कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलम्बुमा अझै त्रास

बाटो र पुल बगाएकाले बिरामीलाई उपचारार्थ पुर्‍याउन समस्या 
अनिश तिवारी

हेलम्बु, सिन्धुपाल्चोक — बाढीले बगर बनाएको गाउँलाई उनी डाँडामा बसेर हेरिरहन्छन् । कल्पना नै नगरेको विपत्ति देख्दा हेलम्बु गाउँपालिका–६ चालिसेका ७० वर्षीय शिवप्रसाद भण्डारी बेलाबेला भक्कानिन्छन् । मेलम्ची खोलाले बस्ती र खेतलाई बलौटे बगर बनाएको छ । 

हेलम्बुमा अझै त्रास

अझै पनि केही ठाउँमा खोलाको बहावले गरिरहेको कटान रोकिएको छैन । गत मंगलबार एकै रात चालिसे गाउँका सात घरसहित खेत बाढीले बगर बनायो । गाउँका एक जना बेपत्ता छन् । चालिसे गाउँलाई किउल बजार जोड्ने एक मात्र झोलुंगे पुल बगाएपछि अन्यत्र जान्छु भन्नेका लागि पनि बाटो थुनिएको छ । ‘सर्वस्व त लग्यो, जिउँदोचाहिँ राखिदिए हुन्थ्यो । रातदिन बाढी उर्लिएको देख्दा त बाँचिएला जस्तो लाग्दैन,’ भण्डारीले भने, ‘पारि जान पुल छैन, वारि भित्तो मात्रै छ, भगवान् सम्झँदै बस्दै छौं ।’

चालिसे चिउरेखर्क झोलुंगे पुल र गाउँपालिकाको बजारसम्म जोड्ने तीन किलोमिटर सडक बनेको धेरै वर्ष भएको थिएन । बाढीले दुवै बगाएको छ । गत बुधबारदेखि हेलम्बुका चालिसे, चिउरेखर्क, तल्लो तिम्बु र हल्दे बजारका झन्डै एक सय परिवार छिमेकी र सुरक्षित स्थान खोजेर आश्रय लिइरहेका छन् । ‘पुल बगायो, पैदल हिँड्ने बाटो पनि राखेन, मेलम्ची बाढीमा तर्न सकिँदैन । यही कुनामा बस्छौं, वारिको वारि पारिको पारि,’ उनले भने । हेलम्बुका चनौटे तालामाराङ, गणेशे बगर, किउल, तिम्बु बजारका बासिन्दाले पनि तटीय क्षेत्रमा रहेका सबै घर छाडिसकेका छन् ।

गाउँपालिकाले शनिबार हेलम्बु–१ स्थित सेमेसिदाङ हिमशृंखला काखको भ्रेमाथाङ चौरमा थोरै पहिरो गएको र अझै धेरै बाँकी रहेको सूचना जारी गरेको थियो । अझै पहिरो जाने हल्ला सुनेपछि निद्रा पर्न छाडेको हेलम्बु–२ किउल तल्लो तिम्बु बजारका पेम्बा लामा बताउँछन् । ‘पहिरो बाँकी रहेको सुनेर बाढी अझै आउँछ कि भन्ने लागेर रातदिन चैन छैन,’ उनले भने, ‘घरबस्ती त बगाइसक्यो, ज्यान मात्रै बाँकी छ । अब चाहिँ कसैलाई केही नभइदिए हुन्थ्यो ।’

पुल र बाटोसमेत नभएपछि यी गाउँको हेलम्बु किउल बजारसँग सम्पर्क पूरै टुटेको लामाले बताए । गत मंगलबारयता यहाँ बिजुली र मोबाइलको नेटवर्क छैन । सडक र सञ्चार सम्पर्क टुटेकाले कोही बिरामी परे बोकेरसमेत लैजान नसकिने भएको चालिसेकी पार्वती भण्डारीले बताइन् । शनिबार मात्रै हेलम्बुको तिम्बु बजारमा ३ र हल्देमा १ जना गरी चार जना गर्भवतीको बिचल्ली भएपछि काठमाडौं लैजान हेलिकप्टर गुहार्नु परेको स्थानीय मनीष तामाङले बताए ।

हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार ह्योल्मोका अनुसार हेलम्बुभर बाढीले झन्डै सय घर बगाएको छ । तटीय भेगका ६ सयभन्दा बढी घर उच्च जोखिममा परेका छन् । बाढीमा १० वटा माछा फार्मसहित केही सञ्चालक र अन्य स्थानीय गरी १४ जनालाई बेपत्ता छन् । हेलम्बुको चनौटे बजारका मात्रै चार र चालिसे गाउँका एक जना बेपत्ता छन् । हेलम्बुको नवनिर्मित प्रहरी चौकी भवन र अन्य धेरै संरचना बगाएपछि गाउँपालिका कार्यालय सारेर माथिल्लो भेगमा ल्याइएको छ । विस्थापितका लागि गाँसबास व्यवस्थापन गर्न जनप्रतिनिधिसहित सबै लागिपरेको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘सम्पर्क टुटेका गाउँसम्म सडक र पुल बनाउँदै गरौंला । अहिले सुरुवाती उद्धार र राहत व्यवस्थापनमा लागिरहेका छौं,’ उनले भने ।

सुरक्षाकर्मीको सहयोगमा हेलम्बु किउल, गणेशे बगरेसहितका विस्थापितलाई माथिल्लो गाउँमा टेन्ट र पाल टाँगेर राखिएको उनले बताए । मेलम्ची नदीको तटीय क्षेत्रका चनौटे, किउल बजारका विस्थापितलाई स्थानीय विद्यालय र सामुदायिक भवनजस्ता सुरक्षित स्थानतिर सारिएको उनले बताए ।

अविरल वर्षात्का कारण पाँचपोखरी थाङपाल गाउँपालिकामा पनि व्यापक क्षति भएको छ । यांग्री, लार्के र इन्द्रावती नदीमा आएको बाढीले पाँचपोखरी–२ को तटीय क्षेत्रका दर्जनौं घर बगेका छन् । बरुवाको यांग्री दलित बस्ती, माथिल्लो बस्ती, तासिवा, सुनचौर, माईखर्क गाउँका ६५ परिवार विस्थापित भएको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले बताए ।

‘भोताङ लार्केमा घरसहित पसल र बस्ती जोड्ने ३ वटा झोलुंगे पुल बगायो । मेलम्ची ड्यामसाइड नजिकैको मेलम्ची–भोताङ सडक पूरै भास्सियो,’ उनले भने । पुलको विकल्पका लागि योजना बनाएर सुरुवाती खाद्यान्न र बासको व्यवस्थापनमा लागिरहेको उनले बताए ।

प्रकाशित : असार ७, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?