कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण छ : भट्टराई

'अदालतले दोस्रो पटक संसद् पुनःस्थापना गरिदिन्छ'
आनन्द गौतम

ताप्लेजुङ — नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एकपक्षीय निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन । गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आइतबार पत्रकारहरूसँग कुरा गर्दै शनिबारको निर्णय दुर्भाग्यपूर्ण भएको दाबी गरे ।

ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण छ : भट्टराई

‘यो दुर्भाग्यपूर्ण निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको छ,’ भट्टराईले भने, ‘फेरि एकपटक एक पक्षीय यी निर्णयहरु खारेज गर्नुपर्छ र फेरि सहमतिमा फर्कनुपर्छ ।’ पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ । त्यो कार्यदलले २०७५ जेठ ३ अघिका कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडी बढाउने सुनिश्चित गर्नुपर्ने उनको तर्क छ ।

भट्टराईले प्रतिनिधिसभा दोस्रो पटकपनि पुनःस्थापना हुने दाबी गरे । उनले भने,'हामीलाई पहिलो पटक जनताले भोट दिएर सांसद बनाए, दोस्रो पटक अदालतले सांसद बनायो र अब तेस्रो पटकपनि अदालतले बनाउँदै छ ।' विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनःस्थापना हुने भट्टराईको दाबी छ ।

आफूहरुको पाँचवर्षे कार्यकाल बडो रोचक ढंगले गुज्रेको भट्टराई बताउँछन् । भट्टराईले भने,‘एउटै देशमा एउटै कार्यकालमा दुई/दुई पटक संसद् विघटन सायद यो वर्ल्ड रेकर्ड नै हुन्छ होला ।’ उनले पाँच वर्षको एउटा प्रतिनिधिसभा दुई-दुई पटक पुनःस्थापना भएर अर्कोपनि वर्ल्ड रेकर्ड हुने सम्भावना रहेको बताए ।

प्रतिनिधिसभा विघटनलाई आफूले अनौठो चाहीँ नठानेको भट्टराईको कथन छ । ‘अहिले नभएको भए १०/१५ वर्षपछि भएपनि कुनै न कुनै शासकले गर्थे,’ भट्टराईले थपे, ‘अहिले नै भयो अब अदालतले यसको व्याख्या गरिदिन्छ र संविधान र मुलुक आफ्नो ट्रयाकमा चल्छ ।’ सर्वोच्चको अबको फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहदैमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने उनले बताए ।

सकेसम्म पाँचवर्ष प्रतिनिधिसभा विघटन हुन नदिने मनसायले बनाएको संसद् भएकाले कुनैपनि लोकतान्त्रिक चरित्रको प्रधानमन्त्री वा नेताले विघटन नगराउन अन्तिम प्रयास गर्नुपर्ने भएपनि त्यस्तो नभएको नेता भट्टराईको गुनासो छ ।

प्रकाशित : असार २०, २०७८ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?