कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपक्षी गठबन्धनलाई थप बलियो बनाउन शीर्ष नेताहरुबीच सहमति

अदालतको निष्पक्षता र विश्वास प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ — विपक्षी गठबन्धनलाई थप बलियो बनाउन सम्बद्ध दलका शीर्ष नेताहरुबीच सहमति बनेको छ ।

विपक्षी गठबन्धनलाई थप बलियो बनाउन शीर्ष नेताहरुबीच सहमति

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल भएको थियो ।

उक्त छलफलमा राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको हो ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेताहरुले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्नेमा पुन: स्पष्टता जनाएका छन् । उनका अनुसार नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रममाथि पनि समीक्षा भएको छ ।

यसबाहेक नेताहरुले ‘आपसी सम्बन्ध बलियो बनाउने तथा एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता’ पनि जनाएको गौतमले बताए ।

कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत नेताहरुले माग गरेका छन् ।

यसैगरी, गठबन्धनका नेताहरुले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल भएको र अदालतको निष्पक्षतामा र विश्वास प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा गठबन्धनका नेताहरुले आंशका गरेका छन् । उनीहरुले यस्ता निकायबाट निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण पनि गराएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि गौतमले बताए ।

छलफलमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?