प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ : के–के हुन सक्छन् बहसका विषय ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाइ : के–के हुन सक्छन् बहसका विषय ?

कृष्ण ज्ञवाली

काठमाडौँ — प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबारदेखि सुनुवाइ सुरु हुँदै छ  । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत १४६ सांसदले दायर गरेको निवेदनमाथि सुनुवाइ हुन लागेको हो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन हुनेछ । 

बिहीबारसम्म दुवै पक्षका कानुन व्यवसायीले बहसनोट पेस गरिसक्नुपर्नेछ । सर्वोच्च अदालतले गत जेठ २६ गते नै समयसीमा तोकेर त्यसैको हदभित्र दुवै पक्षका कानुन व्यवसायीलाई बहस गर्न आदेश दिएको छ । विघटन गलत हो भनी मुद्दा हालेका देउवासहित १४६ सांसदका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले १२ घण्टा समय पाउनेछन् । दैनिक चार घण्टा सुनुवाइ हुँदा तीन दिनमा उनीहरूको बहस सकिनेछ ।

त्यसको प्रतिवाद गर्ने सरकारी वकिलहरूले पनि १५ घण्टा नै पाउनेछन् । बढीमा चार दिनमा उनीहरूको बहस सकिए पनि फेरि निवेदकका कानुन व्यवसायीले ३ घण्टा अतिरिक्त समय पाउनेछन् । दुवै पक्षलाई बराबर १५/१५ घण्टाका दरले समेत तोकिएको छ । दुवै पक्षले करिब सात दिन खपत गर्ने अनुमान छ । त्यसपछि अदालतका सहयोगीहरूले आधा घण्टाका दरले दुई घण्टा पाउनेछन् ।

अर्को साताको अन्त्यसम्ममा सुनुवाइ सकिने गरी सर्वोच्च अदालतले समय व्यवस्थापनको आदेश दिएको हो । सर्वोच्च अदालतले इजलासमा उपस्थित हुने कानुन व्यवसायीहरूको सीमा तोक्दै अदालत प्रांगणमा माइकबाट सुन्ने व्यवस्था मिलाउन आदेश गरेको छ ।

यस्ता छन् संवैधानिक र कानुनी प्रश्नहरू ?

विश्वासको मत नलिई अर्को सरकार गठन प्रक्रियाको सिफारिस कति उचित ?

संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नलिई संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपतिले त्यसैअनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सिफारिस र निर्णयको संवैधानिक वैधतामाथि प्रश्न छ ।

राष्ट्रपतिको आह्वानअनुसार शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा दाबी गरेर उनको कदमलाई ‘व्यवहारद्वारा’ समर्थन गरेकाले निवेदनमा प्रत्यक्षरूपमा प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको निर्णयमाथि प्रश्न उठाइएको छैन । प्रश्न उठाइएका निवेदनहरू यसपटकको सुनुवाइमा परेका छैनन् । तर अप्रत्यक्ष रूपमा प्रश्न उठाइएकाले त्यो विषयमा पनि बहस हुने देखिन्छ ।

प्रधानमन्त्रीमाथि संविधानको धारा ७६ को उपधारा ४ को प्रक्रिया पूरा नगरी उपधारा ५ मा जाने कदम चालेको आरोप छ । सभामुखको लिखित जवाफमा पनि यही प्रश्न छ । विश्वासको मत लिने थलो प्रतिनिधिसभा भएकाले त्यहाँ प्रवेश नगरी उपधारा ५ को प्रक्रियामा प्रवेश गरेको र त्यो संविधानसम्मत नरहेको भनी प्रश्न उठाइएको छ ।

राष्ट्रपतिको निर्णयमा अदालत प्रवेश गर्ने/नगर्ने ?

संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गरेपछि प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाको दाबी परेको थियो । त्यसमाथि राष्ट्रपतिले टिप्पणीसहित दुवै पक्षको दाबी नपुग्ने भनी निर्णय गरेकी थिइन् ।

उनको कार्यालयको लिखित जवाफमा राष्ट्रपतिको स्वविवेकका आधारमा भएको निर्णयमा अदालतमा प्रश्न उठाउन नमिल्ने दाबी छ । तर निवेदकहरूले उनको निर्णयमाथि प्रश्न उठ्ने र त्यसको संवैधानिक वैधतामाथि परीक्षण हुनुपर्ने माग गरिरहेका छन् । यो विषय पनि बहसको अर्को महत्त्वपूर्ण सवाल हुने देखिन्छ ।

राष्ट्रपतिले लिएका आधार कति उचित ?

राष्ट्रपतिले दुवै पक्षको दाबी अस्वीकृत गरी प्रतिनिधिसभा विघटनका लागि अनुकूल सिफारिस गर्न प्रधानमन्त्रीलाई बाटो खोलिदिएकी थिइन् । बहुमत सांसदको समर्थन पुगिसकेको अवस्थामा दलभित्रको ह्विप, आन्तरिक कारबाही र दोहोरोपनजस्ता आधार देखाएर उनले दुवै पक्षले बहुमत पुर्‍याउने आधार देखाउन नसकेको निष्कर्ष निकालेकी थिइन् । राष्ट्रपतिको निर्णयमाथि सर्वोच्च अदालतले न्यायिक पुनरावलोकन गर्दा उनको यो निर्णय कत्तिको जायज र संविधानसम्मत हो भन्ने अर्को महत्त्वपूर्ण सवाल हुनेछ ।

उपधारा ५ को अभ्यास दलीय हो कि स्वतन्त्र ?

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री दाबी गर्ने सांसदले जो कोही अरू सांसदको समर्थन प्राप्त गर्न सक्ने र त्यसका आधारमा दाबी पुर्‍याउनुपर्ने विपक्षी गठबन्धनको धारणा छ । सरकारपक्षले भने कुनै सांसदको समर्थन आवश्यक पर्दा दलीय निर्णय मान्य हुनुपर्ने जिकिर गरेको छ । उसले लिखित जवाफमा पनि दलीय समर्थन आवश्यक नपर्दा जो–कोही सांसदले जता पनि समर्थन गर्ने अवस्था भए निर्दलीय पञ्चायती व्यवस्थाको पुनरावृत्ति हुने र सहजै सांसद खरिदविक्रीको विसंगति बढ्ने दाबी गरिरहेको छ । उपधारा ५ को प्रधानमन्त्री पदमा हुने दाबीलाई दलीय आधारमा समर्थन हुने हो या जो–कोही सांसदले जसलाई पनि समर्थन गर्न पाउने भन्ने प्रश्नको निरूपण पनि अर्को महत्त्वपूर्ण विषय बन्ने देखिन्छ ।

वैकल्पिक सरकारको सम्भावना थियो कि थिएन ?

राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनको सम्भावना नरहेको र त्यसको आधार दुवै पक्षले पेस गर्न नसकेको भनी सरकारलाई जानकारी गराएकी थिइन् । तर आफूले बहुमत सांसदको उपस्थितिमा दाबी पेस गरेकाले प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने देउवाको दाबी छ । सरकारी पक्षले वैकल्पिक सरकार गठनको सम्भावना नभएकाले नै राष्ट्रपतिको निर्णय र त्यसपछिको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय लिएको दाबी गरेको छ ।

तर देउवापक्षले राष्ट्रपति कार्यालयमा बहुमत सांसदहरूको हस्ताक्षर पुर्‍याएकाले वैकल्पिक सरकार गठनको सम्भावना रहेको र त्यो रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएकाले असंवैधानिक भएको जिकिर गरेको छ । उसले गत फागुन ११ गतेको प्रतिनिधिसभा पुन:स्थापनाको आदेश हुँदा पनि वैकल्पिक सरकार गठनको विषयलाई जोड दिइएको भन्दै यसपटक पनि त्यो सम्भावना रहँदारहँदै विघटन गरिएको जिकिर गरेको हो । विघटन मुद्दाको सुनुवाइमा यो अर्को प्रश्न हो ।

प्रतिनिधिसभा विघटन संविधानसम्मत छ कि छैन ?

