कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुर्‍याउलान् त ठाकुर–महतोले पार्टीमा बहुमत ?

पूर्वराजपा धार छाड्ने डरले यादवलाई मन्त्री
प्रतिनिधिसभा विघटनपछि संसदीय दलको शक्तिसमेत गुमेपछि केन्द्रीय कार्यकारिणी समितिमा बहुमत जुटाउन अझै कसरत
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले २५ सदस्यीय मन्त्रिपरिषद्मा तत्कालीन प्रतिनिधिसभामा २० सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई मात्रै ११ मन्त्री दिएका छन् । यसअघि जसपाको ठाकुर पक्षलाई ८ मन्त्रालयसहित १० मन्त्री बनाएका ओलीले बिहीबारको मन्त्रिपरिषद् विस्तारमा राजकिशोर यादवलाई मन्त्री बनाएका हुन् ।

पुर्‍याउलान् त ठाकुर–महतोले पार्टीमा बहुमत ?

यादव पूर्वराजपाको अध्यक्ष मण्डलका सदस्य हुन् । यसअघिको मन्त्रिपरिषद् विस्तारमा नपरेपछि उनी असन्तुष्ट थिए । पूर्वराजपा धार छाडेर अर्का अध्यक्ष उपेद्र यादव समूहमा जाने चर्चा चलिरहेकै बेला अध्यक्ष ठाकुर र वरिष्ठ नेतासमेत रहेका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोकै आग्रहमा उनलाई मन्त्री बनाइएको हो ।

पार्टीमा अल्पमतमा रहेको ठाकुर–महतो पक्षले बहुमत जुटाएर पार्टीको वैधानिकता लिन चाहेको छ । त्यसका लागि सत्ता र विभिन्न शक्तिमार्फत ठाकुर र महतोले कसरत गरिरहेका छन् । बहुमत पुर्‍याइदिनकै लागि प्रधानमन्त्री ओलीले उनीहरूले मागे जति नै मन्त्री दिएका छन् । जसपाका ठाकुर–महतोकै कारण ओली सत्तामा टिक्न सफल भएका हुन् । ठाकुर–महतोले साथ नदिएको भए गत फागुन ११ गते सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गरेलगत्तै ओलीको सत्ता बहिर्गमन भइसकेको हुने थियो । करिब एमालेकै हाराहारीमा ठाकुर र महतो पक्षले मन्त्री पाउनुका पछि ओलीको राजनीतिक अभीष्टसँगै जसपामा ठाकुर–महतो पक्षलाई बहुमतमा पुर्‍याउने योजना रहेको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री ओलीलाई हेर्ने दृष्टिकोणको विवादले कानुनी रूपमा एक भए पनि व्यावहारिक रूपमा जसपा दुई टुक्रामा विभाजित भइसकेको छ । प्रतिनिधिसभा पुन:स्थापना भएदेखि नै ओलीलाई साथ दिँदै आएको ठाकुर–महतो पक्ष अहिले सरकारमै सहभागी छ भने ओलीको बहिर्गमन खोज्दै आएका अर्का अध्यक्ष यादवको पक्ष विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसरतमा छ । पार्टीको यही विवादका कारण दुवै पक्षले एकले अर्कालाई निष्कासन र निषेध गर्ने घटना भइसकेका छन् । अध्यक्ष यादव पक्षले ठाकुर र महतोसहित चार नेतालाई पार्टीबाट निष्कासन गरिसकेको छ । पार्टीका नेता डम्बर खतिवडाका अनुसार ओली नेतृत्वको सरकारमा जाने थप मन्त्रीलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर निष्कासन गरिनेछ । पार्टीमा पहिलो अध्यक्ष रहेको भन्दै ठाकुर पक्षले पनि अध्यक्ष यादवलाई निष्कासन गरेको छ । पार्टीका बैठक र गतिविधि समानान्तर रूपमा चलेका छन् । महतोको नेतृत्वमा पूर्वराजपा धार ओली नेतृत्वको सरकारमा सामेल भएपछि यादव पक्षले प्रदेश २ बाट पूर्वराजपा धारका मन्त्रीलाई हटाइदिएको छ । त्यहाँ यादव पक्षलाई कांग्रेस र माओवादी केन्द्रको साथ छ । कांग्रेस सरकारमा गइसकेको छ भने माओवादी केन्द्रले चित्तबुझ्दो मन्त्रालय पाए जाने बताएको छ ।

यी घटनाक्रमले जसपा एक हुने सम्भावना अब धेरै कम भएको नेताहरू बताउँछन् तर फुटको अपजस नलिन ठाकुर–महतो पक्ष पार्टीमा बहुमत पुर्‍याउने कसरतमा अझै छ । निर्वाचन आयोगमा अभिलेखीकृत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर–महतो पक्षमा ४० प्रतिशत सदस्य छैनन् । केन्द्रीय कार्यकारिणी समितिमा तत्कालीन राजपाबाट २६ र समाजवादीबाट २५ जना सदस्य भागबन्डाका आधारमा राखिएका थिए । पूर्वराजपा धारका रेशम चौधरी जेलमा भएकाले २५/२५ सदस्य थियो । ओली नेतृत्वको सरकारलाई समर्थन गरेपछि ठाकुर र महतो पक्षका ६ सदस्य (महेन्द्र राय यादव, मृगेन्द्र यादव, रमेश यादव, नवलकिशोर शाह, रामनरेश यादव र गजाधर यादव) कित्ता परिवर्तन गरेर यादव पक्षमा पुगेका छन् । पूर्वसमाजवादी धारका दानबहादुर विश्वकर्मा ठाकुर–महतोतिर आएका छन् । यसअनुसार समितिमा यादव पक्षमा ३० र ठाकुर पक्षमा २० सदस्य छन् ।

