कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बर्खा सुरुवातमै बाढीपहिरोको वितण्डा

पाल्पामा घर पुरिँदा एकको मृत्यु, बाजुरामा खोलाले बगाएर बेपत्ता दुईमध्ये एकको शव फेला, गोरखामा एक जना बेपत्ता
मनाङको चामेमा हुलाक कार्यालयसहित ५ घर बाढीले बगायो, नासोंमा गाउँ नै विस्थापित 
बागलुङमा पहिरोले १४ परिवार विस्थापित, बाढीले कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा क्षति
प्रदेश ब्युरो

काठमाडौँ — दुई दिनदेखि परेको वर्षाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुगेको छ ।

बर्खा सुरुवातमै बाढीपहिरोको वितण्डा

मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्दा नासों गाउँपालिका–१ तालगाउँ पूरै डुबानमा परेको छ । यहाँका ४८ घर डुबानमा पर्दा सिंगो गाउँ विस्थापित भएको छ ।

स्थानीय मीनराशी गुरुङले गाउँवासी पहरामुनि गएर बसेको बताए । केही लमजुङ सीमा क्षेत्र म्यार्दीभीरतर्फ आएका छन् । उनका अनुसार बाढीले गाउँको जलविद्युत्मा क्षति पुर्‍याएको छ । टेलिफोन नेटवर्क छैन । ‘हामी म्यार्दीभीरमा आएर फोन गरेका हौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार तालगाउँका स्थानीयको उद्धार गरी तालडाँडामा राखिएको छ । केही घेराङ गएका छन् ।

मनाङ सदरमुकाम चामेको हुलाक कार्यालयसहित ५ घर घट्टेखोलाको बाढीले बगाएको छ भने ५ घर डुबानमा परेका छन् । बजार क्षेत्र जोखिममा परेपछि चामेका ६० घरका ३ सय जनालाई कारागारको नयाँ भवनमा राखिएको छ । चामेमा पारिपट्टिका ५ वटा घर डुबानमा परेपछि तलेखुमा गएर बसेको स्थानीय मेलिना गुरुङले बताइन् । ‘पारिपट्टिको बाढी हेर्दै थिएँ, एक्कासि नदी बढेर आयो, भागेर तलेखु पुगेर बसेको छु, घरको अवस्था के छ, थाहा छैन,’ उनले भनिन् । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले मर्स्याङ्दीले बगाएर ल्याएको ढुंगामुढाले नदी थुनिएको बताए । बाढीले तातोपानी र त्यहाँको संरचना बगाएको छ ।

मनाङको स्यार्क्युखोलाको बाढीले भत्काएको ग्याबिन पर्खाल फोडेर खोलालाई पुरानै धारमा पठाउँदै सशस्त्र प्रहरी । तस्बिर सौजन्य : होमनाथ पन्थी

सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका गुल्मपति डीएसपी होमनाथ पन्थीका अनुसार चामे बजारलाई बाढीले ३ भागमा बाँडिदिएको छ । घट्टेखोलाको एउटा र स्यार्क्युखोलाको २ वटा पुल बगाएको छ । दुई खोलाबीच जिल्ला प्रहरी कार्यालयसहित बैंक तथा मुख्य बजार क्षेत्र छ । घट्टेखोलादेखि तलतिर नयाँबजार र स्यार्क्यु खोलादेखि माथिपट्टि नेपाली सेना, प्रशासन, अस्पताललगायत सबै कार्यालय छन् । ‘हामीले बाढीबाट नागरिकका घर जोगाउने प्रयास गर्‍यौं । बाढीमै पसेर प्रयास गर्‍यौं । तर, सकिएको छैन,’ उनले भने ।

वर्षाले चामे–१ तिमाङ खोलाको बेलिब्रिज बगाउनुका साथै ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् आयोजना बगाएको छ । बेंसीसहर–चामे सडकको ठाउँठाउँमा बाढीले काठेपुल बगाएको छ । धारापानीमा एउटा घर बगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

