कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माछा मार्न जाँदा गोही आक्रमणमा परेर मृत्यु

रमेशकुमार पौडेल

चितवन — राप्ती नदी किनारमा एकजना व्यक्ति मृत फेला परेका छन् । चितवन निकुञ्जका सूचना अधिकारी  एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको जानकारी दिए । 

उनी माछा मार्नका लागि उज्यालो नहुँदै खोलामा गएको पत्ता लागेको अधिकारीले बताए । निकुञ्ज भएर बग्ने कुनै पनि खोलामा यो बेला माछा मार्न पाइदैन । ‘हामीले बुझ्दा उनी राति नै माछा मार्न गएको पत्ता लागेको छ । शरीरको दाग र अन्य घाउ चोटले उनी मगर गोहीको आक्रमणमा परेको देखिन्छ,’ उनले भने ।

निकुञ्जबाट अनुमतिपत्र नलिएकाहरुले सिमाना भएर बग्ने खोला र नदीमा माछा मार्न पाउँदैनन् । अनुमति लिएकाहरुलाई पनि चैत्रपछि असारसम्म माछा मार्न बन्देज छ । यी तीन महिना माछाको प्रजनन् र भुरा हुर्काउने समय भएका कारण माछा मार्न सबैलाई रोक लाग्ने गरेको उनले बताए । यो नियम पालना गर्न र निषेधाज्ञा लागेको समयमा अनावश्यक र अनधिकृत रुपमा निकुञ्ज र नदी तथा खोलामा नजान निकुञ्जले अपिल गरेको छ । तर अटेर गरेर जंगल जाने र माछा मार्ने क्रम बढेको छ । च्याउ टिप्न निकुञ्ज गएका बेला वैशाख ३० मा जंगली हात्तीले एकजनाको ज्यान लिएको थियो ।

सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार यो आर्थिक वर्षमा अहिलेसम्म चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । जसमध्ये हात्ती, बाघ र गैंडाले आक्रमण गर्दा तीन/तीनजनाको निधन भएको हो । गौरी गाइ, बँदेल र मगर गोहीले आक्रमण गर्दा एक/एकजनाको ज्यान गएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २४, २०७८ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×