१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

यो वर्षको मनसुन खतरायुक्त, अहिलेदेखि नै पूर्वतयारी थाल्नुपर्ने प्राधिकरणको सुझाव

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ।

यो वर्षको मनसुन खतरायुक्त, अहिलेदेखि नै पूर्वतयारी थाल्नुपर्ने प्राधिकरणको सुझाव

प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्न सक्ने बताएका हुन् । उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए ।

अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्‌को घटना कहालीलाग्दो हुनसक्ने बताए । उनले भने, ‘पोहोरभन्दा यसपाली झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुपर्‍यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानी पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना पनि बढ्ने देखेका छौं ।’

पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपद्‌बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी सुरु गरौं ।’

उनले विपद्‌बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफूहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।

प्रकाशित : जेष्ठ १७, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?