तलेजुको लगतसमेत ‘बेपत्ता’- समाचार - कान्तिपुर समाचार

तलेजुको लगतसमेत ‘बेपत्ता’

देवेन्द्र भट्टराई

काठमाडौँ — तलेजु भवानी मन्दिरको सम्पूर्ण सम्पदाको ‘लगत’ गुठी संस्थानमा रहेको भनिए पनि गुठीको केन्द्रीय लगत तथा अभिलेख शाखामा त्यस प्रकारका कुनै पनि लगत नरहेको खुलेको छ ।

मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्ने तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोस्थित एक कला संग्रहालयमा भेटिएकोबारे एक महिनाअघि समाचार सार्वजनिक भएपछि तलेजुका मूल पुजारीले मन्दिरको गरगहना, अभिलेख तथा कागजातसहितको सम्पूर्ण ‘लगत’ गुठी संस्थानमा रहेको जानकारी दिएका थिए । २०२७ सालमा तलेजुको गरगहना छानबिन तथा लगत निर्धारण भनेर तत्कालीन राजदरबारले गठन गरेको समितिले तलेजु हार तथा अन्य गरगहना यहाँबाट उठाएर लगेको थियो । ३ सय ८० वर्षअघि (संवत् १६९८) राजा प्रताप मल्ल काठमाडौं उपत्यकामा शासन गर्न आएपछि सुरु भएको तलेजु मन्दिरको इतिहासमा कर्माचार्यहरू यो मन्दिरमा मूल पुजारी रहिआएका छन् ।

‘२०२६ सालको वरपर हनुमानढोका परिसरकै देउ–तलेजुमा मूर्ति चोरी भएपछि, मूलचोक तलेजुको तोरण र तलेजु भवानीकै ‘किकिम्पा’ (टाउकोमा लगाइने गहना) का ‘क्लिप’ समेत चोरी भएको थियो । त्यसपछि बनेको एउटा उच्चस्तरीय छानबिन समितिले एक महिनाभन्दा बढी समय लगाएर काम गरेको थियो,’ तलेजु भवानीका मूल पुजारी उद्धव कर्माचार्यले कान्तिपुरसँग भने, ‘गरगहना छानबिन गर्ने भनेर आएको टोलीमा राजदरबारका सदस्यसहित गुठी संस्थान, अञ्चलाधीश कार्यालय, संस्कृति मन्त्रालयसमेतका अधिकारी थिए । तलेजुको लगत राख्ने भनेर यहाँ रहेका ३ सयभन्दा बढी गरगहना, प्राचीन भाँडाकुँडा र सम्पत्तिको अभिलेख (लिखत) पनि राखिएको थियो । ती सरसामान कता लगियो थाहा भएन, सामानको लगत भने गुठी संस्थानमा बुझाइएको थियो ।’

‘तलेजु भवानीको हार हराएको र यो अमेरिकामा भेटिएकोबारे समाचार आएपछि हामीले दुई सातायता २०२७ सालको लगत पहिल्याउने काम गर्‍यौं तर कतै फेला परेको छैन,’ केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय, भद्रकालीका प्रमुख राजेन्द्र दाहालले कान्तिपुरसँग भने । दरबारकै आदेशमा बनेको उच्चस्तरीय छानबिन टोली भएकाले सायद संकलित सामान तथा लगत विवरण पनि त्यसबेला उतै लगिएको हुन सक्ने अनुमान उनले गरे । ‘त्यसबेला निर्धारण भएको लगत तथा सामग्रीहरू गुठीमा बुझाइएकोबारे कुनै जानकारी पाउन सकिएन,’ उनले भने, ‘दरबार मातहतमै ती सम्पदा रहेको हुन सक्नेबारे कहिल्यै खोजबिन नभएको हुन सक्छ ।’

२०४६ सालको राजनीतिक परिवर्तन र २०६३ साल वैशाखमा नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि विगतमा राजदरबारमा रहेका भनिएका कागजात, सामग्री, विभूषण नेपाल सरकारलाई फिर्ता गरिएको थियो । केही अभिलेख–सामग्री र सम्पदा भने नारायणहिटीमा स्थापित दरबार संग्रहालयमै राख्ने प्रबन्ध भइरहेको संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए ।

‘दरबारमा रहेकामध्ये केही तमसुक, पुराना अभिलेख र पहाडे कागजमा लेखिएका लेखोटबारे अहिले पनि अभिलेखालयका विज्ञ कर्मचारीहरूले अध्ययन–छानबिन गरिरहेकै छन्,’ उनले भने, ‘त्यसमा तलेजु भवानीबारे लगत पाइएको अवस्था छैन । यसबारेमा सरोकार राख्दै कागजातको छानबिन गरिनेछ ।’

