बहिरा विद्यार्थीको एसईई मूल्यांकनमा सकस- समाचार - कान्तिपुर समाचार

बहिरा विद्यार्थीको एसईई मूल्यांकनमा सकस

सांकेतिक भाषाका माध्यमबाट पढ्नुपर्ने भएकाले पढाइ गुणस्तर कमजोर
‘सुन्ने क्षमता नभएका कारण गाह्रो छ, मोबाइलको सानो स्क्रिनमा सांकेतिक भाषा संकेत गरेकै देखिँदैन’
गणेश राई

काठमाडौँ — बहिरा विद्यार्थीलाई चार महिना पढाएकै आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मूल्यांकन गर्नुपर्दा सकस भएको शिक्षकले बताएका छन् । बहुअपांगता भएका र बहिरा विद्यार्थीको अनलाइन कक्षामा पहुँच पुग्न नसक्दा समस्या देखिएको हो ।

नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयका विद्यार्थी एक समारोहमा राष्ट्रगान गाउँदै । फाइल तस्बिर : गणेश राई/कान्तिपुर

‘सामान्य विद्यार्थीले वैकल्पिक कक्षा पढाउँदा बुझ्छन्,’ नक्सालस्थित केन्द्रीय बहिरा माविका प्रधानाध्यापक उपेन्द्र पराजुलीले भने, ‘बहिरा विद्यार्थीको सुन्ने क्षमता नभएको कारण गाह्रो छ । मोबाइलको सानो स्क्रिनमा सांकेतिक भाषा संकेत गरेकै देखिँदैन । त्यसैले उनीहरूको शैक्षिक गुणस्तर स्वत: कमजोर हुने देखिएको छ ।’

उक्त विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्मका ३ सय ६९ जना सबै विद्यार्थी बहिरा विद्यार्थी हुन्, जो देशभरिका ६० जिल्लाबाट आएका छन् । तीमध्ये यसपटकको एसईईमा ३८ जना र कक्षा १२ मा ३४ जना परीक्षार्थी छन् । अधिकांश विद्यार्थी उपत्यका बाहिरका भएकाले अनलाइन कक्षाका निम्ति इन्टरनेटमा पहुँच नहुँदा र पहुँच भएकाले पनि मोबाइल स्क्रिनमा सांकेतिक भाषामा पढ्न नसक्दा समस्या आएको हो । ‘गत वर्ष लकडाउन भएपछि अनलाइन कक्षा लिन सकेनौं र बीचमा चार महिनाजति भौतिक कक्षा चलायौं,’ प्रधानाध्यापक पराजुलीले भने, ‘यो पटक फेरि लकडाउन भएपछि सबै विद्यार्थी गाउँ फर्किएका छन् । यसअघि दुई पटक आन्तरिक परीक्षा लिएका थियौं । अहिले उनीहरूसित सम्पर्क हुन सकेको छैन । अब काठमाडौं महानगरपालिकाले दिएको निर्देशिकाअनुसार एसईईको मूल्यांकन गर्नेछौं ।’

कीर्तिपुरस्थित ल्याबोरेटरी माविबाट ८९ जना एसईई प्रतिस्पर्धी विद्यार्थी छन् । तीमध्ये ४ जना दृष्टिविहीन छन् । ‘दृष्टिविहीन विद्यार्थीको पठनपाठनमा खासै असर परेको छैन,’ प्रधानाध्यापक लाक्पा शेर्पाले भने, ‘उनीहरूले आँखा नदेखे पनि अनलाइन कक्षामा सुनेर बुझेका छन् । सांकेतिक भाषामात्र बुझ्ने बहिरा विद्यार्थीलाई गाह्रो भएको छ ।’

राष्ट्रिय परीक्षा बोर्डले एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७८ जारी गरेसँगै आन्तरिक मूल्यांकन हुने भएपछि दृष्टिविहीन परीक्षार्थीले यो पटक राइटर राखेर परीक्षा दिनुपर्ने झन्झट टरेको छ । विद्यालयका शिक्षकले कार्यविधिअनुसार निरन्तर मूल्यांकन पद्धति अपनाउने छन् । अनलाइन पहुँच भएर पनि सांकेतिक भाषाका माध्यमबाट पढ्नुपर्ने विद्यार्थीको पढाइ गुणस्तर कमजोर हुन पुगेको शिक्षकको ठम्याइ छ । ‘अपांगताको प्रकृतिअनुसार बहिरा विद्यार्थीले पढ्न पाएनन्,’ प्रधानाध्यापक शेर्पा भन्छन्, ‘त्यसैले शिक्षक खुम्चिएर कम नम्बर दिने वा फुर्किएर धेरै नम्बर दिने कुरो पनि हुन्न । जीपीए धेरै दिँदा मूल्यांकन कमजोर पनि हुन सक्छ । यसतर्फ हामी सचेत छौं ।’

