१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

सामाजिक सुरक्षा कोषमा २ अर्ब २१ करोड १२ लाख संकलन, ८ प्रतिशत प्रतिफल वितरण

विभिन्न योजनाबाट ११ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी  

काठमाडौँ — सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्षभित्र सूचिकृत योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । कोषले आर्थिक बर्ष २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट  प्राप्त ब्याजबाट प्रतिफल दिइएको हो । गत वर्ष तीन करोड ८० लाख १५ हजार रुपैयाँ ब्याज वितरण योग्य भएको कोषले जनाएको छ । 

सामाजिक सुरक्षा कोषमा २ अर्ब २१ करोड १२ लाख संकलन, ८ प्रतिशत प्रतिफल वितरण

कोषमा १४ हजार ५ सय ८० रोजगारदाताले २ लाख ५१ हजार २ सय ९२ जना योगदानकर्ताको ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ । कोषमा २०७६ साउन १ बाट निरन्तर योगदान रकम संकलन भइरहेको छ ।

कोषद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विवेक पन्थीका अनुसार कोषले सञ्चालन गर्ने औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा असक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कूल ११ करोड ६२ लाख रकम कोषबाट दाबी भुक्तानी भएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भए पश्चात रोजगारदाता तथा श्रमिकमा थप उत्सुकता पैदा भएको प्रवक्ता पन्थीले दाबी गरे । कार्यविधिको दोस्रो संशोधनपछि मात्रै कोषमा १३ सय २८ रोजगारदाता र ६४ हजार ९५६ योगदानकर्ताबाट २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको उनले बताए ।

कोरोना संक्रमणको कारण देखाउँदै सरकारले जेठ र असार महिनाको योगदान रकम सरकारले दिने कोषले जनाएको छ । ‘वैशाख महिनाको योगदान रकम जेठ १५ भित्र जम्मा गरी सक्नु पर्ने थियो । प्रतिकूल परिस्थितिको कारण सम्भव भएन । यो महिनाको रकम जेठ मसान्तसम्म जम्मा गर्ने सम्पूर्ण योगदानकर्ताको जेठ र असार महिनाको योगदान रकम सरकारले जम्मा गरी दिने निर्णय भएको छ’, उनले भने,‘सो रकम अर्थ मन्त्रालयबाट निकासा माग गरी कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा खातामा जम्मा गरिदिनेछ ।’

प्रकाशित : असार १४, २०७८ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?