कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीबारे वैद्यको आपत्तिजनक अभिव्यक्ति, चौतर्फी आलोचना 

अभिव्यक्ति फिर्ता लिएर माफी माग्न पार्टीको निर्देशन 

काठमाडौँ — वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । कांग्रेस सांसद् वैद्यले प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । 

प्रधानमन्त्रीबारे वैद्यको आपत्तिजनक अभिव्यक्ति, चौतर्फी आलोचना 

वैद्यले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिएर निशर्त माफी माग्नुपर्ने कांग्रेसका नेताहरूले नै बताएका छन् । वैद्यले प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप लगाएका थिए । 'ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,' त्यसपछि वैद्यले भनेका थिए, 'खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?'

सभा सञ्चालन गरिरहेका सांसदले रोक्न खोज्दा पनि वैद्यले आफ्नो अभिव्यक्ति जारी राखेका थिए । उक्त बैठकमा मुख्यमन्त्री डोरमणी पौडेललगायत सबैजसो सांसद उपस्थित थिए । तर, कुनै पनि दलका प्रमुख सचेतक, सचेतक र सांसदले उनको अभिव्यक्तिमा आपत्ति भने जनाएका थिएनन् ।

वैद्यको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्न निर्देशन दिएका छन् । उनले संयम गुमाउन नपाइने बताएका छन् । 'सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन,' उनले भनेका छन् । उनले पार्टीको तर्फबाट अभिव्यक्ति फिर्ता लिन निर्देशन दिइसकिएको पनि जानकारी दिएका छन् ।

वागमती प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले सांसद वैद्यको अभिव्यक्तिले पार्टीको गम्भीर ध्यानार्षण भएको बताएका छन् । उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन दिँदै उनले भनेका छन्, 'कांग्रेस सांसद नरोत्तम वैद्यले आज वागमती प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु ।'

उक्त अभिव्यक्तिको नेकपा (एमाले)का नेता योगेश भट्टराईले विरोध गर्दै वैद्यले तत्काल माफी माग्नुपर्ने बताएका छन् । उनले लेखेका छन्, 'वागमती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।'

एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीबारे त्यस्तो अभिव्यक्ति दिने वैद्यलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएका छन् । 'माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम वैद्यले प्रदेश सभामा खुल्लम खुल्ला बोलिरहेका छन् । यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ,' उनको माग छ ।

प्रकाशित : जेष्ठ २९, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?