कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृतिविद् जोशी घर फर्किए

प्रशान्त माली

काठमाडौँ — वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालमा एघार दिनको उपचारपछि शुक्रबार घर फर्केका छन् । उनी पाटन बखुम्बहालस्थित निवासमा बस्छन् ।

संस्कृतिविद् जोशी घर फर्किए

जेठ २६ गते ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारका क्रममा उनमा छातीको संक्रमण, मुटुको चालमा गढबडीका साथै रक्तचापमा कमी देखिएको थियो ।

अहिले रक्तचापलगायतमा देखिएको गडबडी नियन्त्रणमा आइ हिँडडुल गर्नसक्ने भएपछि उपचारमा संलग्न चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णयमा पुगेका हुन् । उनको उपचारमा प्रा.डा. मिलेशजंग सिजापतिको नेतृत्वको कार्डीयोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको ५ जनाको टोली खटिएका थिए ।

छाती रोग विशषेज्ञ प्रा.डा. सिजापतिले स्वास्थ्य अवस्था सामान्य भएर साबिक सरह खानपिन हिँडडुल गर्न थालेकाले मुटुको औषधि दिएर डिस्चार्ज गरेको बताए । ‘उनी प्रेसर, सुगर, दमजस्ता रोगबाट मुक्त छन्,’ उनले भने, ‘नियमित व्यायाम, खानपिनमा ध्यान दिएकै कारणले स्वास्थ्य राम्रो भएको देखिन्छ ।’

जोशीको पीसीआर परीक्षणमा गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तैपनि निमोनियाको संक्रमण देखिएकाले सुरुमा एन्टिबायोटिक चलाइएको थियो । अब जोशीलाई एक सातापछि फलोअपका लागि चिकित्सकको टोलीले सम्पर्क गर्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले २०७६ मा समाजमा पुर्‍याएको योगदान कदर गर्दै उनी र उनकी धर्मपत्नीको सम्मान स्वरुप नि:शुल्क स्वास्थोपचारको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

अस्पतालबाट शुक्रबार घर फर्कने क्रममा संस्कृतिविद् जोशी ।

विगत ८ महिनादेखि जोशीको निवासमा प्रत्येक महिना चिकित्सकको टोली पुगेर स्वास्थ्य जाँच गर्दै आइरहेको छ । त्यसक्रममा गत जेठ २६ गते जोशीले ज्वारो र श्वास फेर्न गाह्रो भएको बताएपछि अस्पतालमा उपचारका लागि लगिएको थियो ।

जोशी गत वैशाख ३० गते १०२ वर्षमा प्रवेश गरेका थिए । जोशीका भतिज ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीले आराम गर्नुपर्ने भएकाले केहीदिन फोन वा भेटघाटमा नआउन विभिन्न संघसंस्था तथा मिडियाकर्मीलाई अनुरोध गरेका छन् । ‘डिस्चार्ज भएकै दिनदेखि विभिन्न विषयवस्तुबारे बुझ्नुपर्ने भनी तारन्तर फोन आइरहेको छ,’ उनले भने ।

तीनपटक मदन पुरस्कार प्राप्त जोशी दम्पतीले गत वर्ष मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । जोशीको मुहार अंकित रु १० को हुलाक टिकट र उनको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट तस्बिर अंकित चाँदीको सिक्का निष्कासन गरिएको छ ।

प्रकाशित : असार ४, २०७८ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?