विपक्षी गठबन्धनको प्रमुख माग प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्छ भन्ने छ । सभामुख अग्नि सापकोटाले पनि यही आशयको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेका छन् । सरकारी पक्षले भने वैकल्पिक सरकार गठनको सम्भावना नभएकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको दाबी गरेको छ । अघिल्लोपटक जस्तै यसपटक पनि सर्वोच्च अदालतले यो विवादको निरूपण गर्नुपर्ने देखिन्छ ।

देउवाका बारेमा आदेश दिने कि नदिने ?

देउवा नेतृत्वको निवेदक पक्षले प्रतिनिधिसभा पुन:स्थापनामात्रै होइन, बहुमत पुगेकाले प्रधानमन्त्री पनि नियुक्ति गर्नू भनी आदेशको माग गरेको छ । त्यसका लागि देउवापक्षले १ सय ४६ सांसदलाई नै रिट निवेदकका रूपमा सर्वोच्च अदालतमा प्रस्तुत गरेको हो ।

सरकारी पक्षले भने राष्ट्रपतिलाई विश्वस्त बनाउन नसकेपछि देउवा प्रधानमन्त्री हुने बाटो बन्द भएको दाबी गरेको छ । सर्वोच्च अदालतमा लामबद्ध गरेर सांसदहरूलाई पक्ष/विपक्षमा परेड खेलाउन नहुने भन्दै सरकारी पक्षले अदालतले प्रधानमन्त्री चुन्ने काम गर्नै नहुने जिकिर गरेको छ । प्रधानमन्त्री ओलीको लिखित जवाफमा देउवालाई कुनै हालतमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आदेश दिनुहुदैन भन्ने विषयले नै महत्त्व पाएको देखिन्छ । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश दिन मिल्ने हो या राष्ट्रपतिले स्वविवेकमा नै प्रधानमन्त्री नियुक्त गर्ने हो, बहस मुख्य गरी यो विषयमा केन्द्रित हुने देखिन्छ ।

प्रकाशित : असार ९, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्

असंवैधानिक नियुक्ति अदालतद्वारा बदर

सर्वोच्चको आदेशसँगै २० मन्त्रीले गुमाए पद
कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले गत जेठमा दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारको निर्णयलाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट निष्क्रिय बनाइदिएको छ । कामचलाउ प्रधानमन्त्रीले विस्तार गर्न नसक्ने भन्दै अदालतले मंगलबार आदेश जारी गरेपछि मन्त्रिपरिषद् पाँच सदस्यमा सीमित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गत जेठ २१ र २७ गते गरिएको मन्त्रिपरिषद् विस्तारलाई कार्यान्वयन नगर्न आदेश दिएको हो । मन्त्रिपरिषद् विस्तारको निर्णय खारेज नभने पनि सर्वोच्च अदालतले आदेश रिटको अन्तिम सुनुवाइसम्म कार्यान्वयन हुने भनेकाले खारेज भएसरहको अवस्था सिर्जना भएको हो । आदेशमा भनिएको छ, ‘थप नियुक्ति संविधानअनुकूल भएको नभई संविधानको मूल मर्म र भावनाको विपरीत भएको देखिँदा उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीको पदको कार्य नगर्नू, गर्न नदिनू, नदिलाउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’

सर्वोच्च अदालतले प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य नरहेकाले पदमुक्त भएको तर अर्को सरकार गठन नभएसम्म यही ‘मन्त्रिपरिषद्’ रहिरहने भन्दै त्यसमा हेरफेर गर्न नहुने आदेश गरेको हो । संविधानको धारा ७७ (१) मा प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य नभएको अवस्थामा पद रिक्त हुने परिकल्पना छ । सर्वोच्च अदालतले दोस्रोपटक प्रतिनिधिसभा विघटन भए पनि प्रधानमन्त्री पद रिक्त रहेको भनी औंल्याएको हो । प्रधानमन्त्री पद रिक्त रहे त्यतिबेलैको (मौजुदा) मन्त्रिपरिषद् अर्को सरकार गठन नहुञ्जेल कायम रहने भन्ने व्यवस्था पनि छ ।

