कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्री भट्टलाई विश्‍वासको मत नदिने एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेका सात जना सांसदलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।  

मुख्यमन्त्री भट्टलाई विश्‍वासको मत नदिने एमालेका ७ सांसदलाई २४ घण्टे स्पष्टीकरण 

एमाले संसदीय दलको निर्णय तथा ह्वीपको अवज्ञा गर्दै सांसदहरु रतन थापा, नेपालु चौधरी, लिलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले मुख्यमन्त्री भट्टको मतको विपक्षमा मतदान गरेका थिए । दलका नेता शाहले उनीहरु सबैलाई स्पष्टीकरण माग्दै पत्र पठाएका हुन् । पत्रमा संसदीय दलको विधान एवं दलको ह्रवीप उल्लंघन गर्नुको कारण सोधेका छन् । निर्धारित समयभित्र जवाफ नआए विधानबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

विपक्षमा मतदान गर्ने सांसदहरु अध्यक्ष ओली पक्षधर हुन् । सुदूरपश्चिम संसदीय दलमा माधव नेपाल पक्षधरको नेतृत्वसहित बहुमत संख्या छ । मुख्यमन्त्रीलाई विश्वास मत दिने पक्षमा १७ जना एमाले सांसदहरुले मतदान गरेका थिए । विपक्षमा मतदान गर्ने सात जना सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् । ‘हामीले पार्टी निर्देशनको पालना गरेका हौं,’ सांसद लिलाधर भट्टले भने, ‘स्थायी कमिटीले नै समर्थन फिर्ताको निर्णय गरिसकेको छ ।’

प्रकाशित : जेष्ठ २५, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?