ललितपुर महानगरपालिका–२२ बुङमतीस्थित आदर्श शौल युवक माविबाट एसईई दिनेमध्ये ७ जना अपांगता भएका छन् । तीमध्ये बहिरा २ र दृष्टिविहीन ५ जना छन् । उनीहरू विद्यालय नजिकै अपांग सेवा संघमा बस्दै आएका छन् । ‘लकडाउन भएपछि बहिरा विद्यार्थी घर गएका छन्, उनीहरूको अनलाइनमा पहुँच छैन,’ संघका संस्थापक अध्यक्ष तथा आदर्श शौल माविका शिक्षक दयाराम महर्जनले भने, ‘बहिराले पहिले दुई पटक दिएका जाँचकै आधारमा मूल्यांकन हुनेछ ।’ ती अपांगता भएका विद्यार्थीले करिब चार महिना भौतिक कक्षामा उपस्थित भएको उनले जनाए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार देशभरिमा सांकेतिक भाषामा पढाउने २२ विद्यालय छन् भने १ सय ७८ वटा स्रोत कक्षा छन् । केन्द्रको देशभरिमा ७ हजार ७ सयभन्दा बढी अपांगता भएका विद्यार्थी विद्यालय तहमा पढ्ने समावेशी शिक्षा शाखाकी निर्देशक दिव्या दवाडीले बताइन् । कोरोना महमारीले गर्दा सबैभन्दा बढी बहुअपांगता भएका विद्यार्थी अनलाइन कक्षाबाट वञ्चित हुन पुगेको उनले जनाइन् । सांकेतिक भाषाको शब्द सीमित रहेकाले पनि विद्यार्थीलाई मर्का परेको ठानिएको छ । राष्ट्रिय बहिरा महासंघले प्रकाशन गरेको ‘नेपाली सांकेतिक भाषा शब्दकोश’मा ४ हजार ७ सय हस्ताकारमा आधारित शब्द समेटिएका छन् । ‘सीमित शब्दसंकेतका कारणले पनि बहिरा विद्यार्थीले पाठ्यक्रम र पाठ्यपुस्तकमा समेटिएका विषयवस्तुबारे पर्याप्त सिकाइ हुन सकेको छैन,’ निर्देशक दवाडीले भनिन् ।

एसईई परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले यसपटक देशभर करिब ५० जना बहिरा परीक्षार्थी रहेको जनाए । ‘अपांगता भएका परीक्षार्थीलाई विशेष व्यवस्था गर्ने तयारीमा थियौं,’ उनले भने, ‘दृष्टिविहीनलाई गणित, विज्ञान र सामाजिक शिक्षा छुट्टै प्रश्नपत्रको तयारी थियो भने अन्यलाई समयअनुकूल तुल्याउन भनेका थियौं । तर महामारीले आन्तरिक मूल्यांकन पद्धति अपनाउन बाध्य तुल्यायो ।’ ऐनमा १० किसिमको अपांगता परिभाषासहित उल्लेख छ । शारीरिक अपांगता, दृष्टिसम्बन्धी अपांगता (दृष्टिविहीनता, न्यून दृष्टियुक्त र पूर्ण दृष्टिविहीन), सुनाइसम्बन्धी अपांगता (बहिरा र सुस्तश्रवण), श्रवण दृष्टिविहीन अपांगता, स्वर र बोलाइसम्बन्धी अपांगता छन् । त्यसैगरी मानसिक वा मनोसामाजिक अपांगता, बौद्धिक अपांगता, अनुवंशीय रक्तस्राव (हेमोफिलिया) सम्बन्धी अपांगता, अटिजमसम्बन्धी अपांगता र बहुअपांगता रहेका छन् ।

प्रकाशित : असार २, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

सांकेतिक भाषीका ‘टिकटक भिडियो’

नसुन्ने र नबोल्नेहरु पनि भिडियो बनाएर अभिनय कौशल तिखार्नुका साथै भावहरु आदानप्रदान गर्दै
गणेश राई

काठमाडौँ — ‘नबोली नबोली तिमीसँग नबोली

दिनै ढल्दैन है मेरो तिमलाई नहेरी

सक्छु माया दिउँला तनि,’

गीतको टुक्रा १५ सेकेन्डमा यति नै बज्न भ्यायो । राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले यही गीतमा भावभंगीबाट अभिनय प्रस्तुत गरेकी छन्, जुन जीवन्त अभिनयले बहिरा समुदायको ध्यान खिच्न सकेको थियो ।

