कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खनाल–नेपाललाई निकट नेताको सुझाव : अन्तिमसम्म एकताको प्रयास, सफल नभए नयाँ पार्टी 

बबिता शर्मा

काठमाडौँ — एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुले अन्तिमसम्म पार्टी एकताको प्रयास गर्न नेतृत्वलाई सुझाव दिएका छन् । बिहीबार भएको केन्द्रीय सदस्यको भर्चुअल बैठकमा बोल्ने अधिकांस सदस्यले अन्तिमसम्म एकताको प्रयास गर्ने र सम्भव नभए नयाँ पार्टी निर्माणको प्रक्रियामा जान सुझाव दिएका हुन् ।

खनाल–नेपाललाई निकट नेताको सुझाव : अन्तिमसम्म एकताको प्रयास, सफल नभए नयाँ पार्टी 

तर, उनीहरुले एकताका नाममा धेरैसमय खेर नफाल्न पनि नेतृत्वलाई सुझाएका छन् । आन्तरिक विवाद स्पष्टिकरण र शीर्ष नेताको कारबाहीसम्म पुगेकै बेला आगामी योजनाबारे निकट नेताहरुसँग परामर्श थालेका हुन् ।

यही शिलशिलामा केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले सर्वोच्च अदालतको पनि फैसला हेर्ने, अर्को समूहसँग अन्तिम पटक संवाद पनि गर्ने र सफल नभए क्रान्तिकारी पार्टी निर्माणका लागि अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका हुन् । नेता नेपाल केन्द्रीय सदस्यहरुको सुझावपछि निर्णायक कदम चाल्ने तयारीमा छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतासहित एकता सम्भव नरहेको निष्कर्ष निकालेको अवस्थामा खनाल–नेपालपक्षीय केन्द्रीय सदस्यको यस्तो धारणा आएको हो । नेपालले पनि यस अघिका विभिन्न बैठकमा ओली सच्चिने ठाँउ नरहेकाले उनीसँग एकताको सम्भावना टरेको बताइसकेका छन् ।

अध्यक्ष ओलीले ‘उपयोगको नीति’ लिएका कारण एकताको सम्भावना कम रहेपनि आफूहरुको तर्फबाट अन्तिमसम्म प्रयास जारी राख्ने सुझाव आएको केन्द्रीय सदस्य राजेन्द्र राईले बताए ।

‘एकता हुनु राम्रो हो । तर, ओलीको अहिलेसम्मको व्यवहार र उनले एकपछि अर्को गरी लिएका निर्णय हेर्दा एकताको संभावना धेरै कम छ । उहाँ (ओली) लाई जहिले–जहिले हाम्रो आवश्यकता पर्छ, जहिलेजहिले संटक आउँछ, त्यहिले वार्ताबारे चासो लिनु हुन्छ,’ राईले भने, ‘अरुबेला कारबाहीको डण्डा चलाउने र कुनै सरसल्लाह नगर्ने हुनाले यो वार्ताको विषय ‘उपयोगको नीति’ र नाटक हो भन्ने देखिन्छ । तर, पनि हाम्रो तर्फबाट एकताका लागि अन्तिमसम्म प्रयास हुनुपर्छ भन्ने सुझाव धेरैबाट आएको छ ।’

तर, अब एकता प्रयासको नाममा धेरै समय नलिई छिट्टै फाइनल वार्ता गर्नुपर्ने सुझाव धेरै आएको राईले बताए । ‘यसबीचमा वार्तामा कुरा मिलेन भने नयाँ पार्टी निर्माणको दिशामा पनि जानुपर्छ । त्यस रुपमा नेताहरु तयार हुनुपर्छ । र आन्तरिक तयारी गर्दै गर्ने भन्ने सुझाव पनि अधिकांसबाट आएको छ,’ उनले भने ।

