कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्ची फेरि अनिश्चित

निर्माण थालेको २२ वर्षपछि पानी परीक्षण वितरण थालेर सुरूङ मर्मतका लागि ‘ब्रेक’ लिएको आयोजना अब सहज कहिले हुने भन्ने टुंगो छैन
ऋषिराम पौड्याल

सिन्धुपाल्चोक,काठमाडौं — सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गरिएकै दिन बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अब अनिश्चित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ । 

मेलम्ची फेरि अनिश्चित

मेलम्ची आयोजनाको बाँधसँगको सम्पर्कविच्छेद भएको छ । आयोजनाको बाँध जोड्ने प्रवेश मार्गको अन्तिम खण्ड करिब ६ किमि सडक भत्किएर मेलम्ची खोलामा खसेको छ । निर्माण सुरु भएको २२ वर्षपछि आयोजनाले सुन्दरीजलको रिजर्भ ट्यांकी हुँदै गत फागुन १० देखि काठमाडौं उपत्यकामा पानीको वितरण परीक्षण गरेको थियो । काकाकुल उपत्यकालाई लामो प्रतीक्षापछि अब धारामा पर्याप्त पानी आउनेमा आश्वस्त पारेको आयोजनाले सुरुङ मर्मतका लागि गत सोमबारदेखि वितरण बन्द गरेको थियो । अब मर्मत भएर कहिलेदेखि मेलम्चीको पानी उपत्यकामा सहज हुन्छ भन्ने जवाफ प्राविधिकहरूसँग छैन ।

बाढीले गरेको क्षतिको विवरण पनि तत्काल पूरै तयार पार्न समस्या छ । स्थलगत अवलोकनका लागि यातायात सञ्जाल टुटेकाले घटनाको चार दिनसम्म पनि आयोजनाको वास्तविक क्षतिको पूर्ण विवरण तयार हुन नसकेको हो । मुख्य सुरुङमा भने क्षति नपुगेको अनुमान आयोजनाको छ । आयोजनाका डिभिजन इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्त क्षतिको अवस्था हेर्न जान सजिलो नभएको बताउँछन् । करिब चार मिटर उचाइको बाँध मुहानको माथिल्लो भाग सेमेसिदाङ हिमालमुनिको भेमाथाङ चौरबाट आएको पहिरो मेलम्ची खोलामा मिसिएर आएको बाढीले पुरेको छ । पानी ओभर–फ्लो भएर बाँध ढुंगामाटोले भरिएको अनुमान गरिएको छ । पक्की बाँध निर्माणकै चरणमा रहेकाले मेलम्चीको पानी हेडवर्क्समा निर्माण गरिएको अस्थायी सुरुङबाट मुख्य सुरुङमा पठाउने गरिएको थियो । ‘अस्थायी सुरुङको मुख नै टालिएको छ । प्रारम्भिक रिपोर्टका आधारमा आयोजनाको हेडवर्क्सको सुरुङको मुखबाट कति टाढा (लम्बाइ) सम्म ढुंगामाटो भरिएर बन्द भएको छ भन्ने यकिन भएको छैन,’ पन्तले भने । निर्माणाधीन बाँधलाई बाढीले छोपेको छ । बाँध निर्माणका लागि बनाइएको मुहान क्षेत्रको सडक र अम्बाथानका दुइटा बेलिब्रिज बगाएकाले अडिट सुरुङमा प्राविधिक पुग्नै समस्या छ । मुहान पुग्न ६ किमि टाढा प्रवेशमार्ग बाट हिँडेर जाने गारेटो पनि छैन ।

आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार बाँध ढुंगामाटोले भरिए पनि नभत्काएको अनुमान छ । तर बाँध पुरिएपछि पानीको सतह माथि आउने भएकाले कसरी मर्मत गर्ने भन्ने फेरि अध्ययन जरुरी देखिएको छ । वर्षा नरोकिएको र सडक सञ्जाल जोड्न अस्थायी प्रकृतिका काम गर्नसमेत प्राविधिक डराएका छन् । ‘अहिले पनि बाढी रोकिएको छैन,’ उनले भने ‘कुन तहको क्षति भयो यकिन गर्नै नसकिने अवस्था छ ।’ आफूले खानेपानी मन्त्री अनिल झालाई मेलम्चीको पछिल्लो अवस्थाबारे जानकारी गराएको उनले बताए । ‘माथिल्लो निकायबाटै प्रयास नगरे आयोजनाले मात्र केही गर्न सक्दैन,’ उनले भने । मेलम्ची बजारदेखि मुहानसम्मको १८ किमि सडक सञ्चालन गरेपछि मात्र वास्तविक अवस्था पत्ता लाग्ने उनको भनाइ छ । भन्छन्, ‘सकेसम्म बेलिब्रिज राखेर भए पनि यातायात सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा छौं ।’

के–के भयो क्षति ?