प्रकाशित : असार २०, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

चीनको सयवर्षे उत्सव : सिंगो विश्व तरंगित

पुँजीवाद र पश्चिमेली लोकतन्त्रको कुनै विकल्प छैन भन्नेहरुलाई चीनले गतिलो जवाफ दिएजस्तो लाग्छ  । – महेश मास्के
देवेन्द्र भट्टराई

काठमाडौँ — एकदलीय राजनीतिक प्रणाली अँगालेको चीनले सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीका अवसरमा ‘शक्ति, प्रगति र विचार’ मा देखाएको अग्रसरताले सिंगो विश्व तरंगित बनेको छ । बेइजिङस्थित तियाननमेन स्क्वायरमा बिहीबार आयोजित समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘आफू मात्रै असल भनेर अरूलाई उपदेश दिने’ लाई नसहने भन्दै नरम भाषामा अमेरिका, भारतसहितका बाहिरी शक्तिराष्ट्रलाई संकेतमा दह्रो प्रहार गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीका अवसरमा बिहीबार चीनको राजधानी बेइजिङस्थित तियाननमेन स्क्वायरमा आयोजित समारोह । तस्बिर : रोयटर्स

शतवार्षिकी समारोहलाई करिब एक घण्टा सम्बोधन गरेका राष्ट्रपति सीले आफ्नो देशलाई धम्क्याउने वा नकारात्मक प्रभावमा पार्ने प्रयास गरे तिनको टाउकामा प्रहार गर्ने चेतावनी दिए । चीनलाई कसैबाट हेपिन र दबिन नदिने उनको उद्घोष थियो । उनले खासगरी ताइवानको मुद्दालाई संकेत गर्दै राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा गर्न चिनियाँ जनता सक्षम रहेको समेत उल्लेख गरे । ‘समाजवादले मात्र चीनलाई बचाउन सक्छ र चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुन सक्छ,’ उनले भने ।

चीनका लागि पूर्वराजदूत महेश मास्केले केही शक्तिराष्ट्रले अलग अर्थ र आक्षेप लगाए पनि चिनियाँहरू आफ्नो देशको विशिष्ट अवस्थाले सिर्जना गरेको आर्थिक, लोकतान्त्रिक र राजनीतिक मार्गमा बढ्न उत्सुक छन् भन्ने कूटनीतिक सन्देश बिहीबारको उत्सवले विश्व समुदायलाई दिएको प्रतिक्रिया दिए । ‘पुँजीवाद र पश्चिमेली लोकतन्त्रको कुनै विकल्प छैन, त्यसैले इतिहासको अन्त्य भयो भन्ने अमेरिकी समाजशास्त्री फुकुयामाहरूलाई इतिहासको अन्त्य हुँदैन र यी दुवैको विकल्प छ भन्ने गतिलो जवाफ चीनले दिएजस्तो लाग्छ,’ उनले भने ।

कम्युनिस्ट विचारक एवं चीन मामिलाका जानकार मिलन तुलाधर चिनियाँ कम्युनिस्ट पार्टीले बितेको एक शताब्दीमा तय गर्न सकेको विचारधारा र हिँडेको मार्ग भनेकै ‘पद्धतिगत कुरा’ रहेको बताउँछन् । ‘हामीकहाँ भने सिको गर्ने काम मात्रै भयो । कम्युनिस्टका नाममा कुनै योजना र रणनीतिबेगरै कहिले जनयुद्ध गर्ने, कहिले माओवादको प्रवक्ता बन्नेसम्मको काम भयो,’ उनले भने, ‘तर पद्धति बनाउन र बसाल्नतिर हाम्रा कम्युनिस्ट नेताहरू कहिल्यै लागेनन् ।’ कम्युनिस्ट सिद्धान्तमा सबैभन्दा महत्त्वपूर्ण पक्ष पार्टी निर्माणका लागि ‘व्यक्तिगत स्वार्थ त्याग गर्नुपर्ने’ भनिए पनि नेपाली कम्युनिस्ट आन्दोलनका हकमा त्यही व्यक्तिगत स्वार्थले सधैं स्थान पाएको उनको मूल्यांकन छ ।

तस्बिर : रोयटर्स

विज्ञहरूका बुझाइमा चिनियाँ कम्युनिस्टहरूले जे बोलेका हुन्छन्, त्यो प्रमाणित गरेरै छाड्छन् । ‘तर हामीकहाँ कम्युनिस्ट विचारक र अभियन्ता भनिनेमध्ये मनमोहन अधिकारी मात्रै सपना र योजनाका कुरामा स्मरणमा हुनुहुन्छ । त्यसपछि झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल र अहिले केपी शर्मा ओली कम्युनिस्ट प्रधानमन्त्री भए पनि कम्युनिस्ट सम्बोधन गर्नै लाजमर्दो स्थिति छ,’ तत्कालीन प्रधानमन्त्री झलनाथ खनालका कूटनीतिक सल्लाहकार तुलाधरले भने ।

