ओलीलाई धक्कै धक्का- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई धक्कै धक्का

‘नदी डुब्न लागेका बेला एउटा तैरेको लट्ठी पनि समाउन पाए बाँचिन्थ्यो कि भन्ने हुन्छ । ओलीजीलाई त्यस्तै भएको छ, त्यान्द्रात्यान्द्री बटुलेर शक्ति केन्द्रीकृत गर्न खोजे पनि अब उहाँको तुरुप सकिन लागेको लागेको जस्तो देखिन्छ ।’ - लोकराज बराल
बिनु सुवेदी

काठमाडौँ — टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का लागेको छ ।

फाइल तस्बिर

सर्वोच्चले ओलीको शक्ति खलबलिने गरी नागरिकता अध्यादेश कार्यान्वयन नगराउन आदेश दिएको छ । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएका चार सांसद पुनर्बहाली हुने र दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई (ह्विप उल्लंघन गर्नेलाई कारबाही गर्ने) एमालेको आधिकारिक संरचना नमान्ने अदालतको अर्को आदेशले ओलीलाई थप अप्ठ्यारोमा पारेको छ ।

ओलीले आफू प्रधानमन्त्री ररिरहन सजिलो होस् भनेर जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समूहसँग नागरिकतासम्बन्धी अध्यादेश ल्याउने, संविधान संशोधन कार्यदल बनाउनेलगायतका सहमति गरेका थिए । त्यही सम्झौताअनुसार मागेजति मन्त्रालय पाएर जसपाको ठाकुर–महतो पक्ष सरकारमा सहभागी छ । सहमतिअनुसार ल्याएको अध्यादेशमा अदालतले अंकुश लगाएपछि जसपाको ठाकुर–महतो खेमाबाट आउने प्रतिक्रियाले ओली शक्तिको थप परीक्षण हुने देखिएको छ ।

एमाले अध्यक्ष ओलीले चैत पहिलो साता पार्टी कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेर एकलौटी निर्णय गर्दै गएपछि झलनाथ खनाल–माधवकुमार नेपाल समूह आन्दोलित थियो । तर सर्वोच्चले आयोजक कमिटीले प्रदेश सांसदहरूलाई गरेको कारबाहीलाई अवैधानिक भनेसँगै ओली थप कमजोर भएका छन् । यसअघि लुम्बिनी प्रदेशका जसपाका चार सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्दा ओली खेमाका मुख्यमन्त्री शंकर पोखरेललाई पद जोगाउन सजिलो भएको थियो । गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापा पनि सर्वोच्चको आदेशबाट पुनर्बहाली भएका थिए । जनमोर्चासहितको विपक्षी गठबन्धनले सरकार बनाउन कसरत गर्दा असहयोग गरेपछि थापालाई पार्टीले सांसदबाट हटाउने निर्णय गरेको थियो ।

गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको प्रस्ताव राख्दा उनी तटस्थ बसे । ओली समूहका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन सकेनन् ।

एमाले उपमहासचिव घनश्याम भुसालले राजनीतिक प्रक्रिया बचाउन नसक्दा संकट दललाई नै आइपर्ने र ओलीले गत पुस ५ मा गुमाएको शक्तिको परकम्प अहिलेसम्म आइरहेको प्रतिक्रिया दिए । ‘राजनीतिक प्रक्रिया बचाउने काम राजनीतिक नेता र राजनीतिक पार्टीहरूको हो, राजनीतिक पार्टीले आफ्नो कोर्स र प्रक्रिया नबचाएपछि अदालतले बचाइदिँदैन, सके भत्काउँछ,’ भुसालले भने, ‘गत फागुन २३ गतेको फैसला र लुम्बिनीका सांसदलाई पुनर्बहाली गर्ने आदेशले नै धेरै बिगारेको थियो ।’

प्रधानमन्त्री ओली केन्द्रमा मात्रै होइन, प्रदेशमा समेत कमजोर बनेका छन् । आफ्नो समूहको अनुपस्थितिमा पनि सुदूरपश्चिम र कर्णालीका सरकार बलियो हुनु र गण्डकीमा आफ्नो पक्षको सरकारले विश्वासको मत पाउन नसक्नुले प्रदेशमा पनि ओलीलाई अप्ठ्यारो परेको प्रस्ट्याउँछ । सबैतिरको शक्तिमा धक्का लागेर कमजोर बनिरहेका ओलीले आफूलाई सत्तामा टिकाइरहने प्रयत्न भने जारी राखेका छन् ।

कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा परेको उजुरी विचाराधीन रहेकै बेला फेरि ओलीले बिहीबार संवैधानिक व्यवस्था र सर्वोच्च अदालतलाई नै चुनौती दिँदै मन्त्री थपेका छन् । यही संविधान जारी भएपछि नै कामचलाउ सरकारले अत्यावश्यकबाहेकको काम गर्न नपाउने भन्दै ०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नदिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले ओली सरकारका नवनियुक्त मन्त्रीलाई शपथ गराएकी छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधानको सामान्य मान्यता र अदालतको गरिमा ख्याल नगरी बिहीबार सात मन्त्री र एक राज्यमन्त्री गरी ८ जना नियुक्त गरेका हुन् । योसँगै ओलीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

बिहीबार राष्ट्रपति निवासमा शपथ ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरु । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातारवणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मोहन बानियाँ र वन तथा वातावरण राज्यमन्त्रीमा आशाकुमारी विकले बिहीबार नियुक्ति पाएका हुन् । उनीहरूमध्ये गृहमन्त्री अधिकारी मात्रै ओलीलाई विगतदेखि नै प्रतिबद्ध भएर सघाउँदै आएका हुन् । अरू मन्त्रीलाई शक्ति सन्तुलन र सत्ता जोगाउन मात्रै नियुक्ति दिन प्रधानमन्त्री बाध्य हुनुपरेको ओलीनिकट स्रोतको भनाइ छ । ‘हामीलाई पनि यसरी मन्त्रिपरिषद् पुनर्गठन हुन्छ भन्ने लागेको थिएन । यो पुनर्गठनले प्रधानमन्त्रीज्यू दबाबमा हुनुहुन्छ भन्ने देखिन्छ,’ ओली सचिवालयका एक सदस्यले कान्तिपुरसित भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भयो भने सांसद जोगाउन र चुनावमा जानुपर्ने स्थिति आयो भने प्रदेश २ मा आफ्नो पकड बलियो राख्न उहाँले यसरी मन्त्रिपरिषद् हेरफेर गर्नुभएको हुन सक्छ ।’

ती सदस्यका अनुसार प्रतिनिधिसभा पुनःस्थापना हुन सक्छ र अदालतले धारा ७६ (५) को व्याख्या गर्दै प्रधानमन्त्री हुने आधार छ छैन भनेर परीक्षण गर्न संसद्मा जाने आदेश दिन सक्छ भन्ने हिसाब–किताब ओलीले गरेका छन् । ‘हामीले धारा ७६ (५) अनुसार सरकार बनाउने अधिकार राष्ट्रपतिको हो भनेका छौं, अर्को पक्षले संसद्को अधिकार हो भनेको छ । त्यसलाई अदालतले व्याख्या गरेर सरकार बनाउन संसद्मै जाऊ भन्छ कि भन्ने प्रधानमन्त्रीज्यूलाई लागेको छ,’ ती सदस्यले कान्तिपुरसित भने, ‘हुन त अर्को पक्ष देउवालाई नै प्रधानमन्त्री बनाइपाऊँ भन्दै अदालत गएको हो । सर्वोच्चले त्यतिसम्मको फैसला त नगर्ला कि भन्ने हो, त्यसैले पनि पाई–पाई हिसाब गर्नॅपरेको छ ।’

मन्त्रिपरिषद् विस्तारपछि बिहीबार साँझ सिंहदरबारमा बसेको बैठक । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री ओलीले यसअघि गत जेठ २१ गते जसपाका १० मन्त्रीसहित मन्त्रिपरिषद् हेरफेर गरेका थिए । उनलाई साथ दिन जसपाको ठाकुर–महतो खेमाबाहेक अर्को समूह नरहेकाले चिढ्याउन नचाहँदा एमाले र जसपाका मन्त्रीको संख्या सरोबरी छन् । जबकि विघटित प्रतिनिधिसभामा एमालेका सांसद सय हाराहारी र जसपा ठाकुर–महतो पक्षमा २० जना थिए । जसपामा मन्त्री बन्न चाहनेको संख्या धेरै भएको र मन्त्री बन्न नपाए अर्को खेमामा लागिहाल्ने भएकाले धेरैलाई मन्त्री बनाउनुपरेको ओलीले आफ्ना निकटस्थलाई बताएका छन् । जसपा अध्यक्ष ठाकुरले आफ्नो समूहमा कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने भन्ने टुंगो लगाउन नसकेपछि ओलीले नै सहयोग गरेको स्रोतको भनाइ छ । एक साताअघि मन्त्रिपरिषद् विस्तार गर्दा जसपाबाट छुटेका राजकिशोर यादव यसपालि परेका हुन् ।