बैठकमा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेले संस्थापन पक्षका नेताहरुसँग भएको अनौपचारिक छलफलबारे रिपोर्टिङ गरेको राईले बताए । ‘पहिला केपी र माधव कमरेडबीचमा वार्ताबाट सहमति खोज्ने भन्ने समझदारी भएको थियो । त्यसपछि कार्यदल पनि बन्यो । कार्यदल बनिसकेपछि वार्ताको वातारण बनाउँदै जानुपर्नेमा ओलीपक्षले हाम्रा शिर्ष नेतासहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरेको र कार्यदलका २ सदस्यलाई स्पष्टिकरण सोधेपछि वार्ताको वातावरण भाँडियो’, राईले कार्यदल सदस्यको बिफ्रिङ उद्धृत गर्दै भने, ‘तर ओली नजिकका केही नेताले व्यक्तिगत रुपमा कुराकानी गरौं भनेको हुनाले हामी गएको हो भनेर उहाँहरुले रिपोर्टिङ गर्नुभयो ।’

०७५ जेठ २ मा जान तयार रहेको ओलीपक्षका नेताहरुबाट आएपनि प्रतिनिधिसभा विघटनका विषयमा कुरा नमिलेको ती नेताहरुले ब्रिफिङ गरेका थिए । ‘खासगरी प्रतिनिधि सभा विघटन गर्नु गलत हो । त्यो निर्णय गलत भयो भनेर सार्वजनिक गरिनुपर्छ भन्ने हाम्रो अडान रह्यो । उहाँ (ओली पक्षका नेता) हरुको अडान शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर अदालतमा दर्ता भएको रिटमा गरिएको हस्ताक्षर फिर्ता लिनु पर्‍यो भन्नेमा रहेपछि कुरा मिलेन,’ नेताहरुले बैठकमा गरेको ब्रिफिङबारे राईले भने ।

केन्द्रीय सदस्य राईका अनुसार ओलीपक्षसँग वार्तामा रहे पनि अन्तिमसम्म आफूहरु खनाल–नेपालसँगै रहने ती नेताहरुको भनाइ थियो । ‘उहाँहरुले नेता नेपाललाई जानकारी गराएर नै वार्ता गरेको हो । हामी यता ढल्केको उता ढल्केको केही हैन । अन्तिम अवस्थासम्म सँगै हुन्छौं,’ नेताहरुको भनाई उद्धृत गर्दै राईले भने, ‘एकता भयो भने एकतामा, विद्रोहमा जानु परे विद्रोहमा जान्छौं । हामी साथमै जाने हो भनेर कार्यदलमा रहेका कमरेडहरुले भन्नु भयो ।’

बैठकमा नेता खनालले अन्तराष्ट्रिय प्रसंग जोड्दै मार्क्स, लेलिनले पनि पार्टी फुटाएको बताएका थिए । ‘एकताको कुरा ठिकै हो । त्यो नराम्रो कुरा हैन । तर विचार, सिद्धान्त केही लागु नहुने भयो, गैर कम्युनिष्ट विचारको हालीमुहाली भयो भनेदेखि नयाँ पार्टी बनाएर पनि जानुपर्ने हुनसक्छ भन्नेमा उहाँको जोड थियो,’ राईले भने ।

बैठकमा सहभागी करिब ८५ केन्द्रीय सदस्यमध्ये आधाजसाले बिहीबार धारणा राखेको र बाँकीले शुक्रबारको बैठकमा राख्ने कार्यसूची छ । नेता नेपाल ओलीविरुद्ध विपक्षी गठबन्धनमा सामले भैसकेकाले उनी नयाँ पार्टी निर्माणको मनस्थितिमा रहेको निटक नेताहरुकै बुझाइ छ ।

बुधबार जनसंगठनका अध्यक्षहरूसँगको भर्चुअल बैठकमा नेपालले ओलीले सरकार टिकाउन मात्र पार्टी संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काउने कार्ड फालेको बताएका थिए ।

संसद् पुनर्स्थापनाको सम्भावना देखेपछि ओलीले कुर्सी जोगाउन पुनः एकताको कार्ड फालेको नेपालको दाबी थियो । स्रोतका अनुसार नेता नेपाल केन्द्रीय सदस्यको सुझावपछि आइतबारसम्म एउटा महत्वपूर्ण निर्णय लिने मनस्थितिमा पुगेका छन् । बिहीबारको बैठकमा छोटो बोलेका नेपालले सुझावपछि शुक्रबार निष्कर्षसहितको समापन मन्तव्य राख्ने बताइएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?