कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखको सुझाव : चुनावअघि संक्रमणको ‘चेनब्रेक र खोप’

चुनावका लागि महामारीबाहेक अरु खासै चुनौती नरहेको सुरक्षा प्रमुखहरुको ब्रिफिङ
मातृका दाहाल

काठमाडौँ — चारवटै सुरक्षा निकायका प्रमुखले कोरोना महामारीको ‘चेनब्रेक’ र समुदाय तहसम्मै खोपको व्यवस्था गर्न सके तोकिएकै मितिमा निर्वाचन सम्भव रहेको बताएका छन् ।

प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखको सुझाव : चुनावअघि संक्रमणको ‘चेनब्रेक र खोप’

गृह र रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा उनीहरूले चुनावका लागि महामारीबाहेक अरू खासै चुनौती नरहेको धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले बिहीबार मुख्यसचिव शंकरदास बैरागी, गृहसचिव महेश्वर न्यौपाने र रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेसहित प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलाई बालुवाटारमै बोलाएर समसामयिक सुरक्षा, महामारी नियन्त्रणका लागि लिइएका प्रतिकार्य योजना कार्यान्वयन र निर्वाचन सुरक्षाका विषयमा छलफल गरेका थिए ।

स्वास्थ्य आपत्काल वा राजनीतिक गतिरोध बढ्दै जाँदा संकटकालसमेत घोषणा हुने अड्कलबाजीका बीच सुरक्षा प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् । स्रोतले भने छलफलमा संकटकाल वा स्वास्थ्य आपत्कालका विषयमा कुरा नउठेको दाबी गर्‍यो । छलफलमा गृहसचिव न्यौपाने र रक्षासचिव पाण्डेले मन्त्रालयगत ब्रिफिङ गरेपछि सुरक्षा प्रमुखहरूले बोलेका थिए । छलफलका विषयमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र रक्षा मन्त्रालयलगायत कुनै निकायले औपचारिक धारणा बाहिर ल्याएका छैनन् ।

कोरोना महामारीको दोस्रो लहर चलिरहेका बेला सरकार निर्वाचनको तयारीमा जुटेको हो । अहिले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ७१ जिल्लामा जिल्लाव्यापी र ४ जिल्लामा जोखिमयुक्त क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । हाल खोटाङ र मनाङमा मात्रै निषेधाज्ञा छैन ।

बालुवाटारको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणको चेनब्रेक गर्न निषेधाज्ञालाई कडाइका साथ लागू गर्न पनि निर्देशन दिएका छन् । उनले सीमा व्यवस्थापन, निषेधाज्ञाको कार्यान्वयन र प्रतिकार्य योजनामा सुरक्षा निकायहरूले उल्लेखनीय योगदान गरेको भन्दै प्रशंसा पनि गरेका थिए । प्रधामनन्त्री ओलीले कोरोना संक्रमणविरुद्ध चालिएका निषेधाज्ञालगायतका प्रतिकार्य योजनाबारे सचिव र सुरक्षा प्रमुखहरूको धारणा लिएको स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय २०७७ असोज २८ मा ओलीले आफैंले लिएका थिए । त्यस्तै सर्वोच्च अदालतले गत ६ गते गैरसांसदलाई दोहोर्‍याएर मन्त्री नियुक्त गर्न नमिल्ने फैसला गरेसँगै गृहमन्त्री रामबहादुर थापा पदमुक्त भएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री ओलीले नै सम्हालेका छन् । यही मेसोमा पछिल्लो वस्तुस्थिति बुझ्न ओलीले सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमै बोलाएर ब्रिफिङ लिएका हुन् ।

छलफलमा प्रधानसेनापति थापाले संक्रमणको चेनब्रेक गरेर निषेधाज्ञा घटाउँदै आमसर्वसाधारणलाई सहज तरिकाले खोप व्यवस्था गर्न सके चुनाव गराउन कुनै कठिन नभएको बताएका थिए । अन्य सुरक्षा निकायका प्रमुखको पनि त्यही किसिमको धारणा रहेको छलफलमा सहभागी स्रोतले जनाएको छ । उनीहरूले जतिसक्दो छिटो खोपको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार पर्याप्त खोप ल्याएर नागरिकलाई ढुक्कसँग बस्ने वातावरण निर्माण गर्न लागिपरेको बताएका थिए । उनले निर्वाचन आयोगसँग समन्वय गरेर तोकिएकै मितिमा चुनाव गराउने गरी तयारी थाल्न पनि निर्देशन दिएका थिए । सुरक्षा प्रमुखहरूसँगको छलफलबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा बोल्न चाहेनन् । ‘त्यसबेला म अरू नै काममा थिएँ, त्यसैले मलाई जानकारी छैन,’ उनले भने ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा गरेकी छन् । तर विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । जसलाई सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै संवैधानिक इजलासमा पठाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि मतदाताका लागि खोप व्यवस्था गरी संक्रमणको जालो तोड्न सके निर्वाचन गराउन कठिनाइ नहुने बताए । प्रधानमन्त्री ओलीले गएको शनिबार आयोगका पदाधिकारीसँग चुनावी तयारीबारे परामर्श गरिसकेका छन् ।

‘चुनावी वातावरण बनाउने काम सरकार र राजनीतिक दलहरूको हो, महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले आवश्यक कदम चालेर खोपको सहज व्यवस्था गर्नुपर्‍यो र संक्रमणको चेनब्रेक हुनुपर्‍यो,’ थपलियाले कान्तिपुरसँग भने, ‘निर्वाचनको तयारी हामीले थालिसकेका छौं, मतदाता नामावली अद्यावधिक पनि रोकिसकेका छौं ।’ उनले गृह मन्त्रालयसँग चुनावी सुरक्षा तयारीबारे छिट्टै पत्र पठाउने जानकारी पनि दिए ।

प्रकाशित : जेष्ठ १४, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?