१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पाँच महिनामा २.५५ प्रतिशतलाई मात्रै खोप

अहिलेकै गतिमा लक्षित वर्गलाई खोप लगाउन १२ वर्ष लाग्ने
अतुल मिश्र

काठमाडौँ — यही गतिमा खोप कार्यक्रम सञ्चालन गरे सरकारले निर्धारण गरेको ७२ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाउन १२ वर्षभन्दा बढी समय लाग्न सक्ने देखिएको छ । खोप ल्याउन ढिलाइ भइरहेका बेला यो आकलन आएको हो ।

पाँच महिनामा २.५५ प्रतिशतलाई मात्रै खोप

नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ । यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा ७ लाख ४९ हजार ५ सय ८५ जनाले लगाएका छन् । १ सय ५५ दिनमा २.५५ प्रतिशतले खोप लगाए भने ७२ प्रतिशतले पूर्ण खोप लगाउन १२ वर्ष लाग्ने हिसाब निस्कन्छ ।

यही गतिमा खोप अभियान जारी रहे १८ वर्षमाथिका जनसंख्यालाई कोभिडविरुद्घको खोप लगाउने सरकारको लक्ष्य प्राप्त गर्न १२ वर्षभन्दा बढी समय लाग्न सक्ने गणितीय आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले बताए । ‘यो अत्यन्त सुस्त गति हो,’ उनले भने, ‘यो गतिले हामी भविष्यमा देखिन सक्ने कोभिडको तेस्रो, चौथो लहरहरू थेग्न सक्दैनौं । बहुसंख्यक जनतालाई पूर्ण मात्रा खोप सुनिश्चित गरेर, जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र कोभिडको आक्रमणलाई थेग्न सकिन्छ ।’

डेल्टा प्लस भेरिएन्टलगायत भविष्यमा मुलुकमा देखिन सक्ने यस्ता थुप्रै भेरिएन्टबाट जोगाउने एउटा मात्र विज्ञान प्रमाणित मुख्य हतियार खोप रहेको डा. ठाकुरको भनाइ छ । नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीले सरकारलाई १८ वर्षमाथिका ७२ प्रतिशत जनतालाई कोभिडविरुद्घको खोप लगाउनुपर्ने सुझाव दिएको थियो । उक्त सुझावअनुसारै सरकारले पछिल्लो समय बालबालिकाका लागि खोप उपलब्ध नरहेको अवस्थामा १८ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने राष्ट्रिय लक्ष्य निर्धारण गरेको थियो ।

खोप लगाउन सुरु गरिएको पाँच महिना पाँच दिनमा २.५५ प्रतिशत जनसंख्याले मात्रै कोभिडविरुद्घको पूर्ण मात्रा खोप पाउन सक्नु अत्यन्त दुःखद स्थिति रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले औंल्याए । ‘खोपको माध्यमले तेस्रो लहरलाई रोक्न सकिन्थ्यो तर अहिलेको स्थितिमा तेस्रो लहर सहजै आउने निश्चितप्रायः देखिएको छ,’ उनले भने । डा. बीसीका अनुसार अध्ययन, तथ्यांक आदिको विश्लेषण गर्दा दसैंतिर नेपालमा तेस्रो लहर आउने उच्च सम्भावना देखिएको छ ।

‘पूर्ण मात्रा खोप लगाउन सके कोभिडको सम्भावित लहरबाट जोगाउँछ,’ प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक एवं भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने, ‘न्यूनतम ७० प्रतिशत जनसंख्यालाई खोप लगाउँदा संक्रमणको चक्रलाई तोड्न र सम्भावित तेस्रो लहरको जटिलताबाट जोगिन सकिन्छ ।’

गत वर्ष माघ १४ गते ९ हजार ८४ जनालाई कोभिसिल्ड खोप लगाएर देशव्यापी अभियान सुरु भएको थियो । पूर्ण मात्राबाहेक हालसम्म एक मात्रा खोप लिएका कुल जनसंख्याको करिब ८.७८ प्रतिशत अर्थात् २५ लाख ८२ हजार ३ सय ७५ जना छन् । पहिलो मात्रा कोभिसिल्ड खोप लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ जना ज्येष्ठ नागरिकले ४ महिना हुन लाग्दासमेत दोस्रो मात्रा खोप पाएका छैन ।

‘ज्येष्ठ नागरिकहरूका लागि दोस्रो मात्रा खोपको अत्तोपत्तो छैन, यसले गर्दा तेस्रो लहरमा उहाँहरूको ज्यान जोगाउनु सबैका लागि ठूलो चुनौती भएको छ,’ डा. बीसीको भनाइ छ, ‘जसरी, जुनसुकै प्रक्रियाबाट ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व हो । अब उहाँहरूलाई अन्य खोपसमेत दिन सकिँदैन ।’

जुनसुकै भेरिएन्ट, म्युटेसनको कोभिडको भाइरस आए पनि खोपले केही स्तरमा बचाउने काम गर्ने विज्ञको भनाइ छ । खोपको पूर्ण मात्रा लगाएकाहरूलाई खोपले सहजै मर्न नदिने, आईसीयूलगायतका स्वास्थ्य जटिलता, अस्पताल बसाइँमा समेत कमी ल्याउने औंल्याउँदै डा. बीसीले भने, ‘खोपको विकल्प छैन, कोभिडसँग लड्ने प्रमुख हतियारका रूपमा खोप स्थापित भइसकेको छ । सरकारले छिटो, जसरी भए पनि, जुनसुकै प्रक्रिया अपनाएर सबै नेपालीलाई खोप सुनिश्चित गर्नुपर्छ ।’

एक मात्रा खोपको माध्यमले कोभिडविरुद्ध केही प्रतिरोधक क्षमता हासिल गरेका ज्येष्ठ नागरिकले तेस्रो लहर आउँदासम्म पूर्ण मात्रा खोप लगाउन पाउने/नपाउने टुंगो छैन । खोप अभावले गर्दा कोभिडविरुद्घको प्रतिरोधक क्षमतामा कमी आउने/नआउनेबारे भन्न नसकिने डा. बीसीको भनाइ छ । उनका अनुसार ज्येष्ठ नागरिकले खोप लगाएको केही महिनापछि नै मुलुकमा दोस्रो लहर आउँदा सहज रूपमा निर्मित प्रतिरोधक क्षमताले यस पटक ती उमेर समूहमा मृत्युदर, संक्रमणको जटिलतामा केही कमी देखिएको थियो ।

विश्वका विभिन्न भागमा बालबालिकाका लागि समेत खोप आइसकेको र केही आउने प्रक्रियामा रहेकाले नेपालले समेत १८ वर्षमुनिका लागि खोप सुनिश्चित गर्ने कार्ययोजना बनाउनुपर्ने विज्ञको सुझाव छ । ‘मुलुकमा खोप ल्याउने कुरामा धेरै प्रगति भएको छैन,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘छिट्टै आउन सक्छ भने त्यो चीनको खोप हो तर त्यसमा समेत खरिद मूल्यबारे जानकारी सार्वजनिक नगर्ने सर्तले आउने सम्भावना कम देखिएको छ ।’

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै कोभिडबाट नागरिकको जीवनरक्षा गर्नु मुख्य उद्देश्य रहेको बताएका थिए । सरकारले बजेटमा खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित : असार १३, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?