एमाले केन्द्रीय सदस्य महेश बस्नेतले राजनीतिमा हराउने र जिताउने खेल चलेपछि त्यसको नतिजा यस्तै खालको देखिने बताए । ‘अहिले आक्रमण गर्ने र प्रतिरक्षा गर्ने खेल चलिरहेका छन् । यो राजनीतिक कोर्स ठीक ठाउँबाट नगएको लक्षण हो । त्यसैले चुनाव गरेर कोर्स करेक्सन गरौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसका लागि रिसाएकालाई फकाउने र टाढिएकालाई नजिक ल्याउने गर्नै पर्‍यो, माधव नेपाल समूहलाई पार्टी एकताको र विद्रोह गरेर आएका माओवादीलाई पार्टीमा अन्याय हुँदैन भन्ने सन्देश दिन र जसपालाई हामी अलिकति तल परेर भए पनि गठबन्धनमा प्रतिबद्ध छौं भन्ने अनुभूति दिन यसो गरिएको हो ।’

संविधानको धारा ७७ (१) ले राजीनामा दिए, विश्वासको मत प्राप्त गर्न नसके वा अविश्वासको प्रस्ताव पारित वा प्रतिनिधिसभा सदस्य नरहे प्रधानमन्त्री पद रिक्त रहने व्यवस्था गरेको छ । प्रनिधिसभा सदस्य नरहेकाले ओली स्वतः कामचलाउ प्रधानमन्त्री हुन् । धारा ७७ (३) ले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने प्रावधान राखेको छ । तर ओलीले कामचलाउ प्रधानमन्त्री भएपछि नै मन्त्रिपरिषद् व्यापक हेरफेर गरेका छन् र दोस्रोपटकको हेरफेरमा उनको मन्त्रिपरिषद्ले पूर्णता पनि पाएको छ । संविधानविद् चन्द्रकान्त ज्ञवाली कामचलाउ सरकार कार्यकारिणी अधिकार प्रयोग गरेर स्वेच्छाचारी साशनतर्फ उन्मुख भएको बताउँछन् । ‘स्वतः पदमुक्त भएका प्रधानमन्त्रीले बजेट पनि निवार्चनको प्रयोजन र दैनिक कामचलाउने मात्रै ल्याउनुपर्नेमा मन्त्रिपरिषद् नै हेरफेर गरेर संविधान र अदालतलाई ठाडै चुनौती दिएको देखिएको छ,’ उनले भने, ‘अस्तिको मन्त्रिपरिषद् गठनसम्बन्धी मुद्दा अदालतमा छ, त्यसको कुनै वास्ता छैन । यसले त विधिको शासनमाथि नै ठूलो प्रश्नचिह्न खडा गर्ने भयो ।’

यसअघि कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा राष्ट्रपतिले रोकेका उदाहरण छन् । ०७४ मा शेरबहादुर देउवा र ०६९ मा बाबुराम भट्टराई सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोज्दा राष्ट्रपतिबाट रोकिएको थियो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले ओलीको अलोकतान्त्रिक कदमले हद नाघेको र आफू पतन नहुँदासम्म उनले संविधान मिचिरहने बताए । ‘यही संविधान जारी भएपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोज्दा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएन, ०६८ मा बाबुरामले मन्त्रिपरिषद् पुनर्गठन गर्दा रामवरण यादव मान्नुभएन, ०५१ सालमा मनमोहन अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्न खोज्दा दरबारले रोक्यो । त्यतिखेर गृहमन्त्री केपी ओली नै हुनुहुथ्यो,’ पुनले कान्तिपुरसित भने, ‘अहिले प्रधानमन्त्रीले संबिधान मिच्नुभयो, अलोकतान्त्रिकताको हद पार गर्नुभयो र उहाँ पतन नहुँदासम्म यो नौटंकी गरिरहनुहुन्छ ।’