मुहानभन्दा करिब ८ किमि पश्चिम (काठमाडौं) तर्फको सडक तथा पुल बाढीले बगाएको छ । आयोजनाले वर्षौं लगाएर बनाएको प्रवेशमार्ग हुँदै बाँध जोड्ने तिम्बु र हल्देको दुइटा मोटरेबल पुल बगाएको छ । बाँधस्थलको दुइटा बेलिब्रिज, मुहाननजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको छ । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक जना चिनियाँ र दुई जना भारतीयको मृत्यु भएको छ । दुई नेपालीसहित ५ जना विदेशी अझै बेपत्ता छन् ।

मुहान पुग्ने अन्तिम खण्ड चनौटेसम्मको करिब ६ किमि क्षेत्र सडक क्षतविक्षत भएको छ । आयोजनाको प्रवेशमार्गअन्तर्गत १८ किमि क्षेत्रको तालामाराङ, चनौटे, हल्दे, चिप्लेढुंगा, तिम्बुलगायतका स्थानमा ६ वटा मोटरेबल पुल बनाएकोमा दुइटा बगाएको छ । तीमध्ये हेलम्बु क्षेत्रको प्रवेशमार्गको ठाडो खोलामा निर्माण गरेको दुइटा पुल पनि भत्कने अवस्थामा पुगेको छ । बाँधको माथिल्लो मागमा रहेको नाकोतेस्थित मेलम्ची घ्याङ जाने पक्की पुल बगाएको छ । उक्त पुल वाग्मती प्रदेश सरकारको सहयोगमा भर्खरै निर्माण भएको थियो ।

दुइटा अडिट सुरुङको सुरुको खण्डमा माटो र बालुवा भरिएको छ । कामदार तथा ठेकेदार बस्ने क्याम्प, क्यान्टिन तथा मेसिनहरू बगाएको छ । मुहानभन्दा १८ किमि काठमाडौंतर्फ मेलम्ची बजारमा रहेको आयोजनाको मुख्य क्याम्पको आवास र कार्यालय भवनहरू पानीमा डुबेको छ । उक्त स्थानमा राखिएका मेसिनहरू बगाएको छ । मेलम्ची बजारदेखि मुहानसम्मको क्षेत्रको सडक सबैभन्दा धेरै क्षति भएको छ ।

बाढीले बगाएको दुइटा पक्की पुल आयोजनाले वर्षौं लगाएर बनाएको थियो । उक्त पुल निर्माण नगरी मुहानस्थलमा जाने वैकल्पिक व्यवस्था गर्न निकै कठिन रहेको आयोजना क्षेत्र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । उनका अनुसार प्रबेशमार्गको करिब ६ किमि क्षेत्रको दुइटा पक्की पुल र सडकको ठाउँठाउँ बाढीले बगाएको छ । बगाएको दुइटा पुल नबनाई यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । आयोजना स्थलमै रहेका उनका अनुसार मुहान जाने सडक सबै मेलम्ची खोलमा झरेको छ । ‘वर्षा भर्खर लागेको छ, बाढी अझै नरोकिएकाले थप क्षतिको सम्भावना टरेको छैन,’ उनले भने । बेलिब्रिज राख्ने स्थानसमेत नभएको उनले बताए ।

यातायात सञ्चालन नगरी आयोजनाको मर्मत सम्भावना नभएको आयोजनाका प्रवक्ता पन्त बताउँछन् । ‘सुरुङ सफा गर्न पनि मेसिन चाहिन्छ । मेसिन लैजान सडक चाहियो,’ उनले भने । मुहानको बाँध निर्माण अन्तिम चरणमा पुगेका बेला पुनः क्षति भएको हो । उक्त बाँध चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले निर्माण गरिरहेको थियो । लगभग सबै काम सकेर फलामका ढोकाहरू राख्ने बेलामा बाढीले क्षति गरेको उनले बताए । उक्त बाँध नभत्किए पनि ढुंगामाटो झिक्न मेसिनको प्रयोग गर्नुपर्छ । तर मेसिन लैजान सडक नै छैन । ‘पिक साबेलले माटो, ढुंगा फ्याँकेर हुँदैन, निर्माण सामग्री लैजान पनि त सडक सञ्चालन हुनुपर्‍यो,’ उनले भने, ‘तैपनि जति सक्छौं कोसिस गरिरहेका छौ ।’ मेलम्ची बजारदेखि मुहानसम्म एस्क्साभेटर लगाउने तयारी गरिरहेको उनले बताए ।

आयोजनाको अम्बाथानस्थित अडिट सुरुङ बन्द भएकाले पानी बाहिर पठाउन समस्या भएको छ । मर्मत गर्ने उद्देश्यले सुरुङको पानी रित्याउने तयारी गरेकै दिन घटना भएको थियो । सुन्दरीजलबाट पानी बाहिर पठाउन सुरु गरिएको थियो । अम्बाथान, ग्याल्थुम, सिन्धु अडिटबाट पानी बाहिर पठाउने योजना रहेकोमा बाढीका कारण समस्या भएको छ । अम्बाथानको अडिट सुरुङ सञ्चालन नभएसम्म सबै पानी बाहिर पठाउन नसकिने प्रवक्ता पन्तले बताए । सुरुङ मर्मतका लागि प्रतिसेकेन्ड २ सय लिटरका दरले पानी बाहिर पठाउने योजना थियो ।

सुन्दरीजलबाट पानी बाहिर पठाउन सुरु गरेकै दिन बाढी आएको थियो । सुरुङमा अहिले चार मिटरसम्म गहिराइको तहमा पानी छ । खासगरी मुहान क्षेत्र अम्बाथान र सिन्धु अडिट ८.२ किमि सुरुङको पानी निकाल्न नसकिने पन्तले बताए । उक्त भागको पानी निकाल्न अम्बाथान अडिट सुरुङको मुख खोल्नुपर्छ । प्राविधिकका अनुसार सुरुङको भित्री भाग कतै गहिरो कतै अग्लो हुने भएकाले एकै स्थानबाट सबै पानी बाहिर पठाउन सकिँदैन ।

प्रकाशित : असार ६, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?