बाढीपहिरोले बागलुङका १४ घरपरिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–७ मा ८ र काठेखोला–७ का ५ घर विस्थापित भएका हुन् । काठेखोलाको रेसमा ग्रामीण सडकको पहिरो खस्दा स्थानीय चित्रबहादुर कार्की, कृष्ण जीसी, बलबहादुर जीसीसहितका परिवार विस्थापित भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । पहिरो खसिरहेकाले जमिन भासिएको र घरहरू जोखिममा परेपछि छिमेकीको घरमा बस्न लगाइएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । उद्धारका लागि जिल्लाबाट प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा सुरक्षाटोली गाउँ पुगेको थियो ।

पहिरोले म्याग्दीका अधिकांश सडक अवरुद्ध भएका छन् । बेनी–जोमसोम सडक सोमबारदेखि नै अवरुद्ध छ । चमेरे, तिप्ल्याङ, भीरकाटे, तातोपानी, जलथले, गुइठे, काप्रेभीरमा पहिरोले र म्याग्दीको बेगखोला, रुप्सेखोला र मुस्ताङको कैकुखोला, मार्फाखोला, पान्डाखोला तथा लुप्रा खोलामा खहरेबाट लेदोसहितको बाढी आएकाले पैदल यात्रासमेत बन्द छ ।

कालीगण्डकी, राहुघाट र म्याग्दी नदीमा बाढीको सतह बढ्दै गएपछि तटीय बस्तीमा कटानको त्रास बढेको छ । अन्नपूर्ण गाउँपालिकाको घार र महभीरका ३ घर पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सारिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले सडककै कारण पहिरो खसेको बताए । धवलागिरि गाउँपालिका–६ मराङको कुम्रीमा लगातारको झरीपछि यो वर्ष पनि पहिरो खस्दा कुम्री बस्ती बग्न थालेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

पर्वतको कुश्मा–१ सहस्रधारामा खसेको पहिरोले मध्यपहाडी सडक (पुष्पलाल मार्ग) मंगलबार दिनभर अवरुद्ध भयो । कालीगण्डकीमा आएको बाढीका कारण नदीसतह उच्च हुँदा बिहादी–६ मा पर्ने सेतीबेणी बजारका दर्जनभन्दा बढी घर तथा मठमन्दिर डुबानमा परेका छन् । मालढुंगा–बेनी सडकखण्डको आधा दर्जन स्थानमा खसेका पहिराले दिनभरजसो उक्त सडकमा सवारी आवागमन रोकियो । पर्वत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रदीप पौडेलले सहस्राधारामा ढुंगा खसेर सडक अवरुद्ध भएको बताए । पहिरोले अधिकांश सडक अवरुद्ध छन् । बिहानदेखि कालीगण्डकी र स्थानीय सेतीखोलाको सतह पसेपछि बिहादी गाउँपालिका–६ मा पर्ने सेतीबेणी बजारक्षेत्र डुबानमा परेको छ । कालीगण्डकी किनारमा रहेको शालिग्राम शिला, संस्कृत विद्याश्रम, मन्दिर, धर्मशाला लगायतका संरचना डुबेका छन् ।

पाल्पाको रिब्दीकोट–४ भैरवस्थानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । भैरवस्थानको मन्छीगाउँ बस्ने महेन्द्र भट्टराई क्षत्रीको घरमाथिबाट पहिरो खसेर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको हो । मदनलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वालीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरमाथिबाट खसेको पहिरोले घरलाई पूर्ण क्षति पुगेको छ । घरमा आमाछोरा बस्दै आएकामा आमा बाहिर रहेकाले उनी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको गोडेपुलनजिकै जगबाटै सडक बगाएको छ । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको थियो । दिउँसो नै पहिरो खसेको थियो ।

यसैबीच तिनाउ नदीमा बाढीले सतह पार गरेको छ । विगतका वर्षमा बग्ने तिनाउ नदीको सतह यस वर्ष २०३८ सालपछिकै बाढी आएको तिनाउ–३, झुम्साका कृष्णप्रसाद पाण्डेयले बताए । तिनाउ नदीमा आएको बाढीले दायाँबायाँ भागमा कटान गरेको छ । तिनाउ नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रमा पनि सावधानी अपनाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले २ वटा एक्स्काभेटर, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटरलगायत सामग्री बगाएको आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । पोखरा–१५ कै अमिनतरामा जमिन भासिएर गएको पहिरोले ४५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी पुरिएको छ ।