पूर्वराजदूत मास्केले चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षको दीर्घायु चीन र चिनियाँ जनताका लागि मात्रै नभएर विश्व कम्युनिस्ट आन्दोलनकै लागि पनि ऐतिहासिक महत्त्वको कीर्तिमान भएको बताए । उनले नेपाली कम्युनिस्ट पार्टी वा तिनका नेताले भने सही रूपमा कम्युनिस्ट सिद्धान्तको अर्थ र अन्तर्य समात्नै नसकेको उल्लेख गरे । ‘हामीले चीनको आकांक्षा र समस्या दुवैलाई बुझ्न जरुरी छ । कुनै बेलाको अर्धउपनिवेश चीन आफ्नो गरिमालाई पुनः प्राप्त गर्न चाहन्छ र विश्व समुदायमा आफ्नो न्यायोचित स्थान सुरक्षित गर्न चाहन्छ । चीनलाई हामी जति राम्ररी बुझ्न सक्छौं, त्यति नै पारस्परिक मित्रताका आधारमा ऊसँगको सम्बन्धलाई घनिष्ठ बनाउन सक्छौं,’ मास्केले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीका अवसरमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ । तस्बिर : सिन्ह्वा

ताइवान, हङकङ, तिब्बतसहितका भूभाग तथा शासकीय स्वरूपबारे अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले प्रश्न उठाइरहेका बेला ‘एक चीन नीति’ का पक्षमा नेपालले राखेको अडानलाई चीनले सधैं सराहना गर्दै आएको छ । सिद्धान्त र वादका कुराबाट अघि बढेर चिनियाँ प्रगति तथा विश्वकै शक्तिराष्ट्रका रूपमा अघि बढिरहेको छविलाई बुझ्न पनि चीनले आत्मसात् गरेका नीतिहरूलाई अवलम्बन गर्नुपर्ने केही विज्ञहरूको भनाइ छ । ‘कम्युनिस्ट पार्टीको शासनमा भ्रष्टाचारको कुरा कहाँबाट कसरी आउन सक्छ ? पदलोलुपता र नातावाद–कृपावाद कहाँबाट उब्जन सक्छ ? हामीले पनि कम्युनिस्ट शासन बेहोरेको भए पनि चिनियाँ कम्युनिस्टले अँगालेको शून्य–सहनशीलताको पद्धति अँगाल्नै सकेका छैनौं । सबैभन्दा मुख्य कुरा शून्य सहनशीलता हो,’ तुलाधरले भने, ‘कम्युनिस्ट सरकार भईकन हामी दुर्दशामा छौं, चिनियाँ कम्युनिस्टले भने शून्य सहनसिलताको आदर्शमा विश्वलाई पाठ पढाइरहेका छन् ।’

पूर्वराजदूत मास्केको बुझाइमा पश्चिमेली शक्तिराष्ट्रहरूले तीव्र आलोचना गरेको राजनीतिक, आर्थिक र लोकतान्त्रिक व्यवस्था भएको चीनले हेर्दाहेर्दै उचाइ हासिल गरेकाले पनि उसको उदयले महत्त्व राख्छ । ‘अमेरिकाको एकल वर्चस्वलाई चुनौती दिँदै चीनको उदय हुनु इतिहासको अनिवार्यता र आकस्मिकता दुवै हो । ठूला–ठूला साम्राज्य पतन वा कमजोर भएर जानु र अर्को राष्ट्र शीर्षस्थ स्थानमा पुग्नु इतिहासको नियमजस्तो भएको छ । घाम नअस्ताउने साम्राज्यको अधिपति बेलायत आज ओरोलो लागेको छ । चीन भने एक दशकभित्रैमा शीर्ष स्थानमा पुग्ने आकलन गरिएको छ,’ उनले भने, ‘अमेरिकाको स्थानमा चीन पुग्नु एउटा आकस्मिकता पनि हो, अन्य देश पनि पुग्न सक्थे होलान् । चीन आफ्नै सक्षमताका कारण त्यो स्थानमा पुग्दै छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको सय वर्ष मनाइरहेका बेला नेपालका कम्युनिस्ट पार्टीहरू भने स्थापनाको ७० वर्ष पूरा भएको तिथिमिति पल्टाएर ‘इतिहासमै रमाउने’ स्थिति मात्रै छ । कम्युनिस्ट सिद्धान्तको ‘एकदलीय’ पद्धतिलाई पन्छाएर बहुदलीय प्रतिस्पर्धामा जाने लोकतान्त्रिक पद्धति अँगाले पनि नेपालका कम्युनिस्टमा ‘व्यक्तिगत स्वार्थ’ को घेरा कहिल्यै नघटेको तुलाधर बताउँछन् । ‘चीनले जे–जसरी आर्थिक, रणनीतिक र राजनीतिक विकासक्रमको अभियानलाई अघि बढायो, यसमा सबै तहमा व्यक्तिगत स्वार्थको घेरा नभएर र सामूहिक स्वार्थमा अघि बढेरै यो स्थिति आएको हो,’ उनले भने । नेपालका कम्युनिस्टले बहुदलीय प्रतिस्पर्धामा जाने भने पनि बहुदलीय पद्धतिका नराम्रो पक्ष मात्रै आफूले लिने गरेको तर एकदलीय भनेर चिनियाँ कम्युनिस्ट पार्टीका अनुपम पक्षलाई स्विकार्न नचाहेको उनको बुझाइ छ ।