संविधानको धारा ७७ (३) मा ‘प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ’ भन्ने उल्लेख छ । त्यही संवैधानिक व्यवस्था उद्धृत गर्दै सर्वोच्च अदालतले सरकार फेरबदल गर्न नहुने आदेश गरेको हो । प्रधानमन्त्री पद रिक्त भएको र अर्को प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ, त्यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने भन्ने स्पष्ट रूपमा किटानी भएको भन्दै सर्वोच्च अदालतले सरकार विस्तार गर्न नमिल्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद् विस्तार गर्ने, थप गर्न सक्ने भनी संविधानको कुनै पनि धारामा उल्लेख नभएको र धारा ७७ (३) ले साविककै मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने भनी किटान गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको देखिँदैन ।’

सर्वोच्च अदालतको आदेशपछि मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्रै रहन्छन् । गत जेठ २१ र २७ गते नियुक्त भएका सबै मन्त्रीहरूको पद गएको छ ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा उनका निकट मानिने अर्का न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको नियमित सुनुवाइ सुरु हुने अघिल्लो दिन यस्तो आदेश गरेको हो । सरकार पुनर्गठनको निर्णय बदर गर्नू भनेर आदेश दिने सम्भावना हुँदाहुँदै पनि अदालतले नयाँ मन्त्रीहरूको नियुक्ति बदर गरेको हो । पुनर्गठनको निर्णय बदर गरेको भए पुराना मन्त्रीहरू फेरि बहाल हुन पाउँथे ।

आदेशमा प्रतिनिधिसभा विघटनकै अवस्थाको मन्त्रिपरिषद्ले दैनिक कामकारबाही गर्ने भन्ने संवैधानिक व्यवस्था पनि औंल्याइएको छ । आदेशमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रिपरिषद् छ त्यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ भनी स्पष्ट रूपमा किटानीका साथ उल्लेख भइरहेको परिप्रेक्ष्यमा...।’

आदेश गर्दा भने संयुक्त इजलासले सरकारलाई गत जेठ २१ र २७ गतेअघिको अवस्थामा नफर्काई त्यसपछिको सरकार विस्तारका निर्णय मात्रै बदर गरेको हो । सरकारले आफू कामचलाउ हैसियतमा नरहेको भन्दै नियमित अवस्थामा जस्तै कामकारबाही गर्न पाउने दाबी गरेको थियो । प्रधानमन्त्रीले यसैका लागि राजीनामा समेत नदिएको आरोप लागेको थियो । संविधानमा कामचलाउ सरकारको परिकल्पना नभएको भन्दै सरकारी पक्षका कानुन व्यवसायीले नियमित कामकारबाही गर्न सक्ने दाबी गर्दै आएका थिए ।

सर्वोच्च अदालतले भने प्रधानमन्त्री पद रिक्त रहेको भनी आदेश गर्दै नियमित सरकारका बेला जस्तो कामकारबाही गर्नु संविधानअनुकूल नहुने भनी आदेश गरेको हो ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अधिवक्ताहरू राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी श्रेष्ठ, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद साहलगायतले छुट्टाछुट्टै निवेदन दिएका थिए । प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दुवै पक्षलाई छलफलका लागि झिकाएकामा मंगलबार अन्तरिम आदेश भएको हो । यो मुद्दामा दुवै पक्षको सुनुवाइपछि आदेश भएकाले आदेश बदरको माग राखी फेरि अर्को निवेदन दिने सम्भावना पनि छैन ।

को–को पदमुक्त भए ?

उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो, मन्त्रीहरू खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी, मोहन बानियाँ अनि राज्यमन्त्रीहरू चन्द्रकान्त चौधरी, रेणुका गुरुङ, आशाकुमारी विक पदमुक्त भएका हुन् । विष्णु पौडेल उपप्रधानमन्त्रीको जिम्मेवारीबाट हटेर अर्थमन्त्री मात्रै भएका छन् ।

प्रकाशित : असार ९, २०७८ ०६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×