माछापुच्छ्रे गाउँपालिका–८ का मोतिलाल विकको घर भासिँदा ९ जनाको परिवार विस्थापित भएको छ । अन्नपूर्ण गाउँपालिका–८ मा वीरेठाँटी–घोरेपानी सडक खण्डमा पहिरो जाँदा ४ घर विस्थापित भएका छन् । मोदीखोलामा पानीको बहाव बढ्दा वीरेठाँटीका ६ घर जोखिममा रहेको प्रहरीले जनाएको छ ।

गोरखाको आरुघाट गाउँपालिका–२ ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएका छन् । ट्रक मर्मतको कामका लागि गोरखा बस्दै आएका चौधरीलाई कटुन्जे जाँदै गर्दा मंगलबार बिहान खोलाको भेलले बगाएको डीएसपी प्रकाश दाहालले बताए । स्थानीयको सहयोगमा मान्वु प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीबाट खोजी भइरहेको छ ।

तनहुँ हुँदै बग्ने साना ठूला खोला तथा नदीमा पानीको बहाव उच्च भएको र केही क्षेत्र बाढी र पहिरोको जोखिम छन् । निरन्तर परिरहेको पानीले मादी, सेती, मर्स्याङ्दी नदी तथा अन्य खहरे खोलामा पानीको बहाव बढ्दो छ । नदी तथा खोलामा बाढी आएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ ।

गण्डक ब्यारेजका सबै ढोका खोलियो

लगातारको वर्षाले नारायणीको बहाव उच्च भएपछि मंगलबार साँझ यहाँस्थित गण्डक ब्यारेजका नेपाल र भारततर्फका सबै ढोका खोलिएको छ । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारासिंह थापाले बताए । उनका अनुसार मंगलबार साँझ ब्यारेजमा २ लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले ब्यारेजमा २ लाख ६७ हजार २ सय क्युसेक पानीको प्रवाह खतराको सूचक मानिन्छ ।

नवलपरासीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा मंगलबार बढेको पानीको सतह । खतराको सूचक पार गरेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । तस्बिर : नवीन पौडेल/कान्तिपुर

नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासनले गण्डक क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरेको छ । नारायणीका साथै सहायक खोलामा पनि पानीको सतह ह्वात्तै बढेको छ । जसका कारण जिल्लाको पाल्हीनन्दन १ मा ५०, सरावल २ मा ६० र सुस्ता गाउँपालिका ५ मा ३० घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा डुबान भएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि निर्माण गरिएको डाइभर्सन भत्किँदा सवारीसाधन रोकिएका छन् । दाउन्ने सडक खण्डमा सानाठूला गरेर पाँच स्थानमा पहिरो र घ्यु खोलामा सडक भासिएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी राजु लामाले बताए ।

सुदूरपश्चिमका सडक अवरुद्ध

लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पहिरो खसेर सडक आवागमन अवरुद्ध भएको छ । सडकमा पहिरो खसेर अछामको साँफे–मार्तडी सडक खण्ड सोमबारदेखि नै अवरुद्ध छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्र थापाले दिएको जानकारीअनुसार धनगढी–डडेलधुरा खण्डको हगुल्टेनजिक पहिरोले अवरुद्ध सडक मंगलबार साँझ एकतर्फी खुलेको छ ।

यस्तै खोडपे–बझाङ सडकको चैनपुरनजिक र ढोल्यामोडमा पहिरोले अवरुद्ध भएको प्रहरी उपरीक्षक थापाले बताए । सबैभन्दा बढी प्रभावित साँफेबगर–मार्तडी सडक खण्डअन्तर्गत ताप्रीसेरा र बल्देमा सडक अवरुद्ध भएको उनले बताए । नदीमा पानीको बहाव बढेकाले अहिलेसम्म बाटो खुलाउने प्रयास सफल भएको छैन । बाजुरामा दुई बेग्लाबेग्लै खोलाको बाढीले बगाएर सोमबार बेपत्ता भएकामध्ये एक जनाको शव मंगलबार फेला परेको छ ।