‘रमाइलोको लागि हो टिकटक,’ दोभाषेसमेत रहेकी ढकाल भन्छिन्, ‘सबैलाई मनोरञ्जन होस् भनेर टिकटकमा भिडियो बनाएकी हो । सांकेतिक भाषामा टिकटक बनाउन धेरै मिहिनेत र अभ्यास गर्नुपर्छ । गीतअनुसार मुखको हाउभाउ, मुडअनुसारै बनाउनुपर्छ । सुन्ने मान्छेलाई अनुहार र बोलीले थाहा पाउँछ । तर नसुन्नेलाई शब्द नहुन सक्छ ।’

एक जनाले बनाएको सांकेतिक भाषाको भिडियोबाट अर्कोले देखेर नक्कल गर्न तम्सिएको ढकाल सुनाउँछिन् । ‘मैले बनाएको टिकटक हेरेपछि चितवनकी अटिजम भएकी छोरीले आमालाई आफ्नो पनि टिकटक बनाउन भनेकी छन्,’ ती बालिकाले सांकेतिक भाषा सिकेको उल्लेख गर्दै भनिन्, ‘लकडाउनको बेला छ, टिकटकलाई मनोरञ्जनका रूपमा र सूचनाका रूपमा लिएका छन् ।’

कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएयता कान नसुन्ने, बोल्न नसक्नेका निम्ति पनि टिकटकमा भिडियो बन्न थालेका छन् । मर्मस्पर्शी सांगीतिक भाकालाई सांकेतिक भाषाका माध्यमबाट हाउभाउ, हातको इसारा, मुखको चालको माध्यमबाट बहिरा समुदायले मनोरञ्जन लिने गरेका छन् ।

सुन्ने बोल्ने व्यक्तिका लागि कुरो सामान्य नै हो, तर कान नसुन्ने र बोल्न नसक्नेका लागि यो शैली नौलो छ । कुरो टिकटकको हो, जुन १५ सेकेन्डमै आफ्नो कला प्रस्तुत गर्नुपर्छ ।

बहिरा समुदायका निम्ति दोभाषेले भूमिका निर्वाह गर्नुपर्छ । ढकालका अनुसार बहिरामध्ये सिन्धुलीकी गंगामाया श्रेष्ठ टिकटक बनाउँछिन् भने कञ्चनपुरकी सुजल बम टिकटक भिडियोदेखि मोडलिङसम्म गर्न भ्याउछिन् । त्यसमा परिवारका सदस्यको महत्वपूर्ण भूमिका रहन्छ ।

वर्ष दिनअघि स्याङ्जाकी सुनाइसम्बन्धी अपांगता भएकी सुनीता थापाले सांकेतिक भाषामा बनाएको टिकटक भिडियोबारे बीबीसीले सामग्री प्रस्तुत गरेको थियो । त्यसपछि उनी चर्चामा आइन् । ‘म बोल्न र सुन्न सक्दिनँ तर टिकटकमा भिडियो बनाउँछु,’ सुनीताले भनेकी छन्, ‘बोल्न र सुन्न नसके पनि भिडियोको मैले पनि बोलेको महसुस हुन्छ । अरूले मेरो आवाज सुनेको जस्तो लाग्छ । अनि म खुसी हुन्छु ।’

कोभिड–१९ को पहिलो लहर आएपछि संकटको बेला अग्रपंक्तिमा खटिने जनशक्तिलाई सान्त्वना दिन कलाकारहरूले गीत लयबद्ध गरेर गाएका छन् । ‘तिमीलाई हाम्रो सलाम’ बोलमा एकातर्फ नारी स्वर र अर्कोतर्फ पुरुषको स्वर छ ।

‘तिम्रो पनि आफ्नो घर छ होला

तिम्रो पनि मनमा डर त होला

तिम्रा पनि छोराछोरी रुन्छन् होला


तिम्रा आमाबुबा पनि आत्तिन्छन् होला

तर पनि बन्दै निडर खटिँदै छौ हरेक प्रहर


गर्दै आफ्नो काम

तिमीलाई हाम्रो सलाम


बन्दै भरोसा सेवा गरिरहन्छौ

दुःखी मनहरुमा आशा छरिरहन्छौ


खट्छौ तिमी, अरू सबै, घरमै निदाउँदा

तिमीलाई नि रम्न मन होला अरू रमाउँदा


तर पनि बन्दै निडर खटिँदै छौ हरेक प्रहर

गर्दै आफ्नो काम

तिमीलाई हाम्रो सलाम ।

हो, प्रसिद्ध कलाकारहरूको गर्विलो सांगीतिक आवाजसँगै गुन्जिएको यही गीत सांकेतिक भाषामा अनुवाद गरेका छन्, दोभाषेद्वय सन्तोषी घिमिरे र दिनेश श्रेष्ठले । श्रेष्ठ राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका अध्यक्ष हुन् भने घिमिरे महासचिव हुन् । करिब ५ मिनेटको गीतले बहिरा समुदायलाई महामारीको बेला भिडियोमार्फत मनोरञ्जन लिने र आत्मबल बढाउन सघाउ पुर्‍याएको ठानिन्छ ।

