कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्मी छल्न खोज्दा पोखरीमै गयो ५ बालिकाको ज्यान

सन्तोष सिंह

धनुषा — धनुषाको मुखियापट्टी मुसरनिया–६ की १२ वर्षीया लक्ष्मीनिया यादव शुक्रबार बिहानै ट्युसन पढेर घर फर्के । घर पुगेर रोटी तरकारी खाएपछि साथीहरुसँग बाख्र लिएर चौरी (खेतको ठूलो फाँट) तर्फ लागे । बाख्रा चराउने समूहमा १० देखि १४ वर्षसम्की ५ बालिका र ३ बालक थिए । 

गर्मी छल्न खोज्दा पोखरीमै गयो ५ बालिकाको ज्यान

खेतमा बाली नभएका कारण बाख्रा छोडेर समूहमै उनीहरु खेल्न थाले । मध्याह्नको घाम चर्को भएपछि खेल्दै गरेका बालबालिकाहरु तिर्खाए । प्यास मेट्न सडक छेउको कलमा पानी खान पुगे । पानी खाएर पनि लक्ष्मीनिया र उनका साथीको प्यास मेटिएन । चौरीतर्फ फर्किंदै गर्दा पाँचै जनाले नुहाउने योजना बनाए । लक्ष्मीनियाले ५ जना साथी हात जोडरे समूहमै पोखरीमा हाम फाले ।

गर्मीमा नुहाएर शितलताको आन्नद लिन पोखरीमा हाम फालेकी नातिनीको ज्यान गएपछि भकानिँदै हजुरबुबा रामलक्ष्मण यादवले भने, ‘एकमात्रै नातिनी थिइ । दुलारी थिइ । गरिब भए पनि उनलाई पढाएर ठूलो बनाउने सपना थियो । सबै सपना पोखरीमै डुब्यो ।’ उनका अनुसार लक्ष्मीनिया कहिलेकाहीं बाख्रा चराउन जान्थिन् ।

शुक्रबार लक्ष्मीनियासँगै पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ । उनीहरुसँगै रहेको ३ जना बालकको ज्यान जोगिएको स्थानीय अरुण यादवले बताए । साना २ जना बालकलाई डुब्नै लाग्दा अर्काले बाहिर तानेर ज्यान जोगाएको यादवले बताए ।

निर्माणधीन पोखरीमा वर्षा हुँदा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो । पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र यादवका १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी र उतीम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए । पोखरीमा डुबेर मृत्यु भएका बालिकाहरुको शव स्थानीयले निकालेका थिए ।

भावविह्वल परिवारजन

'गरिब परिवारका बालबालिका बाख्रा चराउन जाँदा पहिले पनि जमेको पानीमा नुहाउने गर्थे', प्रहरी नायव उपरीक्षक मिश्रले भने,‘बच्चाहरु डुबेर मृत्यु भएको पाखेरी खन्ने क्रममा रहेको छ । पोखरी पूर्वतर्फ ५ फिटमात्रै गहिरो छ । पश्चिमतर्फ १० फिट गहिरो छ । पश्चिम तर्फबाट हाम फालेका बालिकाहरु निस्किन पाएन ।’ बालिकाहरुसँगै रहेका बालकको भने ज्यान जोगिएको मिश्रले बताए ।

'गाउँमा गएर बालिका डुबेको जानकारी दिने बालक डराएका कारण सोधपुछ हुन सकेन', मिश्रले भने,‘गरिब परिवारका बालिकाहरुको डुबेर मृत्यु भएको हो ।’ मृतक बालिकाहरुको शव शुक्रबार साझ पोस्टमार्टमका लागि जनकपुर ल्याइएको छ ।

५ बालिकाको मृत्युले गाउँ शोकमा डुबेको छ । एक महिनाअघि मुखियापट्टी मुसरनिया–५ का हुलास यादवले पोखरी खन्न सुरु गरेका थिए । तर, दाजुभाइबीच विवाद हुँदा पोखरीको काम रोकिएको हुलासका बुबा परीक्षण यादवले बताए । मालापोत कार्यालय बन्द हुँदा छोराहरुबीच अंशवण्डा हुन नसक्दा पोखरी निर्माण रोकिएको बुबा रामपरीक्षणले बताए । बालिकाहरुको मृत्युपछि यादव परिवार फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?