कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञहरू भन्छन्– 'निषेधाज्ञा खुकुलो बनाउनुको अर्थ जोखिममुक्त भएको होइन'

बुनु थारु

काठमाडौँ — काठमाडौं उपत्यकामा संक्रमण बढेपछि वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा लागू गरिएको थियोे । सोमबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले असार २१ गतेसम्म केही क्षेत्र खुकुलो पार्दै निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।

विज्ञहरू भन्छन्– 'निषेधाज्ञा खुकुलो बनाउनुको अर्थ जोखिममुक्त भएको होइन'

मंगलबारदेखि उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारीसाधनलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरिएको छ । साथै खाद्यान्न तथा कपडा पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।

संक्रमण दर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाइए पनि खुकुलो भएपछि फेरि संक्रमण बढ्ने त होइन भन्नेमा विज्ञहरु चिन्तित देखिन्छन् । उनीहरुका अनुसार निषेधाज्ञा खुकुलो बनाएपनि जोखिम कायम नै रहेको छ ।

सोमबारको तथ्यांक हेर्ने हो भने सक्रिय संक्रमितको संख्या ५.९७ प्रतिशत रहेको छ भने निको हुनेको प्रतिशत ९२.६० प्रतिशत रहेको छ र मृत्यु हुनेको १.४२ प्रतिशत रहेको छ । दैनिक संक्रमितको संख्या हर्ने हो भने लगभग ३ हजारको हाराहारीमा संक्रमितहरु थपिँदै गएको देखिन्छ । निको हुनेको संख्यामा भने वृद्धि भएको देखिन्छ तर दैनिक मृत्युको संख्या हेर्दामा खासै फरक देखिँदैन ।

संक्रमणको अवस्था :

निषेधाज्ञा खुकुलो भए पनि संक्रमणकोे जोखिम अझै उत्तिकै छ भएको र सावधानी अपनाएर मात्र घर बाहिर निस्कन विज्ञहरुको आग्रह छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जोखिम उत्तिकै रहेको बताउँछन् । उनी भन्छन्, ‘निषेधाज्ञाका कारण संक्रमण हुनबाट रोकेको रहेछ भने ती व्यक्तिहरुमा अहिले संक्रमणको सम्भावना देखिन सक्छ । किनकी मान्छेहरुका चहलपहल सुरु हुन्छ ।’

उनका अनुसार पहिलेजस्तो दसौं हजारको हाराहारीमा संक्रमण नभएतापनि संक्रमणको जोखिम यथावत छ । उनले व्यापार व्यवसाय, कार्यालय, सार्वजनिक यातायातलगायत क्षेत्रमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थित बनाइनुपर्ने बताए ।

त्यस्तै, जनस्वास्थ्यविद् डा. शरद वन्तले संक्रमणको दर घटिरहे पनि जोखिम उस्तै रहेको बताउँदै निषेधाज्ञा खुकुलो बनाउनुको अर्थ हामी जोखिममुक्त भयौं भन्ने मानसिकताबाट एकदम माथि उठ्नुपर्ने जोड दिए । डा. वन्तले भने, ‘सधैंभरि लकडाउन मात्र गरेर समस्याको हल निकाल्न सकिँदैन । पहिलो चरणको जस्तो फेरि गल्ती नदोहोरियोस् । मापदण्ड अझै गम्भीरताका साथ सतर्कता र जिम्मेवारी साथ अभ्यास गर्नुपर्छ ।’

उनले चलायमान बढेसँगै सम्पर्क बढ्ने र जोखिम पनि सँगै बढ्ने हुनाले अझै सतर्क हुन जरुरी रहेको बताए । डा. वन्तले सरकारले परीक्षण, आइसोलेसन लगायतका कुरामा नियमित हुनुपर्ने बताउँदै सबैलाई खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि कोरोनाबाट बच्न खोप प्रभावकारी रहेको बताउँदै एक डोज भएपनि प्राथमिकतामा परेका व्यक्तिहलाई खोप दिनुपर्ने बताए । डा. अधिकारीले भने, ‘वृद्धवृद्धा तथा दीर्घरोगीलाई प्राथमिकता दिनुपर्‍यो । एउटा डोजले भएपनि मृत्युको जोखिम घटाउँछ भन्ने प्रमाणित छ ।’

उनका अनुसार अक्सिजन चाहिने केस र केस डिटेक्सन रेटका बारेमा खोजी गर्नुपर्छ । उनले अहिले देखिएको डेल्टा भेरियन्ट धेरै चाँडो फैलिने र मृत्यु हुन सक्ने भएकाले थप कडाइका साथ नियम लागू गरिनुपर्ने बताए ।

कोरोनाको हटस्पट कहाँ छ त्यो पहिचान गर्दे सिल गर्नुपर्ने, धेरैभन्दा धेरै परीक्षणको व्यवस्था हेर्नुपर्ने, कन्ट्याक्ट ट्रेसिङ तथा आइसोलेसन गनुपर्ने लगायतका कुरामा जोड दिनुपर्ने डा. अधिकारीको भनाइ छ ।

प्रकाशित : असार १४, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?