डब्लूएचओले भन्यो : नेपालमा कोरोना भाइरसको नयाँ भेेरियन्ट भेटिएको छैन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डब्लूएचओले भन्यो : नेपालमा कोरोना भाइरसको नयाँ भेेरियन्ट भेटिएको छैन

बेलायती अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना भाइरस भेटिएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।
इकान्तिपुर डेस्क

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको बताएको छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि डब्लूएचओले उक्त कुरा स्पष्ट पारेको हो ।

बेलायती ट्याब्लोइड अखबार डेली मेलले नेपालमा नयाँ भेरियन्टमा कोरोना संक्रमण भेटिएको भन्दै समाचार प्रकाशित गरेको थियो । डेली मेलले बिहीबारको संस्करणमा 'नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज' भन्दै कभरमै समाचार प्रकाशित गरेको थियो ।

डेली मेलले पोर्चुगलमा नेपाल भेरियन्ट भेटिएको र त्यसै कारण बेलायती सरकारले पोर्चुगललाई ग्रीन जोनबाट हटाउन सक्ने कुरा समाचारमा उल्लेख गरेको छ । नेपालमा उत्परिवर्तित भएको कोरोना भाइरस युरोपेली मुलुकमा फैलिएकाले बेलायतबाट घुम्न जानेहरुलाई चुनौती थपिएको डेली मेलको दाबी छ ।

तर डब्लूएचओले भने नेपालमा नयाँ स्वरूपमा कोरोना भाइरस फैलिएको बारे कुनै जानकारी नभएको जनाएको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्‍जालमा लेखेको छ, 'नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७) , डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।'

डब्लूएचओले हालै मात्र भाइरसका भेरिएन्टलाई देशको नामसँग जोडेर नकारात्मक टिप्पणी गर्ने गरिएकाले नयाँ नाम दिएको छ । यूके, दक्षिण अफ्रिका, ब्राजिल, अमेरिका, फिलिपिन्स र भारतमा पहिलोपटक देखिएका भेरिएन्टलाई डब्लूएचओले ग्रीक भाषाका अक्षरबाट नयाँ नाम दिएको हो । यूकेमा देखिएको भेरिएन्ट बी.१.१.७ लाई अल्फा नामकरण गरिएको छ । उक्त भेरिएन्ट सन् २०२० को सेप्टेम्बरमा पहिलोपटक देखिएको हो । त्यस्तै, दक्षिण अफ्रिकामा २०२० को मेमा पहिलोपटक देखिएको भेरिएन्ट बी.१.३५१ लाई बिटा नाम दिइएको छ ।

त्यसैगरी, डब्लूएचओले ब्राजिली भेरिएन्ट पी.१ लाई गामा नाम दिएको छ भने भारतीय भेरिएन्ट बी.१.६१७.२ ले डेल्टा नाम पाएको छ । ब्राजिली र भारतीय भेरिएन्ट गत वर्षको नोभेम्बर तथा अक्टोबरमा पहिलोपटक देखिएका थिए ।

भारतमा देखिएको नयाँ भेरियन्ट ( बी.१.६१७.२) लाई गत महिना ‘भारतीय भेरिएन्ट’ को नाम दिइएपछि भारत सरकारको निकै आलोचना भएको थियो । ‘कुनै पनि देशलाई भाइरसको भेरिएन्ट देखिएका आधारमा कलंकित पार्नु हुँदैन,’ डब्लूएचओको कोभिड–१९ प्राविधिक प्रमुख मारिया भान केरखोभले ट्वीटरमा लेखेकी छन् ।

भारतमै देखिएको अर्को भेरिएन्ट बी.१.६१७.१ लाई भने काप्पा नाम दिइएको छ भने ब्राजिलको अर्को भेरिएन्ट पी.२ ले जिटा नाम पाएको छ । फिलिपिन्सको पी.३ लाई थिटा तथा अमेरिकामा देखिएका बी.१.५२६ लाई आयोटा र बी.१.४२७/बी.१.४.२९ लाई एप्सिलन नाम दिइएको छ । त्यस्तै विभिन्न देशहरूमा देखिएको पी.३ लाई भने डब्लूएचओले इटा नाम दिएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

