कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षायामसँगै डेंगु संक्रमण बढ्यो

बुनु थारु

काठमाडौँ — वर्षायाम सुरु भएसँगै डेंगुलगायत किटजन्य रोगहरुको जोखिम बढेको छ । सरुवा वा किटजन्य रोगहरु जस्तै डेंगु, मलेरिया, सर्पदंश, झाडापखाला लगायतका समस्याहरु देखिन थालेका छन् ।

वर्षायामसँगै डेंगु संक्रमण बढ्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको तथ्यांक अनुसार २०७७ साउन १ गतेदेखि २०७८ असार १६ सम्म ५७ वटा जिल्लामा ४७७ जना डेंगुका बिरामी फेला परेका छन् ।

म्याग्दीमा सबैभन्दा बढी ८६ जनामा डेंगु देखिएको छ भने सुर्खेतमा ४९ र सिन्धुलीमा ४८ जना बिरामी भेटिएका छन् । त्यसैगरी, अछाममा २८, बाँकेमा १९, कैलालीमा ३१ र काठमाडौंमा ५ जना बिरामी भेटिएका हुन् ।

२०७६ मा महामारीको रुपमा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो । २०७६–२०७७ को तथ्यांक हेर्दा प्रदेश १ मा ८५१, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा ६६४३, गण्डकी प्रदेशमा २६८६, प्रदेश ५ मा १९०२, कर्णाली प्रदेशमा ४३, सुदूरपश्चिम प्रदेशमा ९५ गरी १२ हजार ३८९ बिरामी फेला परेको तथ्यांकमा छ तर १९ हजारको हाराहारीमा संक्रमण भएको हुन सक्ने महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तम प्याकुरेलको भनाइ छ ।

प्याकुरेल भन्छन्,‘सन् २०१९ मा आउटब्रेक नै भयो । अहिले वर्षाको सिजन सुरु भइसक्यो । सबैजसो सहरमा फाट्टफुट्ट संक्रमण देखिन सुरु गरिसकेको छ । मान्छेहरुको मोबिलिटी फेरि बढ्यो भने अवश्य पनि यो रोग बढ्न सक्छ ।’ उनका अनुसार अरु किटजन्य रोगहरुको पनि जोखिम बढ्दै गएकाले यसको व्यवस्थापन तथा नियन्त्रणमा ध्यान दिन जरुरी छ ।

कोभिड र डेंगुको लक्षण कसरी छुट्याउने ?

कोभिड र डेंगुको लक्षण उस्तैउस्तै हुनाले पनि सतर्क हुन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु सामान्यतया मनसुन पछि बढी देखिने भएपनि मनसुनबाट नै यसका संक्रमणहरु फाट्टफुट्ट देखिँदै आएको बताए । डा. पुन भन्छन्, ‘सन् २०१९ को अवस्था एकदम फरक थियो । त्यो प्रि–मनसुनबाट नै सुरु भएको थियो जुन अस्वाभाविक हो ।’

उनका अनुसार सामान्यतया ३ देखि ५ वर्षमा डेंगुको ठूलो आउटब्रेक हुन्छ भन्ने अनुसन्धानले देखाउँछ । उनले डेंगु र कोरोनाको लक्षण मिल्दोजुल्दो हुने बताउँदै धेरै जिउ दुख्ने, ज्वरो आउने, रगतको उतारचढाव लगातयका लक्षण देखिने हुनाले धेरैले झुक्किन सक्ने बताए ।

उनले डेंगुका ४ वटा सेरोटाइप भएको र एउटा सेरोटाइप कुनै समयमा थियो भने अर्को पटक फेरि फरक सेरोटाइप देखिएमा कडा खालको डेंगु हुने र बढी रक्तश्राव हुन सक्ने बताए । पुन भन्छन्, ‘डेंगु घरीघरी देखिराख्नु भनेको सेरोटाइपहरु प्रतिस्थापन हुन्छन् । जसले गर्दा हरेक वर्ष डेंगु देखिन्छ नयाँ सेरोटाइप आए त्यति नै बिरामी भर्ना हुने सक्ने सम्भावना बढेर जान्छ ।’

डा. पुनले हाल हरेक प्रदेशमा पीसीआर जाँचको सुविधा हुनु राम्रो पक्ष भएकोले डेंगुको सेरोटाइप पत्ता लगाउन यसको प्रयोग गर्न सकिने बताए ।

डेंगु र कोभिडको मिल्दोजुल्दो लक्षण यस प्रकार छन्:

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

  • एक्कासि ज्वरो आउने,
  • आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने
  • थकान महसुस हुने
  • टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
  • वाकवाकी लाग्ने वा वान्ता हुने

सुरक्षित रहने तरिका

  • लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने
  • घर वरपर प्लास्टिक, सीसा, खपटा, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
  • खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
  • पानीको नाली, ढलपोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टिेल छर्कने
  • खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
  • पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
  • कुलरमा हप्ताको एक वा दुई पटक मट्टिेल हाल्ने
  • बेलाबेलामा साबुपानीले मिचिमिचि हात धुने र भौतिक दूरी कायम गर्ने
  • सुत्ने बेला झुलको प्रयोग गर्ने

‘डेंगु परीक्षणका लागि किटको समस्या छैन’

टेकु अस्पताल देशको एक मात्र संक्रामक रोग अस्पताल हो । २०७६ मा डेंगुको प्रकोप देखिँदा अस्पतालमा बिरामी थेग्नै मुस्किल परेको थियो । कोरोना महामारी देखिएसँगै अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाइएको छ जहाँ कोरोनाको बिरामी मात्रै उपचार गरिन्छ ।

अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले हाल डेंगुका केसहरु खासै नआएको बताए । उनले भने, ‘केसहरु त्यति देखिएका छैनन् तर सिजन सुरु हुँदा लामखुट्टे देखिन थालेका छन् । प्रकोप नआउला भन्न सकिन्न ।’ उनले हाल अस्पतालमा कोरोनाका बिरामी मात्र उपचार हुने हुँदा डेंगुका बिरामी राख्न सक्ने सम्भावना नभएको बताए ।

डा. बाँस्तोला भन्छन्, ‘डेंगुमा खासै अस्पताल भर्ना चाहिँदैन । दुवैमा उस्तै लक्षण देखिन सक्ने हुन्छ । फिभर क्लिनिकमा आए पनि सामान्य उपचार पाउने हुन्छन् तर भर्ना भने लिन सक्ने सम्भावना छैन ।’

ईडीसीडीका निर्देशक तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सरकारले संक्रामक अस्पतालहरु हरेक प्रदेशमा बनाइरहेको बताउँदै त्यो नहुँदासम्म फिजिसियन भएको कुनै पनि अस्पतालमा डेंगुको उपचार हुने जानकारी गराए ।

डेंगुको परीक्षण किटको विषयमा डा. पौडेलले किटहरुको उपलब्धतामा समस्या नभएको दाबी गरे । डा. पौडेल भन्छन्, ‘डेंगु र कोरोनाको लक्षण उस्तैउस्तै हुन्छन् । यस विषयमा सुसूचित हुने काम पनि गरिरहेका छौं ।’ उनले बढी केन्द्रित कोभिडमा गएपनि नियमित अरु काम पनि गरिरहेको बताउँदै महामारीमा दु्रत प्रतिकार्य टोली सबै पलिका, प्रदेश तथा अस्पतालमा सक्रिय नै रहेको जनाए ।

प्रकाशित : असार १८, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?