‘महामारीले ल्याएको संकटको बेला यसरी गीतमार्फत मनोरञ्जन लिन सकिन्छ भन्ने बहिरा साथीहरूमा आत्मविश्वास जगाएको यही गीतले हो,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो गीति भिडियोलाई सांकेतीकरण गरेपछि बहिरा साथीहरूले असाध्यै मनपराउनुभएको थियो । त्यसपछिका दिनहरूमा फुर्सदमा रहेका कतिपयले गीत नसुने पनि लिपसिङ गरेर टिकटक बनाउने गरेका छन् । कतिले दोभाषेमार्फत गीतको मर्म बुझेर अभिनय गरेका छन् ।’ त्यो भिडियो अधिकले मन पराएसँगै सांकेतिक भाषामा टिकटक बन्ने क्रम अघि बढेको उनको ठम्याइ छ ।

उनका शब्दमा बहिरा व्यक्तिले म्युजिक अनुभूत गर्ने र संगीतको भाव बुझ्ने हो । कसैले भाइब्रेसनका माध्यमबाट म्युजिक बुझ्छन् न कि पूरै सुनेर, बुझेर । ‘कतिपय बहिरा साथीहरू आफैं टिकटक बनाउनुहुन्छ, अभिनय गर्नुहुन्छ,’ श्रेष्ठ भन्छन्, ‘मनोरञ्जनका निम्ति जसरी अरू व्यक्तिले गरिरहनुभएको छ, त्यसैगरी यो समुदायले पनि लिपसिङ हेरेर गरेको पाइन्छ । मनोरञ्जनसँगै कला पनि निखारिने भयो । हामीले कान नसुने पनि यतिसम्म गर्न सक्छौं भनेर क्षमता देखाउन सक्ने भए र अन्य व्यक्ति सरह नै छौं भन्ने आत्मविश्वास लिएको पाइन्छ ।’

मनोरञ्जन संविधान प्रदत्त अधिकार हो । ‘यो महामारीको बेला सबैमा मानसिक त्रास रहेको छ,’ श्रेष्ठ भन्छन्, ‘उहाँहरूले पनि मनोरञ्जनको अधिकार उपभोग गर्न पाउनुपर्छ । त्यसैले हामीजस्ता दोभाषेले सकेसम्म सुरक्षित रहेर टिकटकदेखि अन्य मनोरञ्जनका माध्यम निर्माणमा सघाइरहेका छौं ।’ कोभिडबाट बच्ने, सुरक्षित रहने, प्राकृतिक प्रकोपबाट बच्नेलगायतका महत्वपूर्ण सूचना सामग्रीहरूबारे सांकेतिक भाषामा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आएको उनले बताए ।

नेपालमा सांकेतिक भाषामा त्यत्ति धेरै भिडियो सामग्री बनेका छैनन् । विदेशतिर भने लाइभ म्युजिक कन्सर्टमा समेत दोभाषे राख्छन् । तर नेपालमा भने दोभाषे अध्ययनका निम्ति औपचारिक शिक्षालय, तालिम केन्द्रको व्यवस्था छैन । नेपालमा चारदेखि ६ महिने सांकेतिक भाषाको शब्द मात्र सिक्छन् ।

भारतलगायत मुलुकमा विश्वविद्यालयको कोर्समै सांकेतिक भाषाका लागि दोभाषेसम्बन्धी अध्ययन हुने गरेको छ । विद्यार्थीलाई बहिरा संस्कृति, भाषाविज्ञान, शब्द संकेत, अनुभवी दोभाषेसँग संगत गराएपछि लाइसेन्स दिइन्छ । नेपालमा काम गर्दै आएकालाई दोभाषेको लाइसेन्सको व्यवस्था गर्नुपर्ने र तालिम केन्द्रको स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको श्रेष्ठले बताए । अहिले कार्यरत दोभाषेहरूले बहिरा संघबाट तालिम लिए पनि पुनर्ताजगी तालिम पाउन नसकेको उनीहरूको गुनासो छ ।

देशभरिमा करिब १५ जना पूर्णकालीन दोभाषे कार्यरत छन् । दोभाषे संघमा आबद्ध करिब ३५ जना छन् । त्यसबाहेक केही बहिरा संघ, प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालय र स्थानीय तहअन्तर्गत नगरपालिकाले करारमा दोभाषेको व्यवस्था गरेको पाइन्छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×