विस्तारित मन्त्रिपरिषद्मा काम गर्न सक्ने, ओलीकै टिममा लागेका र राजनीतिप्रति प्रतिबद्धभन्दा पनि गुट व्यवस्थापनका लागि ल्याइएका अनुहार धेरै छन् । सञ्चारमन्त्री बनेकी नैनकला थापाको माओवादीको सशस्त्र युद्ध र १४ वर्षअघि महिला आयोगको अध्यक्ष बन्दा केही भूमिका देखिए पनि अहिले उनी राजनीतिभन्दा निकै टाढा थिइन् । गृहमन्त्रीबाट बाहिरिएका र राष्ट्रिय सभा चुनावमा पराजित भएका रामबहादुर थापालाई आफूसँग ‘इन्गेज’ राखिराख्न ओलीले उनकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन् ।

प्रदेश २ को सांसद पदबाट बर्खास्तीमा परेकी ज्वालाकुमारी साहलाई मन्त्री बनाएर ओलीले प्रदेश २ मा जसपा, पूर्वमाओवादीबाट आएको समूह र एमालेको सन्तुलन मिलाउन खोजेका छन् । यसअघि नै ओलीले रघुवीर महासेठलाई अस्वाभाविक रूपमा उपप्रधान तथा परराष्ट्रमन्त्री दिएका छन् । माधव नेपाल समूहका नेताहरू मन्त्री पदसहित सामूहिक रूपमा ओली खेमामा लाग्छन् भनेर बालुवाटारले नै हल्ला चलाएको थियो तर बिहीबार त्यो समूहका गणेश पहाडी मात्रै मन्त्री भएका छन्, अब मन्त्रीको कोटा पनि सकिएको छ । पहाडी एमाले सचिव योगेश भट्टराईनिकट मानिन्छन् ।

राजनीतिशास्त्री प्राध्यापक लोकराज बरालले ओलीको यो हतारो र मन्त्रिपरिषद्का अनुहार हेर्दा उनी निकै दबाबमा आएको र सत्ता जोगाउन जे–जे आइलाग्छ त्यही–त्यही अन्धाधुन्ध गर्दै गएको टिप्पणी गरे । ‘उहाँ धेरै नै कमजोर भइसक्नुभएको छ र कमजोर भइसकेको कुर्सीका लागि जे पनि गर्ने भन्ने तरिकाले अघि बढेको जस्तो देखिन्छ, त्यसैले प्रदेश २ बाट असन्तुलित रूपमा मन्त्रिपरिषद्मा सदस्य थपिएको छ,’ उनले भने, ‘नदीमा डुब्न लागेका बेला एउटा तैरेको लट्ठी पनि समाउन पाए बचिन्थ्यो कि भन्ने हुन्छ । ओलीजीलाई त्यस्तै भएको छ, त्यान्द्रात्यान्द्री बटुलेर शक्ति केन्द्रीकृत गर्न खोजे पनि अब उहाँको तुरुप सकिन लागेको लागेको जस्तो देखिन्छ ।’

प्रकाशित : जेष्ठ २८, २०७८ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकता नियमावली संशोधन : आमामाथि अंकुश !

बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस बुझाएपछि मात्रै सन्तानले आमाका नामबाट नागरिकता लिन सक्ने
बिनु सुवेदी

काठमाडौँ — सरकारले आफ्नो नामबाट नागरिकता दिन चाहने आमाको आत्मसम्मानमा गम्भीर चोट लाग्ने गरी नागरिकतासम्बन्धी नियमावली संशोधन गरेको छ । जेठ १८ को मन्त्रिपरिषद् बैठकले संशोधन गरेर आइतबार राजपत्रमा प्रकाशित गरेको नियमावलीअनुसार बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस बुझाएपछि मात्रै सन्तानले आमाका नामबाट नागरिकता लिन सक्छन् ।

बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी स्थानीय तहले सिफारिस गर्नु र त्यसका लागि अनावश्यक व्यक्तिगत प्रश्नहरू सोध्नु भनेको संविधानले व्यवस्था गरेको गोपनीयता र सम्मानपूर्वक बाँच्न पाउने हकको बर्खिलाप हो ।