काँचो इँटालाई पानीले क्षति

शंकर आचार्य

पर्सा — निरन्तर परिरहेको पानीले पर्सा–बाराका इँटा उद्योगलाई नोक्सानी भएको छ । गत वर्ष पनि लामो लकडाउन र वर्षाले इँटा उद्योगमा ठूलो क्षति पुर्‍याएको थियो ।

इँटा उद्योगहरूले यस वर्ष पनि ठूलो नोक्सानी व्यहोरेको बाबा इँटा उद्योग कलैयाका व्यवस्थापक सीताराम आचार्यले बताए । ‘गत वर्षकै क्षतिको हर्जना पाएका छैनौं । यस वर्ष पनि निषेधाज्ञा र वर्षा दुवैले हामीलाई नराम्रोसँग थिच्यो,’ उनले भने, ‘एक त बर्सेनि हुने निषेधाज्ञा र लकडाउनले तयारी इँटा बिक्री गर्नै नपाएर उद्योग चलाउनै नसक्ने अवस्था आएको छ, त्यसमाथि वर्षाले पनि काँचो इँटालाई क्षति गरिरहेको छ ।’ पर्सा र बाराका गरी करिब २५ इँटा उद्योगका काँचो इँटालाई वर्षाले क्षति पुर्‍याएको उनले बताए ।

धेरैजसो उद्योगले यस वर्ष इँटा उत्पादन गरेर मौज्दात राखिसकेका थिए । करिब २५ प्रतिशत उद्योगले काँचो इँटा पकाउन पाएका थिएनन् । ती इँटा वर्षाले नष्ट भएको आचार्यले बताए । करिब २५ प्रतिशत उद्योग गत वर्षकै लकडाउनपछि बन्द भएको उनले जानकारी दिए । निषेधाज्ञाअघि विकास निर्माणको कामले गति लिने सम्भावना थियो । तर, निषेधाज्ञा लम्बिँदै गएको र अब वर्षायाम सुरु हुने भएकाले यस वर्ष विकास निर्माण कम हुने उनी बताउँछन् ।

‘निषेधाज्ञा सकिएकै छैन । वर्षायाम आउन लागिसक्यो,’ उनले भने, ‘वर्षायाममा विकास निर्माणका ठूला र साना कुनै पनि परियोजना अघि बढ्दैनन्, हामीजस्तो ठूलो परिमाणमा इँटा पकाएर राखेका उद्योगले बिक्री गर्न पाएका छैनौं ।’ आचार्यको उद्योगमा करिब २५ लाख गोटा पाकेको इँटा छ । पर्सा र बारामा गरी करिब १ सय इँटा उद्योग छन् । पर्सा–बारा इँटा उद्योग संघका अध्यक्ष असर्फी प्रसाद जयसवालले आफूसँग यस वर्ष बिक्री नभएको १६ लाख वटा इँटा मौज्दात रहेको बताए । पर्सा–बाराका १ सयमध्ये ५० प्रतिशत उद्योगले यस वर्ष उत्पादन गरिसकेको तर निषेधाज्ञाले बिक्री ठप्प भएको उनको भनाइ छ ।

गत वर्षको घाटाको पूर्ति र यस वर्षको लागत मात्र उठाउन कतिपय इँटा उद्योगले प्रतिट्रेलर ४ हजारदेखि ४ हजार पाँच सय रुपैयाँ घाटा व्यहोरेर भए पनि इँटा बेच्न बाध्य भएको जयसवाल बताउँछन् । ‘बर्सेनि कोभिड महामारी र त्यससँगै लकडाउन अनि निषेधाज्ञा लाग्न थाल्यो, इँटा बनाउने र बिक्री गर्ने सिजनमै यस्तो हुन थालेपछि उद्योग धराशायी हुने नै भयो,’ उनले भने, ‘यस्तो अवस्थामा उत्पादन लागतभन्दा पनि सस्तोमा केही उद्योगले इँटा बेच्न थालेका छन् ।’

इँटा उद्योगका मिस्त्री र मजदुर अधिकांश भारतीय नै हुने भएकाले निषेधाज्ञा सुरु हुनुअघि उद्योगले भारतीय मजदुरलाई उनीहरूको पारिश्रमिक दिएर घर पठाउनु परेको जयसवाल बताउँछन् ।

प्रकाशित : जेष्ठ २०, २०७८ १३:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×