कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसमा गठबन्धनलाई सशक्त बनाउन जोड

नेता आचार्यद्वारा भने गठबन्धनको विरोध

काठमाडौँ — कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र निरंकुश कदमलाई नियन्त्रण गर्न विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा बोलेका अधिकांश नेता गठबन्धनको पक्षमा उभिएका थिए ।

कांग्रेसमा गठबन्धनलाई सशक्त बनाउन जोड

कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनका लागि संशोधित तालिका अनुमोदन गराउने एजेन्डा राखेर बोलाइएको बैठकमा नेताहरूले समसामयिक राजनीतिका विषयमा सुझाव दिएका थिए ।

बैठकमा नेता महेश आचार्यले भने कम्युनिस्ट पार्टीहरूसँगको गठबन्धन वैचारिक रूपमा पनि अमिल्दो भएको तर्क गर्दै पुनर्विचार गर्नुपर्ने बताएका थिए । उनले केही दिनअघि पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमाथि समेत प्रश्न गरेका थिए । आचार्यले उठाएका प्रश्नको सभापति शेरबहादुर देउवाले तत्कालै जवाफ दिँदै प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध मोर्चाबन्दी गरेको बताए । ‘यस्तो गठबन्धन अहिले मात्रै भएको होइन । विगतमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदाका बखत पनि भएको थियो,’ देउवाले भनेका थिए, ‘त्यतिबेला तपाईंहरूले नै गठबन्धन गरेको होइन ?’

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने गठबन्धन विश्वासिलो बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अल्पमतमा परेका प्रधानमन्त्री ओलीमा अझै दुई तिहाइको धङधङी रहिरहेको टिप्पणी गरे । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतलाई लिखित जवाफ दिने क्रममा ओलीले प्रस्तुत गरेका तर्क र विश्लेषण राज्य सत्ताकब्जा गर्नेतिरै लक्षित रहेको कार्कीको भनाइ थियो । उनले विपक्षी गठबन्धनले जनतालाई भरोसा दिलाएको तर्क गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । नेताहरू रमेश लेखक, गगन थापा, मोहनबहादुर बस्नेत, शंकर भण्डारी, उमाकान्त चौधरी, कल्याण गुरुङलगायतले विपक्ष्ँी गठबन्धनलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

महाधिवेशन तालिका संशोधन

बैठकले महाधिवेशनको तालिकालाई सामान्य संशोधनसहित अनुमोदन गरेको छ । यसअघि पदाधिकारी बैठकले क्रियाशील सदस्यताको सम्पूर्ण कार्यको टुंगो असार २० सम्ममा लगाउने भनेकामा त्यसलाई बढाएर असार मसान्तसम्म समय दिइएको छ । पदाधिकारी बैठकले प्रस्ताव गरेका तल्ला तहको अधिवेशन तालिकालाई सामान्य संशोधन गरिएको छ ।

महाधिवेशनको मिति भने भदौ १६ देखि १९ नै कायम छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको तालिकाअनुसार गाउँ/वडा अधिवेशन आगामी साउन १२ गते हुनेछ । गाउँ/नगरपालिका साउन १६, प्रदेश क्ष्ँेत्रीय साउन २०, प्रतिनिधिसभा क्षेत्रीय (एक निर्वाचन क्षेत्र भएको जिल्लाको समेत) साउन २३, दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते हुनेछन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ ।

कांग्रेसले सरकारको गैरजिम्मेवारीले बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जनाएको छ । कांग्रेसले विपत्तिमा परेर हराएकाको खोजी, उद्धार, घाइतेहरूको उपचार र विस्थापित भएका मानिसलाई सुरक्षित स्थलतर्फ सार्न र राहत कार्यक्रम जिम्मेवारीपूर्वक युद्धस्तरमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले आम नागरिकले खोप पाउन नसक्नुमा सरकारको अकर्मण्यता र स्वार्थलाई मुख्य कारण ठहर्‍याउँदै आम नेपालीका लागि खोप सुनिश्चित गर्न माग गरेको छ । उसले मित्रराष्ट्रहरूले गरेको खोप सहयोगको घोषणालाई स्वागत गर्दै नेपालमा संक्रमणको स्थितिलाई ध्यानमा राखेर जति सक्दो खोप उपलब्ध गराउन पनि अनुराध गरेको छ ।

प्रकाशित : असार ३, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?