जन्तु हुन् । खेल्न–बस्न अलि फराकिलो ठाउँ चाहिन्छ,’ उनले भने, ‘खोर वातावरण अनुकूल र मजबुत चाहिने भएकाले एसी राख्‍नुपरेको हो ।’ खोर बनिसकेपछि सर्वसाधारणले हेर्न पाउने उनले बताए । संकटापन्न सूचीमा सूचीकृत चिपान्जीसँग मानिसको डीएनए ९८ प्रतिशत मिल्ने उनले बताए ।

चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले मानिसहरुसँग घुलमिल हुन थालिसकेकाले सर्वसाधरणहरुले देख्न पाउने गरी राख्ने तयारी भइरहेको बताइन् । ‘पहिला यिनीहरु साना थिए,मानिसहरुसँग पनि घुलमिल गर्न डराउथे,’उनले भनिन्,‘मानिसहरुसँग अब यिनीहरु युज्ड टू भएका छन् । त्यही भएर देख्न मिल्ने ठाउँमा राख्छौं । खोर निर्माण र अन्य प्रक्रिया पुरा बढीमा एक वर्ष लाग्छ ।’

चिम्पु र चम्पाको हेरचाहका लागि चिडियाखानाले कर्मचारी खटाएको छ । हाल यिनीहरूलाई चिडियाखानामा वन्यजन्तु अस्पतालभित्रको एउटा खोरमा राखिएको छ । करिब ४ वर्ष उमेर अनुमान गरिएका यी चिपान्जी २०७४ असोज ३१ मा चिडियाखानामा ल्याइएका थिए ।

केयर टेकर रामकाजी पहरीसँग चिम्पु र चम्पा । तस्बिर सौजन्यः सदर चिडियाखाना ।

चिडियाखानामा ल्याउँदा चम्पाको अनुमानित उमेर एक वर्ष र चिम्पुको ६ महिना थियो । दुवै हुर्किएका छन् । ‘यिनीहरूलाई यहाँ ल्याउँदा अवस्था पूरै जटिल थियो, अहिले स्वस्थ छन्,’ चिडियाखानाका जू–किपर गणेश कोइरालाले भने, ‘चिडियाखानाका भेटेरिनरी डाक्टर साबहरूको अनेक प्रयासबाट यिनीहरू हुर्किए ।’ ल्याउँदाको बेला ४ केजीकी चम्पाको तौल २० केजी भएको छ भने साढे ३ केजीको चिम्पु १७ केजीको भएको छ । ‘सुरुसुरुमा दूध नै खुवाइयो । विस्तारै फलफूल दिन थालियो,’ कोइरालाले भने, ‘विस्तारै केरा, स्याउ, गाजर, ब्रोकाउली र सागसब्जीहरू पनि खाना थाले ।’

चिम्पान्जी नेपालमा पाइने वन्यजन्तु होइन । मध्यअफ्रिकाको साभाना क्षेत्रमा पाइने यी चिपान्जीलाई नाइजेरियाको जंगलबाट तस्करी गरेर नेपाल हुँदै भारत लैजाने तयारी गर्दा प्रहरीले उद्धार गरेको थियो । त्यसबेला लठ्याउने औषधि दिएर सामान राख्ने डिब्बामा लुकाएर ल्याइएका चिपान्जी बिरामी अवस्था थिए । चिम्पु र चम्पालाई सरकारले साइटिस अभिसन्धिअन्तर्गत प्रमाण पुर्‍याएर आउने मुलुकलाई फिर्ता दिने भन्दै आएको थियो । तर पर्याप्त प्रमाण नपुगेका पठाउन नसक्दा नेपालमै राखिने भएको हो । प्रकृति संरक्षण कोषले यी चिपान्जीको डीएनए परीक्षणसमेत गराएको थियो । कोषका सदस्यसचिव शरद अधिकारीले कान्तिपुरसित भने, ‘हाम्रोमा यी जीवको डीएनए परीक्षण गरिएको थियो तर यिनको वास्तविक अभिभावक को हुन् भन्‍ने प्रमाण कसैले पनि पुर्‍याउन सकेनन् ।’

