कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

संविधानलाई राइट ट्रयाकमा ल्याउने मेरो भूमिका हुन्छ : राष्ट्रिय सभाका सदस्य देवकोटा

'मलाई चाहिँ पूर्ण विश्वास के छ भने प्रतिनिधिसभा पुन:स्थापना हुन्छ । साँच्चै अब संविधानलाई राइट ट्रयाकमा ल्याउने हो भने त्यसको विकल्प पनि छैन । '

काठमाडौँ — राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन् ।

संविधानलाई राइट ट्रयाकमा ल्याउने मेरो भूमिका हुन्छ : राष्ट्रिय सभाका सदस्य देवकोटा

शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्दै सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै देवकोटाले संविधानत्: प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भएपनि संसदलाई छलेर पटकपटक विघटन गरेकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए ।

संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै उनले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए । उनले भने, ‘मेरो जवाफदेहिता भनेको प्रदेशप्रति र स्थानीय तहप्रति हो । र, संविधानको धारा ७६ को उपधारा १० ले प्रधानमन्त्रीको जवाफदेहिता संसदप्रति हो । मन्त्रीहरुको जवाफदेहिता पनि संसदप्रति हो । संसदप्रति जुन उत्तरदायित्व हुनुपर्ने, जवाफदेहिता हुने, त्यसकारण संसदलाई छलेर पटकपटक प्रतिनिधिसभा विघटन गर्ने जुन काम भएको छ । यो संविधानलाई मास्ने, संविधानलाई सिध्याउने, संविधान च्यात्ने खालको जुन खेल भएको छ । यसलाई हामी सबै मिलेर संविधानलाई बचाउने, संविधानलाई राइट ट्रयाकमा ल्याउने यसैमा मेरो आफ्नो भूमिका हुन्छ ।’

देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने विश्वास व्यक्त गरे । संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधिसभा पुन:स्थापनाको विकल्प नभएको उनले बताए । संविधानत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उनले बताए । उनले भने, ‘मलाईचाहिँ पूर्ण विश्वास के छ भने प्रतिनिधिसभा पुन:स्थापना हुन्छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना हुने हामी सबैले कामना पनि गरौं । साँच्चै अब संविधानलाई राइट ट्रयाकमा ल्याउने हो भने त्यसको विकल्प पनि छैन । धारा ७६(३) को सरकारले संसदमा विश्वासको मत नलिइकन प्रतिनिधिसभा विघटन भएको अवस्था हो । किनभने ७६(५) मा माननीय शेरबहादुर देउवाले दाबी गरिसकेपछि त्यो अनुसारको प्रधानमन्त्री नियुक्त गरिनुपर्थ्यो । किनभने संविधान भन्दा बाहिर गएको अवस्था यो भयो ।’

उनले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिएका हुन् । देवकोटा गत जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) माधव नेपाल समूहको सहयोगमा निर्वाचित भएका थिए । उनले नेकपा(एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई पराजित गरेका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?