कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसएसबीको सधैं अवरोध

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको प्यारातालदेखि कारगिल डाँडा, आपताल, पचुई, भुडा, झिलमिला, सुन्दरनगर र ब्रह्मदेवसमेत एक दर्जन क्षेत्रमा सीमा विवाद
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरका नारायण अधिकारीले सीमा क्षेत्रको केही जमिनमा बेसार लगाएका छन् । गत जेठ २२ गते आफ्नै जमिनमा घाँस लगाउन खनजोत गरिरहेका थिए ।

एसएसबीको सधैं अवरोध

त्यही बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली आएर दशगजामा खेतीपाती लगाउन नदिने भन्दै अवरोध गर्‍यो । एसएसबी टोली र अधिकारीबीच भनाभन नै चल्यो ।

अधिकारी परिवारले २०२४ देखि खेतीपाती गर्दै आएको जमिन यतिबेला एसएसबीले दशगजामा पर्ने भन्दै खनजोत गर्न अवरोध गरिरहेको छ । ‘हामीसँग जग्गाको पुर्जा छ, दशगजाभन्दा वरै खेतीपाती गरिरहेका छौं,’ अधिकारीले भने, ‘बरु भारततर्फ दशगजा पुरै मासेर खेतीपाती गरिएको छ ।’ उनका अनुसार एसएसबीले दुई वर्षदेखि खेतीपाती गर्ने बेला विवाद गरिरहेको छ । गत वर्ष एसएसबीले विवाद गर्दा दुवैतर्फका सुरक्षा निकायबीच संयुक्त सर्भे टोली नआउँदासम्म जे जस्तो छ, त्यस्तै अवस्थामा रहन दिने सहमति भएको थियो । यस पटक एसएसबीले फेरि खनजोतमा अवरोध गरिरहेको छ ।

एसएसबीले दुई वर्षअघि अधिकारीका छिमेकी लक्ष्मण पुनको जमिन खनजोतमा पनि रोक लगाएको थियो । केही वर्ष बाँझो छाडेको जमिनमा खेतीपाती लगाउन खोज्दा रोकेको अधिकारी बताउँछन् । ‘एसएसबीले पालैपालो सीमा क्षेत्रमा दुःख दिँदै आएको छ,’ उनले भने, ‘पहिले छिमेकीको जमिन छुटाए, अहिले मेरो जमिनमा आउन थालेका छन् ।’ उक्त क्षेत्रमा दुवैतर्फ दशगजा छुट्याउन नाली बनाइएको छ । नेपालतर्फ नाली वरै खेती गरिएको छ भने भारततर्फ नालीसमेत खनेर सीमासम्मै खेती गरिएको अधिकारी बताउँछन् ।

‘आफ्नोतर्फ सीमासम्मै खेती गरेको देख्दैनन्,’ अधिकारीले भने, ‘हामीलाई दशगजाभन्दा २०/२५ मिटर वरसम्म छाड्न भन्छन् ।’ उक्त क्षेत्रमा ७९६/बीपी १७ नम्बरको सीमा स्तम्भ छ । सीमा स्तम्भका विषयमा कुनै विवाद नरहेको सशस्त्र प्रहरीको ३५ नं. गणले जनाएको छ ।

दशगजामा खनजोत गरेको एसएसबीले दाबी गरे पनि तत्काल यथास्थितिमै रहन दिने मोटामोटी समझदारी भएको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–८ को पचुईमा हुलाकी सडक निर्माणमा पनि एसएसबीले अवरोध गरेको छ । पछिल्लो पटक पनि एसएसबीको टोली नै आएर निर्माण कार्यमा अवरोध पुर्‍याएको हो । सहायक पिलरका प्वाइन्टहरू हुलाकी सडकमै पर्ने भन्दै अवरोध गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ । करिब १२ मिटर सडक दशगजामा पर्ने एसएसबीको दाबी छ । तर उक्त क्षेत्रमा रहेको ७७८/१ नम्बरको सीमास्तम्भ र सडकभन्दा ४०/५० मिटर दक्षिण पश्चिमतिर रहेको छ ।

पछिल्लो पटक एसएसबीले स्ट्रिप नक्साका आधारमा सीमास्तम्भभन्दा नेपली भूभागतर्फसमेत दाबी गरिरहेको छ । गत वर्ष बेलौरी–१० को भुडा क्षेत्रमा संयुक्त सर्भे टोलीले नापी गर्दा लालपुर्जा भएको जमिन भारततर्फ पर्ने देखिएको थियो । त्यसपछि स्थानीयको विरोधका कारण सर्भेको काम स्थगित भएको थियो । गत साता प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरेन्द्र ऐर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदी लगायतको सुरक्षा निकायको टोलीले सुन्दरनगर र पचुइँ क्षेत्रको अनुगमन गरेको थियो ।

‘सुन्दरनगरमा तत्काल विवाद गर्नुभन्दा जे जस्तो अवस्थामा छ, त्यस्तै रहन दिने समझदारी भएको छ,’ प्रजिअ महतोले भने, ‘दशगजाको विषयमा विवाद देखिएको हो, संयुक्त सर्भे टोली आएपछि सबै समाधान हुन्छ भन्ने छ ।’ उनले पचुई क्षेत्रका विषयमा तल्लोस्तरबाट समस्या समाधान हुन नसक्ने देखिएको बताए । यसका लागि प्रतिवेदन बनाएर केन्द्रमा पठाउने तयारी भइरहेको उनको भनाइ छ ।

पचुई क्षेत्रमा एसएसबीले सुरुवातदेखि नै सडक निर्माणमा अवरोध गरिरहेको हो । हुलाकी सडक निर्माण कम्पनीले यही बहानामा अन्य क्षेत्रको काम पनि गरेको छैन । २०७३ मा सम्झौता भई थप गरिएको समय जेठसम्म पनि ७ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर सीमा भारतसंँग जोडिएको छ । दक्षिणी क्षेत्र पुनर्वासको प्यारातालदेखि कारगिल डाँडा, आपताल, पचुई, भुडा, झिलमिला, सुन्दरनगर र ब्रह्मदेवसमेत गरी एक दर्जन बढी क्षेत्रमा सीमा विवाद छ । पछिल्लो पटक स्ट्रिप नक्साका कारण धेरै ठाउँमा विवाद देखिएको छ । उक्त नक्सा पुनरावलोकन गर्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

प्रकाशित : असार ८, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?