कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

डुब्यो मेलम्ची तटीय क्षेत्र : सयभन्दा बढी परिवार विस्थापित

अनिश तिवारी

मेलम्ची, सिन्धुपाल्चोक — पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौं मानिस बेघर भएका छन् । बाढीले बगाउँदा हालसम्म एक जनाको मृत्यु भएको छ । सात जना बेपत्ता छन् ।

डुब्यो मेलम्ची तटीय क्षेत्र : सयभन्दा बढी परिवार विस्थापित

बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । मेलम्ची तटीय क्षेत्रका ८ वटा रिसोर्ट, दुई मोटरेबल पुल र आधा दर्जन झोलुंगे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

मेलम्ची बजार उजाड बगरमा परिणत भएको छ । घरहरू पानीमा डुबेका छन् । यसअघि कहिल्यै नआइलागेको विपद् सामना गर्नुपर्दा स्थानीय बासिन्दा त्राहिमाम छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार इन्द्रावती किनारमा फेला परेको एक शवको पहिचान हुन सकेको छैन । हेलम्बु–२ का ३१ वर्षका माधव भण्डारी, ४२ वर्षका गणेश ज्योति, ३ का ६५ वर्षीया टीकामाया खड्का, ७ का ४५ वर्षका ज्ञानेन्द्र कक्षपति, ६ का ३५ वर्षका चेङा तामाङ र चौतारा साँगाचोकगढी नगरका २३ वर्षका समुद्र नेपाल बेपत्ता छन् । स्थानीयका अनुसार बेपत्ता हुनेमा अधिकांश हेलम्बुदेखि मेलम्ची नदीको तटीय भेगको ट्राउट फार्ममा काम गर्थे ।

‘मेलम्चीमा मात्रै सयभन्दा बढी परिवार विस्थापित भएको अनुमान छ, सबैलाई मेलम्ची नगरको इन्द्रेश्वरी माध्यमिक विद्यालयको भवनमा राखेर गाँसबासको व्यवस्था गरिएको छ,’ डीएसपी सापकोटाले भने । सेनाको हेलिकप्टरले बाढीले डुबेको घरमा अलपत्र परेका चार जनालाई उद्धार गरेको छ ।

अविरल वर्षाले मुहानस्थलबाट नै उर्लिएर आएको मेलम्ची नदीको बाढीको उच्च बहाव अझै नरोकिएपछि स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सर्दै छन् । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाव मंगलबार बेलुकीबाट क्रमशः बढ्दै आएको थियो । मेलम्ची आयोजनामा काम गर्नेको चिनियाँ क्याम्प भत्काएर उर्लिएको बाढीले क्रमशः वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार र गाउँक्षेत्रमा भागाभाग चलेको थियो । ‘हेलम्बु क्षेत्रको यथार्थ क्षतिबारे विवरण अझै प्राप्त हुन सकेको छैन,’ डीएसपी सापकोटाले भने ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढीले हेलम्बु भेगको किनार क्षेत्र बगाएर तहसनहस बनाएको बताए । हेलम्बु–२ किउल तिम्बु, चनौटे, ग्याल्थुम, तिपेनी, तालामाराङ बजारका दुई दर्जनभन्दा बढी परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् । मेलम्ची नगर–११ की ७९ वर्षीया सुनमाया दुलालले मेलम्ची नदीले किनार क्षेत्रका दुईतले घर सबै बालुवा र कालो लेदोले ढाकिसकेको र केही बगाएको बताइन् । ‘यहाँ बिजुली छैन, फोनको नेटवर्क छैन,’ उनले भनिन्, ‘पहिले भागेकाको ज्यान बचेको छ । हामी सबै छिमेकीको घरमा र अन्यतिर सरेका छौं ।’

स्थानीयलाई नदी आसपासका क्षेत्रमा जान नदिन र सुरक्षाका लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलले घेरा हालेर सावधानी अपनाइरहेका छन् । मेलम्चीबाट पारि जोड्ने दुवाचौर झोलुंगे पुलबाट आउजाउ गरेर आसपासका गाउँका बासिन्दाले बाढीका कारण अलपत्र परेका सामग्री ओसारिरहेका छन् । मेलम्ची नदी किनारक्षेत्रका केही घरमा बाढी पस्ने जोखिम भएपछि त्यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको छ ।

भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित छन् । सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र वाग्मती प्रदेशका पूर्वमन्त्री युवराज दुलालसहित हेलम्बु र मेलम्चीका जनप्रतिनिधिले आपत्कालीन बैठक बसेर उद्धारलाई प्रभावकारी बनाउन छलफल गरेका थिए ।

कसरी आयो बाढी ?

अविरल वर्षातका कारण मंगलबार हेलम्बु गाउँपालिकाको मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङ भास्सिएर मेलम्ची नदीको मुहान क्षेत्रमा खसेको थियो । जसले गर्दा केही समय नदी थुनियो । केही समय रोकिएर आएको मेलम्ची नदीको बहाव बढ्दै गएर विध्वंस मच्चाएको हेलम्बु–१ का अध्यक्ष मिङमार ह्योल्मोले बताए ।

सुरुमा भीषण बाढीले हेलम्बु नाकोतेको नवनिर्मित पुल बगाएको थियो । ‘अविरल वर्षातले बाढीलाई झनै जोखिममय बनायो, कहिले कहाँ पहिरो खसेर थुनिन्छ भर छैन । यसले हेलम्बुका आधा दर्जन गाउँलाई बजारक्षेत्रबाट सम्पर्क टुटाएको छ,’ उनले भने ।

तस्बिरहरू : अंगद ढकाल र हेमन्त श्रेष्ठ

प्रकाशित : असार ३, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×