कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघनको विकल्प रोजेँ : घनश्याम भुसाल

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भुसालले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले गरेको हस्ताक्षर संविधानको रक्षा र राजनीतिक स्थिरताको पक्षमा भएको बताएका छन् ।

संविधान र राजनीतिका लागि संसदीय मर्यादा उल्लंघनको विकल्प रोजेँ : घनश्याम भुसाल

आफूबाट संसदीय मर्यादा उल्लंघन भए पनि संविधान र राजनीतिका लागि त्यो विकल्प रोज्नु परेको भुसालको भनाइ छ ।

केही दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गरेका ११ नेतालाई पार्टीबाट निष्कासन गर्दै भुसालसहित १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, नेता भुसालले शनिबार सामाजिक सञ्जाल फेसबुकबाटै स्पष्टीकरण दिँदै भनेका छन्,‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षा को पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।’

यस्तो छ भुसालको स्पष्टीकरण

म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो ।

तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोलि वा पर्सिपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

प्रकाशित : जेष्ठ १५, २०७८ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?