आफू तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको विदेश मामिला सल्लाहकार भएका बखत पहिलो सल्लाह ‘मनमोहन अधिकारीको आदर्श र व्यवहार सम्झनुस् है’ भनेको तुलाधरले सुनाए । ‘झलनाथजीले पनि खासै केही सिक्न र अनुशरण गर्न सकेको देखिएन,’ उनले भने । पछिल्लो उदाहरण कोरोना महामारीले सिंगो विश्व आक्रान्त र संकटमा परिरहेका बेला कोरोनाको उत्पत्ति थलो चीन भने यही संकटलाई अवसर बनाएर अघि बढिसकेको छ । ‘हामीले कम्युनिस्टका नारालाई आदर्श बनायौं, व्यवहारमा भने कहिल्यै सरोकारै राखेनौं,’ मास्केले भने, ‘यही कारण चिनियाँ कम्युनिस्टहरू त्यहाँ छन्, हामी कहींकतै पनि छैनौं ।’

तस्बिर : रोयटर्स

नेपालका कम्युनिस्टहरूमध्ये मनमोहन अधिकारी, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली गरी ६ जना प्रधानमन्त्री भइसकेका छन् । २०५१ सालपछि एमाले निरन्तर जस्तै सरकारको नेतृत्वमा छ । २०६४ सालको संविधानसभाको निर्वाचनपछि माओवादी पनि त्यसैगरी कुनै न कुनै रूपमा सत्तामा निरन्तर छ । तर कम्युनिस्टले भन्दै आएका जनजीविकाका कुरामा ठूलो परिवर्तन ल्याउन सकेका छैनन् । योबीच नेपालका कम्युनिस्टहरूलाई दुइटा ठूल्ठूला अवसर प्राप्त भएका थिए । पहिलो, ठूलो अवसर आएको थियो– २०६४ सालमा । राजतन्त्रसमेत फालिएपछि माओवादी तत्कालीन संविधानसभामा निकै ठूलो उपस्थितिसहित उदाएको थियो । तर उसले पनि केही गर्न सकेन । बरु सत्ताको खिचातानीको संसदीय फोहोरी खेलमा डुब्यो । यतिसम्म कि माओवादीकै नेतृत्वको सरकार हुँदा पहिलो संविधानसभाले संविधान नबनाई मृत्युवरण गर्नुपर्‍यो ।

२०७४ सालका स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि अर्को अवसर आयो । वाम गठबन्धनका नाममा निकै ठूलो मतसहित संघदेखि प्रदेश र स्थानीय तहसम्म कम्युनिस्टहरूको वर्चस्व कायम भयो । सातमध्ये ६ वटा प्रदेशमा तत्कालीन नेकपाको एकल सरकार बन्यो । केन्द्रमा करिब दुई तिहाइ नेतृत्वको ओलीको सरकार निर्माण भयो । स्थानीय तहमा पनि ठूलो संख्यामा जनप्रतिनिधि कम्युनिस्ट पार्टीहरूबाटै निर्वाचित भए । बिग्रेको शासन प्रणालीका अवयवलाई नयाँ ढंगले चलायमान गराउन कम्युनिस्टहरूलाई पर्याप्त अवसर प्राप्त भएको थियो । तर यी सबै अवसर उनीहरूले गुमाएका छन् । उनीहरू अहिले पनि उही ७० वर्षदेखि चलिआएको टुटफुटको शृंखलाबाट बाहिर आउन सकेका छैनन् । चिनियाँ कम्युनिस्ट पार्टी सय वर्षमा आर्थिक कायापलट गरेर विश्व महाशक्ति बनेको घटनाले संसारको ध्यान खिचिरहेका बेला ७० वर्षे इतिहास भएको नेपाल कम्युनिस्ट पार्टीको एउटा हाँगो एमालेमा केन्द्रीय कमिटी बैठक बसाउने विषयमै नेताहरूको जुँगाको लडाइँ चलिरहेको थियो ।

प्रकाशित : असार १८, २०७८ ०६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×