कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही

साउदी र कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुने गरेको छ

काठमाडौँ — कतार सरकारले दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले दिउँसो घाममा कामदारलाई काममा लगाएको भन्दै कारबाही गरेको जनाएको छ । मन्त्रालयले जुन १ देखि ३ तारिखसम्म निरीक्षण गरेको थियो ।

कतारमा घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही

ती कम्पनीको तीन दिन काम बन्द गराएको छ । श्रम मन्त्रालयले निर्माण, कृषि र उद्योग क्षेत्रका कम्पनीलाई कारबाही गरेको हो । कतारले जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो ३:३० सम्म बाहिर क्षेत्रमा काममा लगाउन नपाइने निर्णय गरेको छ । कतारस्थित अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)ले दिउँसो काम गर्न लगाएको प्रतिबन्धले कामदारलाई उच्च तापक्रमबाट बचाउने भन्दै स्वागत गरेको थियो ।

खाडीका अन्य देश बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, साउदी अरब र यूएईले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म दिउँसोको समयमा बाहिर काम गर्न रोक लगाउने सूचना जारी गरेको छ ।

बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२:३० देखि ३:३० सम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२:३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् ।

खाडीमा झन्डै १० लाख ७० हजार नेपाली कार्यरत छन् । ती मुलुकका नेपाली दूतावासका अनुसार जुनदेखि अगस्टसम्म नेपाली कामदारको बढी ज्यान जाने गरेको छ । साउदी र कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुने गरेको छ ।

निर्णय उल्लंघन गर्नेलाई बहराइनले तीन महिना जेल र ५ सयदेखि एक हजार दिनारसम्म जरिवाना लगाउने घोषणा गरेको छ । कुवेतले प्रतिकामदार बापत एक सय केडीदेखि २ सय केडीसम्म जरिवाना लगाउने र पटक–पटक उल्लंघन गर्नेलाई तीन वर्षसम्म जेल सजाय हुने जनाएको छ । ओमनले काम रद्द गराउने दाबी गरेको छ ।

कतारले एक महिनासम्म कार्यक्षेत्र बन्द गराउने निर्णय गरेको छ । साउदीले ३ हजार रियाल र यूएईले पहिलो पटक उल्लंघन गर्नेलाई १० हजार दिराम र न्यूनतम ३ महिनाका लागि कम्पनीलाई तेस्रो वर्गमा घटुवा गर्ने कानुन बनाएको छ । दोस्रो पटक पनि उल्लंघन गरेमा १५ हजार दिराम जरिवाना र ६ महिनासम्म काम गर्न अनुमति नदिइने र तेस्रो पटक गरेमा २० हजार दिराम जरिवाना र ९ महिनासम्म काम गर्न अनुमति नदिइने कानुन बनाएको जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?