नियमावलीले प्रस्ट नतोकेका कारण सम्बन्धित स्थानीय तहका पदाधिकारीले आमा र बच्चालाई अनावश्यक प्रश्न सोधेर यातना दिन सक्ने भएकाले नियमावलीको यो प्रावधान आपत्तिजनक भएको अधिवक्ता सविन श्रेष्ठले बताए । ‘हामीले अहिले पनि आमाका नामबाट नागरिकता लिन खोज्दा अनावश्यक व्यक्तिगत कुरा कोट्याएर आमा र सन्तान दुवैलाई यातना दिएको देखेका छौं,’ श्रेष्ठले भने, ‘अब झन् नियमावलीले नै तोकेर स्थानीय तहले सरजमिन गरेपछि मात्रै नागरिकताका लागि सिफारिस गर्ने व्यवस्था राखिँदा आमाको आत्मसम्मानमा चोट लाग्ने हुन्छ । यस्तो व्यवस्थाले समाधानभन्दा धेरै समस्या निम्त्याउँछ ।’

संशोधित नियमावलीअनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको, १६ वर्ष पूरा भएको व्यक्तिले वंशजका आधारमा नागरिकता लिन चाहेमा जन्मदर्ताको प्रमाणपत्र, आमाको नेपाली नागरिकताको प्रमाणपत्र, जन्मस्थान वा नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस बुझाउनुपर्ने हुन्छ । यस्तै नियमावलीले आमाका नामबाट नागरिकता लिन निजको नेपालमै जन्म भई नेपालमै बस्दै आएको र बाबुको पहिचान खुल्न नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस र सन्तान र आमा दुवैले बाबुको पहिचान हुन सकेको छैन भनेर प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकृतसमक्ष स्वघोषणा अनिवार्य गरेको छ । उक्त स्वघोषणा फाराममा आमासँगसँगै सन्तानले समेत मेरो बाबु पत्ता लागेको छैन, यदि पत्ता लागेको छैन भनेर मैले गरेको घोषणा गलत भए कानुनबमोजिम सहुँला बुझाउँला भनेर कबुल गर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।

कांग्रेस नेता पुष्पा भुसालले संविधान र ऐनविपरीत गएर यसरी नियमावली संशोधन गर्नु आमाको पहिचानको अधिकार र परिचयमाथिको हस्तक्षेप हुने र यस्तो व्यवस्थाले झन् समस्या निम्त्याउने बताइन् । ‘सबैभन्दा ठूलो कुरा आमाका नामबाट नागरिकता लिन आमाको परिचय भएपछि अरू केही पनि चाहिँदैन, आमा नेपाली नागरिक हो भन्ने प्रमाणित हुन्छ भने आफ्नो सन्तानलाई नागरिकता दिन सक्छिन्, संविधानको मर्म पनि त्यही हो,’ उनले भनिन्, ‘नियमावलीमा यस्तो संशोधन हुनु भनेको आमाको पहिचान र अधिकारमाथिको हस्तक्षेप हो । महिलाको अधिकार नै स्वीकार नगर्ने यो नियमावली राज्यका जिम्मेवार निकायमा रहेकाहरूको पुरातनवादी र गलत सोचको परिणति हो ।’

यसअघि नागरिकताको प्रमाणपत्र लिन जाँदा जन्मदर्ता या शैक्षिक प्रमाणपत्रमध्ये एउटा बुझाए पुग्ने भए पनि यसपालि जन्मदर्तालाई अनिवार्य गरेर आमाका नामबाट नागरिकता लिन चाहने सन्तानलाई सरकारले अर्को तगारो थपिदिएको छ । जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटनासमेत दर्ता गर्न बनेको, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्मदर्ता गर्दा आमा र बाबु दुवैको हुनुपर्ने व्यवस्था छ । ऐनले अनलाइन माध्यमबाट जन्मदर्ता गर्न सकिने व्यवस्था गरे पनि त्यसरी जन्मदर्ता गर्दा बाबुको नागरिकता नराखेसम्म प्रक्रिया अघि बढ्दैन ।