चिम्पु र चम्पालाई सदर चिडियाखानामा केयर टेकर रामकाजी पहारीले हेरचाह गर्दै आएका छन् । चिडियाखानामा यी दुईलाई ल्याएदेखि नै रामकाजीले हेरचाह गर्दै आएका हुन् । ३९ वर्षीय पहारीले चिम्पु र चम्पालाई जसरी आफ्नो सन्तानलाई समेत नहुर्काएको बताए । उनले भने, ‘मेरा दुई जना छोरीहरूलाई भन्दा बढी त मैले यी चिपान्जीलाई स्याहारेँ ।’ चिम्पु उमेरले सानो भए पनि चम्पाभन्दा रिसाहा छ । पहारीका अनुसार नयाँ मान्छे देख्नेबित्तिकै दुवैको हाउभाउमा परिवर्तन आउँदै खोरमा डाङ्डाङ् डुङ्डुङ् गर्छन् । ‘कोही नचिनेको मान्छे हेर्न आयो भने एउटा बच्चा रिसाउँदा जे जे गर्छ, त्यस्तै गर्छन्,’ उनले भने ।

दिउँसो यिनीहरूलाई चिडियाखानाको अस्पतालबाट बाहिर घाममा राखिन्छ । साँझ परेपछि खोरमा लगिन्छ । तापक्रम केही बढी चाहिने भएकाले खोरमा एसी राखिएको छ । बिहान १० र साँझ ५ बजेतिर यिनीहरू खाना खान्छन् । अचेल दैनिक ३ पटक दूध खान्छन् । मानिसको जसरी यिनीहरू दिनभरि सक्रिय हुन्छन् र अँध्यारो भएपछि सुत्छन् । खाने समय भएपछि उठ्छन्, कराउँछन् ।

नाइजेरियाबाट यसरी आइपुगे

नाइजेरियाको जंगलबाट चिम्पान्जीका दुई बच्चा तस्करले समाते । काठको बाकसमा राखेर लेगोस सहरसम्म पुर्‍याए । त्यहाँबाट टर्किस विमानमा इस्तानबुल हुँदै लामो दूरी पार गरेर काठमाडौं ल्याइयो । काठमाडौंबाट भारत लैजाने तयारी हुँदाहुँदै प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको हो ।

त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा आएको शंकास्पद डिब्बा भन्सार पास भइरहेको बारे प्रहरीलाई खबर पुगेको थियो । बाँसबारीमा सञ्जीव भारीको घर पुगेको उक्त डिब्बामा २०७४ असोज ३१ मा प्रहरीले चिपान्जी फेला पारेको थियो । डिब्बाको पहिलो तहमा चरा, दोस्रोमा बाँदर र अन्त्यमा यी चिम्पान्जी थिए ।

त्यसबेला प्रहरीले वन्यजन्तु तस्करी आरोपमा पक्राउ परेका भारतीय नागरिक मोहमद फइम, मोहमद उस्मान, चाँद मोहम्मद र पाकिस्तानी नागरिक जावेद असलम खानलाई काठमाडौं जिल्ला अदालतले २०७६ भदौ अन्तिम साता ५/५ वर्ष कैद सजाय फैसला गरेको थियो । तस्करलाई सामान राख्न सघाएको आरोपमा घरधनी भारीलाई भने २ वर्ष ६ महिना सजाय भएको थियो । भन्सार कर्मचारीसहित एक दर्जनभन्दा बढीमाथि चलेको मुद्दामा केहीले सफाइ पाएका थिए भने तीन जना धरौटी बुझाएर छुटेका थिए ।

सोर्स अफ ओरिजन पत्ता लागेन

नाइजेरियाबाट ल्याइएका भनिएका यी चिपान्जीको 'सोर्स अफ ओरिजिन' पत्ता लागेको छैन । केहि समयअघि एक निजी संस्थाले दाबी गरे पनि चिपान्जीका डीएनए परीक्षण गर्दा पनि पर्याप्त प्रमाण पुगेको थिएन । कसैले प्रमाण जुटाउन नसकेका कारण अब यी चिपान्जी अब नेपालमै बस्नेछन् ।

नेपाल संकटापन्न जंगली बासस्थान तथा जीवजन्तुका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस)को पक्ष राष्ट्र भएकाले पर्याप्त प्रमाण जुटाएर कुनै सरकारी निकायले माग दाबी गरे हालसम्म लागेको खर्च व्यहोरेर चिपान्जी फिर्ता लैजान सक्छ । साईटिसले प्रजातिहरुको ओसारपसारमा बन्देज लगाएको छ ।

तर हालसम्म कुनै पनि मुलुकले दाबी नगरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी हरिभद्र आचार्यले चिपान्जीको सोर्स अफ ओरिजन बारे कुनै पनि मुलुकले दाबी नगरेको बताए । ‘डीएनए प्रमाणसहित कुनै मुलुकले दाबी गरे फिर्ता हुन्छ,’ उनले कान्तिपुरसित भने,‘नभए नेपालमै रहन्छन् ।’

प्रकाशित : असार २२, २०७८ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?