खोपबारे हरेक मन्त्रीका कुरा चर्का- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोपबारे हरेक मन्त्रीका कुरा चर्का

स्वास्थ्यमन्त्री श्रेष्ठले भने– ‘खोप ल्याएर चमत्कार देखाउनेछौं’
मकर श्रेष्ठ

काठमाडौँ — ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं,’ यो भनाइ बिहीबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठको हो । सरकारले खोपको व्यवस्था नगरेसम्म मध्यावधि निर्वाचनमा भोट हाल्न नजाने सर्वसाधारणको अभिव्यक्ति सुनिन थालेपछि मन्त्री श्रेष्ठले शुक्रबार स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दा खोपको व्यवस्था गर्ने भाषण गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठ पदभार ग्रहणपछि कर्मचारीसँग परिचयात्मक कार्यत्रमलाई सम्बोधन गर्दै । तस्बिर : रासस

‘खोपका बारेमा अब धेरै हल्ला होइन, काम गरेर देखाउँछौं,’ उनले भने, ‘हामी कुराभन्दा काममा विश्वास गर्छौं, त्यसैले हल्ला नगरीकन छिट्टै खोप ल्याएर चमत्कार देखाउने छौं ।’ खोप लगाउने प्राथमिकता बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई दिने उनले बताए । खोप ल्याउन विभिन्न मुलुकसँग छलफल भइरहेको उनले बताए ।

तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ १० को पत्रकार सम्मेलनमा अमेरिका, बेलायत, रुस, भारत र चीन सरकारसँग खोप खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको बताएका थिए । त्रिपाठीले मात्रै नभई प्रधानमन्त्री केपी ओलीले समेत विभिन्न मुलुकका राजदूतलाई भेटेर खोपका लागि आग्रह गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि खोप उत्पादन गर्ने मुलुकका राष्ट्र प्रमुखलाई समेत पत्राचार गरिन् तर कसैले पत्याएका छैनन् । चीनबाट ४० लाख खोप खरिद गरेर ल्याउन लागेको हल्ला चलेको छ तर सरकारले त्यसलाई सार्वजनिक गरेको छैन ।

कोरोना संक्रमण सुरु भएयता तीन जना स्वास्थ्यमन्त्री भए । उनीहरू सबैले आफ्नो प्राथमिकता खोप ल्याउने भन्न छाडेका छैनन् । त्रिपाठीले मन्त्री भएको केही दिनमै खोप ल्याउने चमत्कार हुने बताएका थिए । बुधबार मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ पनि उनकै शैलीमा खोप ल्याएर चामत्कारिकता देखाउने बताएका छन् । सबैजसो स्वास्थ्यमन्त्रीहरूले ७२ प्रतिशत जनतालाई खोप लगाउने बताएका थिए तर अहिलेसम्म १० लाखभन्दा बढी खोप खरिद गर्नै सकेको छैन । ‘स्वास्थ्यमा जो मन्त्री भएर आए पनि खोप ल्याउने प्रतिबद्धता जनाउँछन तर पूरा हुन सकेको छैन,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘अहिलेका मन्त्रीको पनि खोप लगाइछाड्ने अठोट छ । काम गरेपछि थाहा होला ।’

१९ दिन स्वास्थ्यमन्त्री भएका शेरबहादुर तामाङले पनि नियुक्ति भएको भोलिपल्ट जेठ २४ मा श्रेष्ठले जस्तै सबै नेपालीलाई खोप दिने सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए । ‘जसरी भए पनि छिटो खोप ल्याएर सबै नेपालीका लागि खोप सुनिश्चित गर्ने लक्ष्य रहेको छ । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लान नदिन खोपको सहज उपलब्धताका लागि मेरो प्रहिलो प्राथमिकता हुनेछ,’ उनले भनेका थिए, ‘केही महिनाभित्र सबै नेपालीले खोप दिन सबै उपाय लगाइनेछ ।’

