१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्दा दल त्याग ऐन आकर्षित हुँदैन : संविधानविद् आचार्य 

काठमाडौँ — संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा बहस गर्दै आइतबार आचार्यले संविधानको धारा ७६ को उपधारा ५ सांसदहरूका लागि विशेष व्यवस्था गरिएको तर्क गरेका हुन् । 

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्दा दल त्याग ऐन आकर्षित हुँदैन : संविधानविद् आचार्य 

'संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्दा राजनीतिक दल त्यागसम्बन्धी ऐन आकर्षित हुँदैन । दल त्यागसम्बन्धी ऐन आकर्षित हुनका लागि सांसदले राजीनामा दिएमा, अर्को पार्टी प्रवेश गरेमा वा अर्को पार्टी गठन गरेमा हुन्छ भन्ने व्यवस्था छ,' आचर्यले भने ।

संविधानको धारा ७६ को उपधारा ५ ले सरकार गठनका लागि दलको समर्थन नभई सांसदको समर्थनको व्यवस्था गरेको आचार्यले बताए । 'यहाँ दलीय व्यवस्था हो भन्ने तर्क आएको छ । यसमा भ्रम नहोस् कि संविधानको धारा ७६ (५)ले दलीय समर्थन हुन सक्छ तर सरकार बनाउन दलको समर्थन होइन, सांसदको समर्थनको कुरा गर्छ । ७६(५) मा ह्वीप उल्लंघन गरे पनि राजनीतिक दलसम्बन्धी ऐन लाग्दैन ।'

सरकार गठनमा सांसदलाई ह्वीप लाग्ने व्यवस्था संविधानको धारा ७६ (२) मा रहेको आचार्यको भनाइ थियो ।

संविधानविद् आचार्यले एउटै व्यक्ति संसद्को एक कार्यकालमा सरकार बन्ने सबै संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री बन्न नसक्ने बताए । उनले संविधानमा त्यस्तो नलेखिएको भन्दै प्रश्न गरे, 'प्रतिनिधिसभाको एउटा कार्यकालमा एउटा व्यक्ति संविधानका धारा ७६ का उपधारा १, २, ३ र ५ अनुसार प्रधानमन्त्री हुन मिल्छ ? यस्तो हुने भन्ने कहीँ लेख्या छ ?'

संविधानको धारा ७६ को उपधाराहरू १, २ र ३ बमोजिम प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दाबी गर्न नमिल्ने तर त्यसो गरिएको आचार्यको भनाइ थियो ।

संसद्को ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ३० दिनभित्र विश्वासको मत नलिनु गलत भएको आचार्यको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गर्न अहिलेको सरकारलाई अधिकार नभएको उनको भनाइ थियो । सरकार गठनको विकल्प रहेसम्म संसद् विघटन हुन नसक्ने भनेर सर्वोच्च अदालतले २०७७ फागुन ११ गते नै बोलेको उनले स्मरण गराए । सरकार गठनको अभ्यासगत रूपमा संसद्मा हुनुपर्ने यसअघि सर्वोच्चले दिएको आदेशमा छ ।

राष्ट्रपतिका कामको न्यायिक पुनरावलोकन हुन सक्दैन भन्ने राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको जवाफ गलत भएको पनि आचार्यले बताए ।

प्रकाशित : असार १३, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?