कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक इन्च पनि भूमि कसैलाई अतिक्रमण गर्न दिँदैनौं : गृहमन्त्री अधिकारी

काठमाडौँ — गृहमन्त्री खगराज अधिकारीले नेपालको भूमि अतिक्रमण अस्वीकार्य रहेको बताएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक सशस्त्र प्रहरी बल (एपीएफ) प्रधान कार्यालयको निरीक्षणमा पुगेका मन्त्री अधिकारीले नेपाल सदियौंदेखि स्वतन्त्र र सार्वभौम राष्ट्र भएको र त्यसलाई बचाइराख्न देशको एक इन्च पनि भूमि कसैलाई अतिक्रमण गर्न नदिइने बताए ।

एक इन्च पनि भूमि कसैलाई अतिक्रमण गर्न दिँदैनौं : गृहमन्त्री अधिकारी

मन्त्री अधिकारीले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई सशक्त र साधनस्रोत सम्पन्न बनाइने पनि स्पष्ट पारे । ‘सदियौंदेखी सार्वभौम र सगरमाथाको देशका साथै कसैको पनि उपनिवेश नभएको नेपाललाई कसैको एक इन्च पनि जमिन चाहिदैन र हामी पनि आफ्नो भूमि अतिक्रमण स्वीकार्दैनौं,’ मन्त्री अधिकारीले भने, ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको उपस्थिति मजबुद पारिएको छ, यसलाई अझ सशक्त बनाउछौं ।’

उनले सीमा सुरक्षा एवं कोभिड संकट व्यवस्थापनका क्रममा सीमाबाट हुने आवागमन नियन्त्रण तथा नियमनमा सशस्त्र प्रहरीको योगदान उच्च रहेको बताए । उनले आफू शासक नभई साथी रहेको बताएका थिए । ‘म शासक होइन, तपाईंहरु सबैको साथी हो, बिसम परिस्थितिमा सशस्त्र प्रहरीले निभाएको भूमिका प्रशंसनीय छ, बिसम र प्रतिकूल परिस्थितिमा स्थापना भएको फौजलाई सशक्त पार्न कुनैपनि कसरत बाँकी राखिने छैन ।’

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनमा शून्य सहनशीलताको नीति अपनाउँदै तोकिएका जिम्मेवारी सोही अनुसार सम्पादन गरिएको बताए । सीमा सुरक्षा सरकारको उच्च प्राथमिकतामा परेको र त्यसलाई सार्थकता दिनकै लागि सशस्त्रलाई ताप्लेजुङको ओलाङचुङगोला देखि दार्चुलाको छाङरु तथा नवलपरासीको सुस्तादेखि कञ्चनपुरको ब्रम्हदेवसम्म सशस्त्रका गण/गुल्म तथा बीओपीहरु विस्तार गरिएको बताए । गृहमन्त्रीको निरीक्षण कार्यक्रममा उपत्यकाभित्र उपलब्ध प्रहरी निरीक्षक र त्यसभन्दामाथिका सबै दर्जाका अधिकृत सहभागी थिए भने देशभरका प्रहरी युनिटमा मन्त्रीको निर्देशन सम्बोधन सुन्ने व्यवस्था गरिएको थियो ।

निर्वाचन तयारीमा जुट्न निर्देशन

गृहमन्त्री खगराज अधिकारीले शनिबार प्रहरी प्रधान कार्यालयको पनि निरीक्षण गरी शान्तिसुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रण र सांगठनिक संरचनाबारे जानकारी लिएका छन् ।

मन्त्री अधिकारी गृहसचिव महेश्वर न्यौपाने र अन्य अधिकृतहरुका साथ शनिबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर संगठनबारे जानकारी लिएका थिए । त्यसपछि आयोजित कार्यक्रममा अधिकारीले कोभिड संकटकाबीच अपराध अनुसन्धान तथा नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन र संकट विरुद्ध चालिएका प्रतिकार्य योजना कार्यान्वयनमा प्रहरीले निर्वाह गरेको योगदान अतुलनीय रहेको बताएका हुन् । उनले आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि तय भएको निर्वाचन सुरक्षा तयारीमा केन्द्रीत हुन पनि निर्देशन दिए । अधिकारीले सातवटै प्रदेश प्रहरी प्रमुखहरुलाई समेत भिडयो सम्बोधन मार्फत मातहत क्षेत्रको शान्ति सुरक्षा प्रभावकारी तथा अपराध अनुसन्धान/नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका थिए ।

गृहमन्त्री अधिकारीले कोभिड–१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए ।

त्यसक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको र कोभिड व्यवस्थापन, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा प्रहरी कटिबद्ध भएर लागेको बताए ।

प्रकाशित : जेष्ठ २९, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?