सर्वोच्चको आदेशपछि उनी स्वास्थ्य मन्त्रीबाट बाहिरिए तर खोप आउने आश्वासन भने बाँड्न भुलेनन् । तामाङले फेसबुकमा स्टाटस लेखेका छन,‘खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको छ । यदि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन ।’

उनीभन्दा अघिका त्रिपाठीले पनि खोप खरिद, पारदर्शिता र स्थानीय तहमा आभारभूत अस्पताल बनाउने विषयलाई प्राथमिकतामा राखेको दाबी गर्थे । उनको पालामा २२ लाख ४८ हजार खोप अनुदानमा आयो । २० लाख खरिदका लागि अग्रिम पैसा दिए पनि १० लाख मात्रै आयो बाँकी १० लाख अझै आएको छैन । थप ५० लाख डोज खरिदको प्रस्ताव गरे पनि कमिसनमा कुरा नमिलेर खरिद नगरेको अभिव्यक्तिले उनी आलोचित बने ।

मन्त्रीबाट बाहिरिँदा उनले पनि भारतबाट १७ लाख खोप दुई साताभित्रै आउने दाबी गरेका थिए । तर, अझै आएको छैन । सरकारले काम देखाउन दोस्रो मात्राको समेत सुनिश्चित नगरी अनुदान र किनेको खोप लगाए । त्यही खोप लगाएका झन्डै साढे १४ लाखले अझै दोस्रो डोज पाउन सकेका छैनन् ।

प्रकाशित : असार १२, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

जोखिम नटर्दै आन्दोलन

‘पहिलो र दोस्रो लहरमा अस्पतालमा बेड र अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाएको थाहा हुँदाहुँदै सडक आन्दोलन गर्नु गलत’ 
मकर श्रेष्ठ

काठमाडौँ — पछिल्लो २४ घण्टामा १२ हजार २ सय ३२ पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकामध्ये कोरोना पोजिटिभ हुने दर २० प्रतिशतभन्दा माथि छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको रामशाहपथमा बिहीबार विरोध प्रदर्शन गर्दै विद्यार्थी संगठन । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

असारयता बुधबार मात्रै संक्रमण दर १९.५० प्रतिशत थियो । अरू दिन २० प्रतिशतभन्दा बढी छ । कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि दैनिक सरदर ४० जना छ । बिहीबार भने २४ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं उपत्यकामा अझै पनि भेन्टिलेटर पाउन मुस्किल छ । पाटन अस्पतालका १० वटा भेन्टिलेटर सबैमा कोरोनाका गम्भीर बिरामी छन् । तर यस्तो अवस्थाको बेवास्ता गर्दै प्रमुख राजनीतिक दलहरू अहिले सरकारको विरोधका नाममा सडक आन्दोलनमा उत्रिएका छन् । नागरिकहरूको स्वास्थ्यसँग गम्भीर खेलाँची गर्दै बिहीबारबाट विपक्षी गठबन्धनमा आबद्ध विद्यार्थी भ्रातृ संगठन सडक प्रदर्शनमा उत्रिए ।

काठमाडौंमा ४ हजार ४ सय ८३ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणको जोखिम टरिनसकेको अवस्थामा यही बिहीबार दुई वटा प्रदर्शन भए । प्रदर्शनी मार्गमा संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनमा आबद्ध विद्यार्थी संगठनले प्रदर्शन गरे । नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, एमाले खनाल–नेपाल पक्षीय अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंका विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै, माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी, विद्यार्थीलगायतले पनि प्रदर्शन गरे । सो क्रममा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र दलित अधिकारकर्मीहरूले शिक्षा, विज्ञान तथा प्रविधि र हालै स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत पाएका कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरे ।

