प्रदेशमा पनि गठबन्धन बन्ने- समाचार - कान्तिपुर समाचार

प्रदेशमा पनि गठबन्धन बन्ने

‘अदालतको मुद्दालाई प्रभावमा पार्न ओलीको फन्डा’
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना हुन सक्ने बुझेरै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकताका लागि आइतबार राति ६ बुँदे विज्ञप्ति जारी गरेको प्रतिक्रिया दिएका छन् । ओलीको विज्ञप्तिलाई लिएर तीन नेताबीच सोमबार छुट्टाछुट्टै र संयुक्त छलफल भएको थियो । 

फाइल तस्बिर

संविधानको धारा ७६(५) अनुसार दाबी प्रस्तुत गरेका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न माग राख्दै एमाले खनाल–नेपालका २३ सहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । एमालेका नेताहरूको हस्ताक्षर फिर्ता गराउन सके रिटको पक्षमा बहुमत नपुग्ने र त्यसले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सदर गर्न अदालतलाई बल पुग्ने ठानेरै ओलीले एमाले एकता आह्वानको ‘फन्डा’ ल्याएको विपक्षी नेताहरूको बुझाइ रहेको छ ।

एमाले नेता नेपालले आफूहरू ओलीको ‘जालमा’ नफस्ने भन्दै देउवा र दाहाललाई आश्वस्त पारेका छन् । ‘नेपालजीले पनि ओलीको यो कदम पार्टी एकताका लागि नभएर आफू सत्तामा रहिरहने र आफ्नो असंवैधानिक कदमलाई सदर गराउने चालबाजीका रूपमा ल्याइएको र पूर्वसमझदारीअनुसार कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने बताउनुएको छ,’ देउवानिकट स्रोतले भन्यो, ‘यो गठबन्धनलाई प्रतिनिधिसभा विघटनको मुद्दामा मात्रै सीमित नराखी आगामी निर्वाचनसम्मै कायम गरेर लैजानुपर्छ भन्ने समझदारीको विकास भएको छ ।’

तीन शीर्ष नेता बस्नुअघि बिहान दाहाल र नेपालबीच छलफल भएको थियो । नेपालसँगको छलफलपछि दाहाल र देउवाबीच छुट्टै छलफल भयो । त्यसपछि देउवा निवास बूढानीलकण्ठमा तीन नेताबीच संयुक्त छलफल भएको हो । देउवाका सहयोगी भानु देउवाका अनुसार छलफलको मुख्य विषय प्रदेश २ को सत्ता साझेदारी र सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार लिन लागेको विश्वासको मतबारे थियो । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षले प्रदेश २ को सरकारबाट ठाकुर–महतोपक्षीय मन्त्रीहरूलाई आइतबार बर्खास्त गरेको छ ।

यादव पक्षले प्रदेश २ को सरकारमा कांग्रेस र माओवादीलाई सामेल गराउन चाहेको छ । कांग्रेस र माओवादीले सरकारमा जाने सैद्धान्तिक सहमति जनाइसकेका छन् । मन्त्री र मन्त्रालयको टुंगो लगाउन मात्रै बाँकी रहेको कांग्रेसका एक नेताले बताए ।

ओलीपक्षीय प्रदेश सरकारलाई सकेसम्म विस्थापित गर्ने रणनीति पनि गठबन्धनले बनाएको छ । सत्ता पक्षलाई बजेट पारित गराउने चुनौती खडा भइरहेका बेला विपक्षी गठबन्धनले यस्तो रणनीति बनाएको हो । केही दिन अविश्वास प्रस्तावबाट जोगिएको गण्डकी प्रदेश सरकारको भविष्य अझै अनिश्चित छ ।

राष्ट्रिय जनमोर्चाका तीनमध्ये एक सांसद सत्ता पक्षमा जोडिएपछि सरकारको पक्षमा पनि बहुमत नपुग्ने र वैकल्पिक सरकार पनि बन्न नसक्ने अवस्था खडा भएको छ । यसले प्रदेशसभा नै विघटन हुन सक्ने जोखिम बढेको भन्दै विपक्षी गठबन्धनको सरकार बनाउने प्रयासका बारेमा पनि तीन नेताले छलफल गरेका थिए । ‘सबै प्रदेश सरकारमा विपक्षी गठबन्धन मिलेरै जाने कुराकानी भएको छ’ देउवानिकट स्रोतले बतायो ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

जोखिममा बालबालिका

कोरोना हटस्पट लुम्बिनी प्रदेशको पूर्वतयारी शून्य
सन्जु पौडेल, कमल पन्थी

लुम्बिनी/बर्दिया — कोरोना संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै विज्ञहरूले अस्पतालमा निश्चित बेड छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा हटस्पट बनेको लुम्बिनी प्रदेशमा बालबालिकालाई संक्रमणबाट जोगाउन कुनै तयारी छैन ।

