संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको मृत्युपछि भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमितको मृत्यु भएपछि उपचारमा लापरबाही गरेको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेका छन् ।

जेठ ४ देखि उपचाररत दाङका ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा बिहीबार राति ८ बजेतिर मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आईसीयू कक्षमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

घटनामा चार नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् । ड्युटीमा खटिएका बेला आफूमाथि हातपात सुरु भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको नर्सिङ अधिकृत शिला शर्माले बताइन् । ‘बिरामीलाई बचाउन हरसम्भव प्रयास गरेका हौं । आफ्नै ज्यान बचाउन शौचालयमा लुकेर बस्नुपर्ने घटना भयो,’ उनले भनिन् ।

परिवारलाई जानकारीबिना भेन्टिलेटरमा राखेर उपचार गराउँदा मृत्यु भएको भन्दै रावतका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । स्वास्थ्यकर्मीहरूलाई लखेट्दै हातपात गर्न थालेपछि अस्पतालमा हल्लीखल्ली भएको थियो । आईसीयूमै छिरेर जाइलागेपछि चिकित्सकहरूले केहीबेर काम बन्द गरेका थिए । स्थिति तनावपूर्ण भएपछि अस्पतालमा प्रहरीले सुरक्षा दिएको थियो ।

घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको बाँकेका एसपी ओमबहादुर रानाले बताए । घटनालगत्तै अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल प्रशासन, अस्पताल विकास समिति प्रतिनिधिले छलफल गरेर दोषीलाई कारबाही गर्ने र अस्पतालमा भयरहित वातावरण बनाउने विषयमा परामर्श गरेका थिए ।

प्रकाशित : जेष्ठ १४, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

रुपा गहतराज

बाँके — बाँकेमा कोरोना संक्रमणबाट बुधबार राति ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाँके, बर्दिया,दाङ, कञ्चनपुर, कैलाली छन् । त्यसमध्ये तीन जना बाँकेका हुन् ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते कोरोना पुष्टि भएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० कै ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई ६ गते भर्ना गरिएको थियो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का ७३ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनी वैशाख २७ गते भर्ना भएकी थिइन् ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ५ का ७५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई ११ गते भर्ना गरिएको थियो ।

कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १८ गते भर्ना गरिएको थियो ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ५६ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ११ गते भर्ना गरिएको थियो ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ का ८० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ १२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७८ १०:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×