सरकारविरुद्ध प्लेकार्ड लिएर उपस्थित भएकाहरूले न सामाजिक दूरी कायम गरेका थिए न त सबैले मास्क लगाएका थिए । आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सीसमेत भयो । ‘सरकारको कदमको विरोधमा तीन–चार सय सहभागी भएका थियौं,’ अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले दाबी गरे, ‘जति सहभागी थियौं, सबैले सामाजिक दूरी कायम गरेर शान्तिपूर्ण तरिकाबाट विरोध प्रदर्शन गर्‍यौं ।’ संसद् पुनःस्थापना नभएसम्म प्रदर्शन जारी राख्ने कार्यक्रम तय भएको उनले बताए । विज्ञहरू भने महामारीका बेला जुलुस निकाल्नुलाई अपराध गरेसरह ठान्छन् । पहिलो र दोस्रो लहरमा अस्पतालमा बेड र अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाएको थाहा हुँदाहुँदै आन्दोलन गर्नु गलत भएको जनस्वास्थ्य विज्ञले बताए ।

‘उहाँहरूलाई कोरोनाको जोखिमभन्दा पनि के गर्दा राजनीतिमा चर्चा कमाइन्छ भन्ने हुँदो रहेछ,’ भाइरोलोजिस्ट एवं ईडीसीडीका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेले भने, ‘निषेधाज्ञा त जुलुस गर्न खोलेजस्तो पो भयो ।’ कोरोनाका नयाँ–नयाँ जोखिमपूर्ण भेरिएन्ट देखिए पनि राजनीतिक दलका नेता र भ्रातृ संगठनहरूले आफ्नो राजनीतिक स्वास्थ्यपूर्तिका लागि आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ । ‘भाइरसको नयाँ रूप डेल्टा प्लस देखिएको छ । संक्रमण सार्ने र फोक्सोको सेलभित्र जाने क्षमता यसमा बढी छ । जसले एन्टिबडीको क्षमता घटाउँछ,’ पाण्डेले भने, ‘यस्तो जोखिम कायम हुँदाहुँदै आन्दोलन गर्नु भनेको आगोको भुङ्ग्रोमा हाम फालेजस्तै हो ।’

यस्ता आन्दोलन, प्रदर्शनले संक्रमण दोस्रो लहरकै जस्तो दोब्बर, चौबर रूपमा फैलिन सक्ने उनले चेतावनी दिए । दोस्रो लहरमा हरेक चार दिनमा दोब्बरसम्म संक्रमण देखिएको थियो । बिहे भोजजस्ता जमघटबाट संक्रमण बढी मात्रामा फैलिएको थियो । ‘तेस्रो लहरमा पनि नयाँ भेरिएन्ट देखिएका बेला आन्दोलन सुरु भएको छ । यस्तो हुने हो भने संक्रमण बढ्ने सम्भावना हुन्छ,’ डा. पाण्डेले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जोखिम उच्च रहेकै बेला हुने आन्दोलनले संक्रमण फैलाउन सहयोग पुग्ने बताए । निषेधाज्ञा कोरोनाको जोखिम कम भएर खुकुलो पारेको नभई सर्वसाधारण आत्तिएकाले सहज बनाएको उनको भनाइ छ । ‘संक्रमण कम भएको देखिए पनि अस्पतालमा गम्भीर खालका बिरामी भर्ना भइरहेका छन्,’ उनले भने, ‘सार्वजनिक स्थलमा सभा, जुलुस गर्‍यो भने संक्रमित संख्या बढ्न सक्छ । यस्ता गतिविधिले अस्पतालमा बेड व्यवस्थापनमा समेत चुनौती हुन्छ ।’ खोप सबैले पाइनसकेकाले पनि जोखिम निकै रहेको उनले बताए । ‘यसको असर एकै दिनमा देखिँदैन,’ उनले भने, ‘यसरी नै आन्दोलन हुने हो भने २ बाट ४, ४ बाट ८ हुन सक्छ । सबैले सावधानी अपनाउनु जरुरी छ ।’

संक्रमण दर १० प्रतिशतभन्दा तल नआएसम्म जोखिम कम नमानिने उनले बताए । ‘अहिले पीसीआर र एन्टिजेन्ट गरेकामध्ये २० प्रतिशभन्दा बढीलाई कोरोना देखिएको पनि निषेधाज्ञाका बेला हो,’ डा. अधिकारीले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि यसको असर कति पर्ने हो, आकलन गर्नै सकिँदैन ।’

प्रकाशित : असार ११, २०७८ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×