कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

निर्वाचन नगराउन प्रधानमन्त्री ओलीद्वारा सरकार पुनर्गठन : शेखर कोइराला

देवनारायण साह

मोरङ — कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन नगराउन सरकार पुनर्गठन गरेको आरोप लगाएका छन् । कोइराला निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा उनले कामचलाउ सरकारले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकार पुनर्गठन गरेर गलत नजिर कायम गरेको बताएका हुन् ।

निर्वाचन नगराउन प्रधानमन्त्री ओलीद्वारा सरकार पुनर्गठन : शेखर कोइराला

‘निर्वाचनको मिति घोषणा गरिसकेपछि सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्नु संविधान र लोकतन्त्रको बरखिलाफ हो,’ उनले भने, ‘अहिले सरकार विघटन भइसकेको र विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको अवस्थामा ओलीजीले आफूलाई बचाउन मात्रै सरकार पुनर्गठन गरेको हो या निर्वाचन नगर्नलाई यो बुझ्नु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले आफैं चाहेर वा कोरोना महामारीले अहिले तोकेको मितिमा चुनाव नहुने प्रष्ट रहेको उनले बताए । ‘ओलीजीको नेतृत्वमा हुने निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनै सक्दैन,’ उनले भने, ‘ओलीजी तानाशाह अधिनायकवादको हिसाबले हिँडिरहनुभएको छ ।’

पछिल्लो तीन वर्षको अवधिमा तीन पटक कम्बोडिया गइसकेका प्रधानमन्त्री ओलीले कम्बोडियन शैलीमा देशलाई लग्न खोजिरहेको कोइरालाको भनाइ छ । अर्को विपक्षीलाई सखाप पारेर बंगलादेशी शैलीमा पनि जाने प्रधानमन्त्रीको योजना रहेको उनले बताए ।

‘ओलीजी प्रधानमन्त्री भएपछि सत्ता कब्जा गर्ने हिसाबले अघि बढ्नुभयो र सुरुमा सम्पति शुद्धिकरण, राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो हातमा लिनुभयो,’ कोइरालाले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र न्यायालयलाई प्रभावमा पारेर ओलीजी सधैं सरकारमा बसिरहन खोजिरहनु भएको छ र त्यसमा संविधानका संरक्षक राष्ट्रपतिजीको सहयोग मुलुककै लागि दुर्भाग्य हो ।’

प्रकाशित : जेष्ठ २३, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?