कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंका नदीमा पानीको सतह बढ्यो

काठमाडौँ — मनसुनी वायुको प्रभावले शनिबार संघीय राजधानी काठमाडौं लगायत मुलुकका अधिकांस स्थानहरुमा वर्षा भएको छ । 

शुक्रबार साँझ देखि नै काठमाडौं लगायत मुलुकका कतिपय स्थानमा भारी वर्षा भएको छ भने केही स्थानमा हल्का वर्षा भएको थियो । वर्षासंगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।

त्यसैगरी, काठमाडौंको वाग्मती, विष्णुमति नदीको पानीको सतह बढेको छ । धोवी खोला, बल्खु खोलाको पानीको सतह निकै बढेको छ । काठमाडौंका विभिन्न नदी र खोलाहरुको पानी बाहिरिने नाका चोभार गल्छीमा पनि पानीको बहाव निकै बढेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका नदी तथा खोलामा पानीको सतह बढेसँगै किनारका सुकुम्बासी बस्ती जोखिममा परेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांस भूभागमा वर्षा हुने र केही स्थानमा भने भारी वर्षा हुनसक्ने भन्दै सचेत हुन आह्वान पनि गरेको छ । विभागले शनिबार प्रदेश १ र २ का जिल्ला भएर बग्ने ससाना नदी तथा जलाधारमा पानीको बहाबमा बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आह्वान समेत गरेको छ ।

यसैबीच मध्यान्हपछि भने काठमाडौंमा वर्षा हुने क्रम रोकिएको छ ।

प्रकाशित : असार १२, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?