पार्टीमा अल्पमतमा परेपछि ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक छल्दै आएको छ भने यादव पक्षले बहुमतका आधारमा निर्णय गराउँदै आएको छ । प्रतिनिधिसभा विघटनपछि ठाकुर–महतोको संसदीय दलको शक्तिसमेत छैन । संघीय संसदन्तर्गत जीवित राष्ट्रिय सभामा रहेका तीन जना सांसदमा यादव पक्षमा दुई र ठाकुर–महतो पक्षमा एक मात्रै छन् । ठाकुरसँग पहिलो अध्यक्षको हैसियत मात्रै जीवित छ । पहिलो अध्यक्षको अनुपस्थितिमा भएको केन्द्रीय कार्यकारिणी समितिको निर्णय मान्य नहुने भन्दै ठाकुर पक्षले अर्को पक्षलाई चुनौती दिँदै आएको छ । पार्टीको वैधानिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ ।

निर्वाचन आयोगमा बहुमत सदस्यको हस्ताक्षरसहितको निर्णय लैजान ठाकुर–महतो पक्ष सदस्य तान्ने प्रयासमा छ । नेता महतोले यादव पक्षको बहुमत कृत्रिम भएको बताउँदै आएका छन् । कुनै बेला गराएको हस्ताक्षरलाई अहिले पनि प्रयोग गर्दै आएको भन्दै उनले आफूहरूसँगै बहुमत रहेको दाबी गरेका छन् । तर, भित्रभित्रै पद र पैसाको लोभ देखाएर केन्द्रीय कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन खोजेको नेता मृगेन्द्र यादवले बताए । ‘राजकिशोरजी असन्तुष्ट हुनुहुन्थ्यो । यता आउन (यादव पक्ष) कुराकानी भइरहेको थियो । त्यहीं थाहा पाएर मन्त्री बनाइयो,’ उनले भने, ‘ठाकुर र महतो मात्रै होइन, बहुमत पुर्‍याइदिन प्रधानमन्त्री ओली नै लागिरहेका छन् । तर अब त्यस्तो लोभलालचमा जानेवाला कोही छैन । हामी बहुमतमा हुनेछौं, पार्टी फुटाउन पनि उहाँहरूसँग संख्या छैन । नयाँ पार्टी बनाएर जाने काम उहाँहरूले गर्नुहोला । एकै ठाउँमा हुने परिस्थिति अब समाप्त भएको छ ।’

रातरात राजनीतिक उलटपुलट हुने मुलुकमा जे पनि हुन सक्ने भन्दै अर्का नेता खतिवडाले पार्टीमा जसको बहुमत पुग्दैन उसलै अर्को पार्टी बनाएर जानुको विकल्प अब नभएको बताए । ‘अहिले हामीसँग बहुमत छ । बहुमत हुनेलाई निर्वाचन आयोगले वैधानिकता देला । हामी यही पार्टी र चुनाव चिह्न लिएर जानेछौं, रातरात खेल उल्टिएर उहाँहरूले बहुमत पुर्‍याउनुभयो भने हामी पुरानै पार्टी र चुनाव चिह्न लिएर जाउँला,’ उनले भने, ‘तर एकैठाउँमा बसेर जाने अवस्था अब छैन ।’

पूर्वराजपा धारका केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले यादव पक्षलाई अल्पमतमा पार्न नसके आफूहरूसँग पूर्वराजपा दर्ता गर्नुको विकल्प नभएको बताए । ‘केही दिन बहुमत पुर्‍याउन साम, दाम, दण्ड, भेद सबै प्रयोग हुन्छन् । वैधानिकताको विषयलाई लिएर निर्वाचन आयोगमा हाम्रो लडाइँ रहन्छ, प्रतिनिधिसभा विघटनविरुद्धको रिटको फैसला नआएसम्म संघर्ष गरेरै बस्नुको विकल्प छैन,’ ती सदस्यले भने, ‘प्रतिनिधिसभा पुन:स्थापना भयो भने वैधानिक रूपमा पार्टी विभाजन गर्ने विकल्प हुनेछ । पुन:स्थापना भएन भने राजपा नै दर्ता गरेर जान सकिने अवस्था छ ।’ पार्टीमा ठाकुर–महतो पक्ष बहुमतमा पुग्दा आफूसमेत सुरक्षित हुन सक्ने बुझाइ प्रधानमन्त्रीमा ओलीमा छ । प्रतिनिधिसभा पुन:स्थापित भइहाले पनि ठाकुर र महतोको बलियो साथ रहने भएकाले आफू हट्नु नपर्ने बुझाइ ओलीमा देखिन्छ । त्यसका लागि ठाकुर र महतो पक्षलाई ११ मन्त्री दिन ओली तयार भएका हुन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?