१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

इकान्तिपुर डेस्क

काठमाडौँ — गृह मन्त्रालयले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएको छ । शुक्रबार गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने बताएका हुन् । 

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७८ साल जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनालाई लिएर उक्त वार्डमै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमण भएको भन्ने सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

कोरोना महामारीको विषम परिस्थितिमा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य भएको पनि प्रवक्ता दाहालले बताएका छन् । स्वास्थ्य संस्थामा सेवारत चिकित्सक तथा नर्समाथि गरिने कुनै पनि प्रकारण्को हातपात, दुर्व्यवहार र तोडफोड प्रचलति कानुनद्वारा निषेधित फौजदारी कसुरजन्य कार्य भएको र भेरी अस्पतालमा आक्रमणमा संलग्नहरुमाथि अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने काम सुरु भइसकेको पनि प्रवक्ता दाहालले बताएका छन् ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ । घटनापछि भेरी अस्पतालमा तनाव सिर्जना भएको छ ।

जेठ ४ गते भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरेलगायतमाथि हातपात गरेका थिए । डाक्टर साहुका अनुसार आफूहरू पाँच जनालाई लखेटी–लखेटी कुटपिट हुन थालेपछि उनीहरू झ्यालबाट हाम फालेर जोगिएका थिए ।

यसअघि विज्ञप्ति जारी गरी नर्सिङ संघकी जिल्ला अध्यक्ष लक्ष्मी केसी ओलीले चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएकी थिइन् । संघले घटनामा संलग्न दोषीलाई अविलम्ब कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । त्यही आक्रोशमा उनीहरूले आईसीयूमा प्रवेश गरी तोडफोडसमेत गरेको बताएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?