एकातिर ऐनले सन्तानको जन्मदर्ता गर्न बाबुको नागरिकता अनिवार्य चाहिने व्यवस्था गर्नु र अर्कातिर नियमावलीमा जन्मदर्ता नभई आमाको नामबाट नागरिकता नदिने व्यवस्था गरिनु विरोधाभासपूर्ण छ । संविधानको धारा ११(५) मा नेपालको नागरिक आमाका नामबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था छ । संविधानको यो व्यवस्था संविधानकै धारा ३८(१) सँग बाझिएको छ । महिलाको हकसम्बन्धी व्यवस्था भएको संविधानको धारा ३८(१) मा प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय अधिकार हुने उल्लेख छ, संविधानमा यो अधिकार मौलिक हकअन्तर्गत छ । यो हकको वास्तविक रूपमा कार्यान्वयन हुने भनेकै नागरिकता र सम्पत्तिमाथि महिलाको वंशीय उपस्थिति हो तर संविधानकै धारा ११(५) महिलाको यो अधिकारलाई संकुचन गरिदिएको अवस्थामा कठोर नियमावली बनेको हो ।

राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले यस्तो कठोर नियमावली बनाएर संविधानप्रदत महिलाको अधिकारमाथि हस्तक्षेप गर्न नहुने बताइन् । ‘नेपाली नागरिककै सन्तान हो भने संविधान र ऐनअनुसार सजिलै नागरिकता दिनुपर्ने हो,’ पौड्यालले भनिन्, ‘बाबुको पहिचान खुलेको छैन भन्ने सिफारिस लिन स्थानीय तहसम्म जानुपर्ने कुरा महिलाको आत्मसम्मान र गोपनीयताको हकसँग जोडिएको कुरा हो, संविधान र ऐनभन्दा माथि नियमावली हुन सक्दैन ।’

संविधानभन्दा अध्यादेश कडा र अध्यादेशभन्दा नियमावली झन् कडा आएपछि आमाका नामबाट नागरिकता लिन चाहने सन्तान कानुन हुँदाहुँदै पनि अप्ठ्यारोमा पर्ने निश्चित छ । संविधानले कुनै मापदण्ड नतोकेको भए पनि गत जेठ ९ मा राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले स्वघोषणा झूटो ठहरिएमा त्यस्तो व्यक्तिलाई एक वर्षदेखि ३ वर्षसम्म कैद वा एक लाखदेखि ३ लाखसम्म जरिवाना वा दुवै गर्न सक्ने व्यवस्था छ । अध्यादेशले त्यसरी प्राप्त भएको नागरिकतासमेत स्वतः रद्द गर्ने व्यवस्था गरेको छ । यही अध्यादेशबमोजिम नियमावली बन्दा जन्मदर्ताको प्रमाणपत्र अनिवार्य गर्नेदेखि स्थानीय तहका पदाधिकारीले सर्जिमिन गरेर बाबुको पहिचान छैन भन्ने निश्चिततासहितको सिफारिस र आमा र सन्तान दुवैले बाबुको बारेमा थाहा छैन भन्ने घोषणा गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गरेर सन्तानलाई नागरिकता दिने आमाको अधिकार र आमाको नामबाट नागरिकता लिने सन्तानको अधिकार कुण्ठित गरेको हो ।

यस्तै नियमावलीको नियम ३(ख) मा आमाको मृत्यु भइसकेको छ भने सन्तानले नागरिकता लिन जाँदा आमाको मृत्युदर्ताको प्रमाणपत्र पेस गनुपर्ने व्यवस्था छ । तर पञ्जीकरणसम्बन्धी कानुनअनुसार व्यक्तिगत घटना दर्ताका लागि प्रशासनमा जाने व्यक्ति स्वयंको नागरिकता हुन जरुरी छ । यो प्रावधानले आमाले हुर्काएका तर सन्तान १६ वर्ष पुग्नुअघि नै ती आमाको निधन भएको छ भने सन्तानले नागरिकता पाउन कठिन हुन्छ । २०६८ को जनगणनाअनुसार एकल आमासित ८ लाख ९६ हजार ८ सय जना बालबालिका रहेको तथ्य तथ्यांक विभागसित छ । विभागको तथ्यांक केलाउँदा ६ लाख ८० हजार ५ सय ५३ जना बालबालिका अहिले १६ वर्ष पुगिसकेका छन् ।

यद्यपि यी सबै एकल आमाबाबु पहिचान नभएका चाँहि होइनन् । यसमा सम्बन्ध विच्छेद भएका र श्रीमान्को मृत्यु भएका महिलाको पनि संख्या जोडिएको छ । जेजति कारणले भए पनि एकल आमाले हुर्काएका सन्तानले आमाकै नामबाट नागरिकता लिन यो अध्यादेशले सहज हुनुपर्नेमा नियमावलीमै कडा प्रावधान राखेर अप्ठ्यारो पारिएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०६:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×