कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण ओरालो लाग्दै

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को परीक्षण र संक्रमितको संख्या कम हुँदै गएको छ । निषेधाज्ञाको छैटौं सातामा प्रत्येक साता संक्रमण संख्या ६१ हजारसम्म पुगेको थियो, अहिले घटेर करिब २१ हजारमा झरेको छ । 

संक्रमण ओरालो लाग्दै

कोभिडको दोस्रो लहर आएपछि जेठको पहिलो साता पीसीआर परीक्षणमा ५२ प्रतिशतसम्म पोजिटिभ देखिएकामा मंगलबार २२.५६ प्रतिशत पोजिटिभ केस देखिएको छ । हरेक दिन थोरै–थोरै प्रतिशतले संक्रमण घट्दै गएको छ । सात दिनअघि जेठ २६ गते १२ हजार ४७ नमुनाको पीसीआर परीक्षण गर्दा २८.६२ प्रतिशत अर्थात् ३ हजार ४ सय ४९ जना संक्रमित देखिएका थिए भने मंगलबार ७ हजार ४ सय ४९ को पीसीआर गर्दा २२.५६ प्रतिशत अर्थात् १ हजार ६ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । ४१ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले लक्षण देखिएका बिरामीको पीसीआर परीक्षण निःशुल्क गरिए पनि कुल परीक्षण क्षमताभन्दा आधा जति मात्र बिरामी आउने गरेको बताए । ‘विभिन्न कारणले परीक्षण दर घट्दो देखिएको छ,’ उनले भने, ‘शंकास्पद व्यक्ति हिच्किचाइरहेका छन् । सामान्य लक्षण भएका धेरै जना परीक्षण नगरी बसेका छन् ।’ गम्भीर स्वास्थ्य अवस्था भएर अस्पताल पुगेर परीक्षण गराउनेको संख्यामा समेत कमी आएको उनको भनाइ छ । ‘यो सकारात्मक सन्देश हो, निषेधाज्ञा खुकुलो हुँदै गर्दा जनस्वास्थ्यको मापदण्ड कडाइसाथ पालना नगरिए संक्रमण यही स्थितिमा रहला भन्ने छैन, संक्रमण बढ्ने जोखिम रहन्छ,’ डा. पौडेलले भने ।

हाल औसत संक्रमण दर २२.५ प्रतिशत देखिएको छ । राजधानी काठमाडौंलगायत देशभर कोभिडका बिरामीले बेड र आईसीयू तुलनात्मक रूपले सहजै पाउन थालेका छन् ।

संक्रमण घट्दो देखिए पनि बाहिरी जिल्लाबाट गम्भीर बिरामी उपचारका लागि काठमाडौं आउने क्रम भने रोकिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरले स्वास्थ्य संस्थामा पहिलेको दाँजोमा कम चाप देखिएको वास्तविक अवस्था पहिल्याउन र संक्रमण विस्तारमा कमी ल्याउन परीक्षणको संख्या झन् बढाउनुपर्ने बताए । ‘परीक्षण बढाउँदा केही सातासम्म संक्रमितको संख्यामा उल्लेख्य कमी देखिए मात्रै सकारात्मक अवस्था आकलन गर्न सकिन्छ,’ उनले भने ।

कोभिडका गम्भीर बिरामी अझै पनि सघन उपचार कक्षमा छन् । सात दिनअघि गम्भीर भएका १ हजार ३ सय १२ जना आईसीयूमा र ३ सय ७५ जना भेन्टिलेटरमा थिए । मंगलबार ९ सय ६७ जना आईसीयू र २ सय ८५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

देशभर भएका कुल आईसीयू बिरामीको ५५.३२ प्रतिशत अर्थात् ५ सय ३५ जना र कुल भेन्टिलेटरमा भएका बिरामीको ६१.४० प्रतिशत अर्थात् १ सय ७५ जना वाग्मती प्रदेशमा छन् । देशभरि आईसीयूमा रहेकामध्ये २७.१९ प्रतिशत अर्थात् २ सय ६३ जना र भेन्टिलेटरमा रहेका कुल बिरामीको ३१.९२ प्रतिशत अर्थात् ९१ जना काठमाडौं उपत्यकामा छन् । ४३ जिल्लामा हाल ५ सयभन्दा बढी र १५ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोभिडका कारण हालसम्म ८ हजार ५ सय ६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार यसरी ज्यान गुमाउनेहरूमा प्रदेश १ का १ हजार ६८, प्रदेश २ का ६ सय ९९, वाग्मतीका ३ हजार ६ सय ६१, गण्डकीका ८ सय ३८, लुम्बिनीका १ हजार ४ सय ६८, कर्णालीका ३ सय ५१ र सुदूरपश्चिमका ४ सय २१ जना छन् ।

कुल ६३ हजार २ सय ५७ सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै ३७.९३ प्रतिशत वाग्मती प्रदेशमा छन् । देशभरका सक्रिय संक्रमितमध्ये १२.२५ प्रतिशत काठमाडौंमा, ५.०६ प्रतिशत ललितपुरमा र ३.६६ प्रतिशत भक्तपुरमा छन् । वाग्मतीपछि सबैभन्दा बढी १६.२२ प्रतिशत सक्रिय संक्रमित लुम्बिनीमा छन् । प्रदेश १ मा ११.८२ प्रतिशत, गण्डकीमा १०.०६ प्रतिशत, प्रदेश २ मा ९.४७ प्रतिशत, सुदूरपश्चिममा ८.९२ प्रतिशत र कर्णालीमा ५.५४ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा कम रुकुम पूर्व, मुगु र बाजुरामा ६–६ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : असार २, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?