कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमा बेड खाली हुन थाले

दोस्रो लहरको उच्च बिन्दुबाट संक्रमण घट्दै गए पनि जोखिम कायमै छ । – डा. कृष्ण पौडेल, प्रवक्ता, स्वास्थ्य मन्त्रालय
मकर श्रेष्ठ

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न जनरल र एचडीयू गरी ३ सय ३९ बेड छुट्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अस्पतालमा शनिबार २ सय १३ बेड खाली छन् । ‘एक सातायता दिनमा १०–१२ जना मात्रै भर्ना भइरहेका छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले भने, ‘यसले संक्रमित हुनेको संख्या घट्दै गएको देखाउँछ ।’ 

अस्पतालमा बेड खाली हुन थाले

पाटन अस्पतालमा पनि १ सय ६२ वटा जनरल बेड खाली छन् । यहाँ २ सय ७० जनरल र एचडीयू बेड संक्रमितका लागि छुट्याइएको थियो । अस्पतालमा १ सय ८ जना संक्रमित उपचाररत छन् । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४४ बेड खाली छन् । संक्रमण उच्च भएका बेला टेकु र त्रिवि शिक्षण अस्पताल बाहिर राखेर बिरामीको उपचार गर्नुपरेको थियो । भक्तपुर अस्पतालका ७३ बेडमध्ये २२ बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार धुलिखेलसहित काठमाडौं उपत्यकाका २१ वटा सरकारी र निजी अस्पतालमा कोरोना संक्रमितका लागि २ हजार ७ सय ६९ जनरल र एचडीयू शय्या रहेकामा शनिबार २ बजेसम्म १ हजार १८ जना मात्रै उपचाररत छन् । २१ वटा अस्पतालमा १ हजार ७ सय ५१ शय्या खाली छन् । उपत्यकाका निजी र सामुदायिक अस्पतालमा संक्रमितको चाप घटे पनि आईसीयू पाउन भने अझै पनि गाह्रो छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनमा २ हजारभन्दा बढी देखिन थालेपछि वैशाख १६ देखि लागू गरिएको निषेधाज्ञा अझै जारी छ । संक्रमण उच्च भएको वैशाख अन्तिम साता काठमाडौं उपत्यकामा दिनमा ४ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । त्यो बेला संक्रमितलाई अस्पताल बाहिरै राखेरसमेत उपचार गर्नुपरेको थियो । काठमाडौं उपत्यकामा शनिबार सबैभन्दा कम ५ सय ९८ मा संक्रमण पुष्टि भएको छ । जुन देशभरि देखिएको कुल संक्रमितको १७ प्रतिशत हो । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकमा उपत्यकाका आठवटा ल्याबको पीसीआर परीक्षणको विवरण भने समावेश गरेको छैन । ‘शनिबार भएकाले ल्याबले विवरण नपठाएको हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले भने । उपत्यकाको अस्पतालमा भर्ना हुने कम हुनुले पनि संक्रमण दर घटेको प्रस्ट हुने उनले बताए । दोस्रो लहरको उच्च बिन्दुबाट संक्रमण घट्दै गए पनि जोखिम कायमै रहेको उनको भनाइ छ ।

जेठ पहिलो साता देशभरिमा देखिएका संक्रमितमध्ये ३३.४८ प्रतिशत काठमाडौं उपत्यकामा थिए । जेठ १ देखि ७ गतेसम्मको देशभरको दैनिक औसत परीक्षण संख्या २१ हजार २ सय ३६ थियो । यस्तै, जेठ ८ देखि १४ गतेसम्म उपत्यकासहित देशभरिको दैनिक औसत परीक्षण संख्या २० हजार ६ सय ५३ मा झर्‍यो । त्यस अवधिमा भेटिएका संक्रमितमध्ये ३१ दशमलव २१ प्रतिशत उपत्यकाका थिए । जेठ १५ देखि २१ सम्ममा फेला परेका संक्रमितमध्ये उपत्यकाका २५ दशमलव ९२ प्रतिशत थिए । चैत २२ देखि २८ गतेको परीक्षणमा पाइएका संक्रमितमध्ये उपत्यकाको हिस्सा २४.१० प्रतिशतमा झर्‍यो । स्वाब परीक्षण भने चौथो साता दिनमा औसत १६ हजार हाराहारी नमुनामा सीमित भयो । संक्रमण जेठ पहिलो साताको तुलनामा अन्तिम सातामा ९ प्रतिशतले घटेको देखिन्छ । स्वाब परीक्षणको दर २३ प्रतिशत घटेको छ । शनिबार देशभरि देखिएका संक्रमितमध्ये १७ दशमलव ६७ प्रतिशत मात्रै काठमाडौं, भक्तपुर र ललितपुरका छन् । शनिबार काठमाडौंमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

३३८४ संक्रमित थपिए, ६२९५ निको

पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको परीक्षण गर्दा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा ६ हजार २९५ जना निको भएका छन् भने ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमित ११.७५ प्रतिशत अर्थात् ७१ हजार ३०० छ ।

प्रकाशित : जेष्ठ ३०, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?