बाजुराको बूढीनन्दा नगपालिका–३ सिराडीको लौठी रूखकी ३५ वर्षीया मोतीकला लुहारको सोमबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले बताए । किम्नी खोलाले बगाएर बेपत्ता भएका बाजुराकै त्रिवेणी नगरपालिकामा–५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढाको खोजी जारी रहेको साउदले बताए ।

मेलम्चीमा भीषण बाढी

ह्योल्मोभूमि हेलम्बु हुँदै मंगलबार आएको बाढीले इन्द्रावती, मेलम्चीलगायतका करिडोर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका क्षेत्रको नाकते हुँदै मेलम्ची नदीमा मंगलबार आएको बाढी । तस्बिर सौजन्य : हेलम्बु गाउँपालिका

दिउँसोदेखिको अविरल वर्षाका कारण मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फार्म, रिसोर्टमा क्षति पुर्‍याएको छ । त्यहाँ काम गर्ने केहीलाई बगाएर बेपत्ता बनाएको आशंका गरिएको प्रहरीले जनाएको छ । बाढीले केही जनालाई बेपत्ता बनाएको अपुष्ट खबर आए पनि मंगलबार अबेर रातिसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बुदेखि मेलम्ची बजार क्षेत्रभन्दा तल्ला भेगसम्मका स्थानीयसँग सोधपुछका आधारमा ३ जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ । ‘अहिले सुरक्षामा र तत्कालीन व्यवस्थापन उद्धारमा व्यस्त छौं, कति जना को–को भन्ने सम्पूर्ण विवरण प्रस्ट खुलेको छैन, बाढीले नदी किनारका संरचना तहसनहस बनाएकोबारे बुझ्दैछौं,’ उनले भने । अविरल वर्षाले मुहानस्थलबाट नै उर्लिएर आएको मेलम्चीको बाढी हेलम्बु पुगेपछि त्रसित स्थानीय र सुरक्षाकर्मी सुरक्षित स्थानमा सरेको उनले सुनाए । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाव बेलुकी करिब ६ बजेबाट क्रमशः बढ्दै आएको थियो ।

मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प क्षतिग्रस्त बनाएर उर्लिएको बाढीले क्रमशः वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार र गाउँ क्षेत्रमा भागभाग चलेको थियो । बाढीले आयोजनाको मुहानस्थल अम्बाथानस्थित कामदार बस्ने क्याम्प र सशस्त्र प्रहरी क्याम्पमा क्षति पुर्‍याएको छ । हेलम्बु प्रहरी चौकीमा पनि क्षति पुगेको डीएसपी सापकोटाले बताए ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार हेलम्बु भेगमा मात्रै ४/५ जना बेपत्ता भएको अनुमान छ । मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको नदीले हेलम्बु– २ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फार्म, रिसोर्टसहित केही घर बगाएको छ । ‘जताततै पुल सडक बगाएको छ, जसबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन,’ उनले भने ।

हेलम्बु गाउँपालिका–२ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मेलम्ची नगरका स्थानीय सुचिन सुवेदीले इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल मेलम्ची नदीले बगाएको बताए ।

मेलम्ची नदी किनार क्षेत्रका केही घरमा बाढी पस्ने जोखिम भएपछि त्यहाँका मानिसलाई स्थानीय विद्यालयमा ल्याएर आश्रय दिइएको स्थानीयले बताएका छन् । त्यसैगरी भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।

-अनिश तिवारी (सिन्धुपाल्चोक), आश गुरुङ (लमजुङ), प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी), अगन्धर तिवारी (पर्वत), माधव अर्याल (पाल्पा), दीपक परियार (पोखरा), हरिराम उप्रेती (गोरखा), नारायण शर्मा (पूर्वी नवलपरासी), सम्झना रसाइली (तनहुँ), नवीन पौडेल (परासी) र चित्रांग थापा (धनगढी)

प्रकाशित : असार २, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?