यहाँका अस्पतालले बालबालिकाका लागि बेड छुट्याएका छैनन् । अन्य पूर्वतयारी पनि कतै देखिँदैन । गत वर्षदेखि बालबालिका संक्रमित भइरहेका छन् । यस क्रममा बालबालिकाको मृत्युसमेत भइरहेको छ । तर, उनीहरूको उपचारका लागि छुट्टै व्यवस्था छैन । संघीय सरकारले प्रदेशमा बालबालिकाका लागि बेड छुट्याउन परिपत्र गरे पनि त्यसको सुनुवाइ नभइरहेको सरोकारवालाले बताए ।

अहिलेसम्म बालबालिकालाई वार्डमा राखेर उपचार गर्नुपर्ने अवस्थाका नआएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । प्रदेशका अस्पतालमा अहिले ३३ बाल रोग विशेषज्ञ कार्यरत छन् । कोरोनाको तेस्रो लहर आउने निश्चितजस्तै देखिएको बुटवलस्थित आम्दा अस्पतालका बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताए । ‘पहिलो लहरले वृद्धवृद्धालाई बढी असर गरेको देखियो,’ उनले भने, ‘अहिलेको भेरियन्टले युवामा असर देखिएकाले तेस्रोले बालबालिकालाई हानि गर्छ भनिएको हो ।’ समस्या आउनुपूर्व नै तयारी गर्नु राम्रो हुने उनले बताए । बालबालिकामा संक्रमण भएपछिको एन्टीबडी विकासको तथ्यांक हेर्दा ठूला मान्छेसरह २५ प्रतिशत देखा परेकाले अहिलेसम्म धेरै असर गरेको नपाइएको उनले जनाए ।

पछिल्लो अध्ययनले संक्रमितको फोक्सोमा रगत जमेर मृत्यु भएको समेत देखाइरहेकाले रगत पातलो बनाउने औषधिको प्रयोग गर्नुपर्ने स्थिति आएको डा. गौतमले बताए । ‘बालबालिकामा त्यो समस्या हुँदैन,’ उनले भने, ‘बालबालिकाका लागि अस्पतालमा बेड मात्रै नभई उनीहरूको उमेर समूहअनुसारका अन्य विषयमा समेत ख्याल गर्नुपर्ने हुन्छ ।’ अहिले काम गरिरहेका चिकित्सकबाहेक थप नर्सिङ स्टाफ र स्वास्थ्यकर्मी आवश्यक पर्ने भन्दै उनले जनशक्तिको व्यवस्थापन, तालिमलाई प्राथमिकतामा राख्नुपर्ने बताए । पाँच वर्षमुनिका बालबालिका आएमा आइसोलेसनमा राख्न नमिल्ने भएकाले त्यस उमेर समूहका संक्रमित भइहालेमा आमासँग राखेर खोप दिने र सुरक्षित बनाई हाल्नुपर्ने उनले बताए । त्यस्तै, पाँच वर्षमाथिका र १० वर्षमाथिका बालबालिकालाई मानसिक दबाब नपर्ने गरी उपचार विधि अपनाउनका लागि बाल चिकित्सकीय तालिम दिई स्वास्थ्यकर्मी खटाउनुपर्ने उनले बताए ।

संघीय स्वास्थ्य निर्देशनालयबाट तयारीका लागि पत्र आएको र सोही अनुसार गर्न थालिएको प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशभरि पाँच वर्षमुनिका ६ सय ८४ बालबालिका संक्रमित छन् । जसमध्ये शून्य दशमलव ९ प्रतिशतलाई मात्र समस्या देखा परेको भण्डारीले बताए । पाँच वर्षमाथिका बालबालिकाको तथ्यांक नरहेको भन्दै उनले धेरै संख्यामा संक्रमित नभेटिएकाले तथ्यांक नरहेको उनको भनाइ छ । प्रदेशमा अहिले १ सय ५ बालबालिका सक्रिय संक्रमित रहेका छन् । संघीय स्वास्थ्य मन्त्रालयले कोरोना अस्पतालमा बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन पत्राचार गरेको उनले बताए । ‘अहिलेसम्म सरकारी अस्पतालमा बालबालिकाका लागि फरक बेड छैनन्,’ उनले भने, ‘अब त्यसका लागि काम गर्नेछौं ।’

चिकित्सक अभाव

बर्दियामा बालबालिकालाई हेर्ने विशेषज्ञ चिकित्सकको अभाव छ । बालबालिकालाई संक्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन । जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयले सास्ती भोग्न बाध्य छन् । स्थानीयका अनुसार परिवार नै कोरोना संक्रमण हुनासाथ बालबालिका अछुतो रहँदैनन् । तर, बालबालिका हेर्ने चिकित्सक नहुँदा अस्पताल लैजाने वातावरण छैन ।

जिल्लामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका संक्रमित हुने जोखिम रहेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् । २ वर्षदेखि १६ वर्षमाथिकाका लागि कुनै खोप नआएको जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले बताए । जिल्लामा हाल १ वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म २७ जना बालक र २२ जना बालिका संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना संक्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि १ सय ८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् । ठाकुरबाबा नगरपालिकामा ११ बालबालिका होम आइसोलेसनमा रहेका छन् । गुलरिया र बाँसगढी नगरपालिकामा ८/८ जना, बारबर्दियामा ६, राजापुरमा पाँच जना बालबालिका कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×