कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाद्यान्न अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको छ : प्रजिअ पराजुली

काठमाडौँ — उपत्यकामा थप गरिएको निषेधाज्ञा अवधिभर खाद्यवस्तु अभाव हुन नदिन उपत्यकाका तीनवटै प्रशासनले वैकल्पिक खाद्य व्यवस्थाको प्रबन्ध मिलाएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अनलाइनबाट माग गर्न सकिने र त्यही अनुसार मोबाइल सवारीबाट सम्बन्धित ठाउँमै खाद्यवस्तु पुर्‍याउने सम्बन्धि वैकल्पिक व्यवस्था गरिएको हो ।

खाद्यान्न अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको छ : प्रजिअ पराजुली

उनले भने,'हामीले आज नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुसंग छलफल गर्‍यौं । कोरोनाको संक्रमण दर घटाउनकै लागि हामीले यो निर्णय गरेका हौं । यस्तो अवस्थामा दाल चामल तेल नुन, गेडागुडी लगायत अत्यावश्यक सामाग्रीको सहज आपुर्तिका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड संयुक्त मोबाइल टीम परिचालन गरी स्थलगत रुपमा नै अत्यावश्यक वस्तुको आपुर्तिको व्यवस्था मिलाउने निर्णय गरेका छौं । हामीले सम्पर्क नम्बर सहितको सूचना निकाल्छौं जहाँ जहाँ आवश्यक परेको छ उहाँहरुले सुपथ र उचित मूल्यमा दैनिक अत्यावश्वयक पर्ने सामानहरु खरिद गर्न सक्नुहुन्छ । हामीसँग खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरुका जानकारी अनुसार अहिले प्रसस्त मात्रामा स्टक छ र आत्तिनुपर्ने अवस्था छैन र हामीले अत्यावश्यक सामाग्रीको ढुवानीको व्यवस्था पनि मिलाएका छौं । अहिले एक हप्ताको लागि चाहीँ यीनै दुई संस्थाबाट उपभोक्ता संरक्षण मञ्चको पदाधिकारी उपस्थितिमा विक्रि वितरणको व्यवस्था मिलाइएको छ । सर्वसाधरण नागरिकले किन्नै नपाइने हो कि? हाहाकार हुने हो कि ? पसलमा छैन कि भन्ने चिन्ता लिनुपर्ने अवस्था अन्त्य भएको छ ।'

कोरोना महामारी संक्रमणको चेक ब्रेक गर्न भन्दै काठमाडौं,भक्तपुर र ललितपुर प्रशासनले जेठ १४ गतेदेखि २० गतेसम्म कडा निषेधाज्ञा जारी गरेका छन् । यो अवधिभर आवागमनलाई नियन्त्रण गर्न एवं भीडभाड हुन नदिन उपत्यकामा खाद्य पसल समेत सञ्चालनमा रोक लगाइएको छ । त्यसलाई मध्यनजर गरेर दैनिक उपभोग्य खाद्यवस्तुको अभाव हुन नदिन सरकारले नै सरकारी तवरबाट वैकल्पिक व्यवस्था गरेको हो ।


खाद्य पसलहरु बन्द हुँदा उपभोक्ताहरुलाई समस्या नहोस् भनेर उपत्यकामा मोबाइल खाद्य वितरण प्रणाली पनि लागू गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दाल,चामल लगायतका खाद्य वस्तु बिक्री गर्न मोबाइल सवारीको व्यवस्था गरेका छन् ।

काठमाडौंका प्रजिअ पराजुलीले कसैलाई चामल,दाल तेल नुनलगायतका अत्यावश्यक खाद्यवस्तु अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट वितरणको प्रबन्ध मिलाइने बताए । अनलाइनबाट आवश्यक खाद्य वस्तुको माग संकलन गर्ने र सोही बमोजिम गाडीहरुबाट स्थलगत व्यवस्थापन मिलाउने व्यवस्था मिलाइएको उनले बताए ।

गाडीबाट रुट यकिन गरी स्थानीयस्तरमा स्थानीय तहसँग समन्वय गरेर बिक्री वितरण गरिने,कसैलाई खाद्यको अभाव भएमा साल्ट ट्रेडिङ र खाद्य व्यवस्थालाई समन्वय गर्ने,खाद्य आपूर्ति व्यवस्थापनमा आवश्यक गाडी,चालक र कर्मचारीको आवागमन मिलाउन जिल्ला प्रशासनले पासको व्यवस्था मिलाउने पनि निर्णय भएको छ । मोबाइल खाद्य वस्तु आपूर्तिका लागि स्थानीय रुटको व्यवस्थापन गर्न व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले प्रशासनसँग समन्वय गर्नेछन् । आपत विपद्मा परेका र अत्यन्तै विपन्न नागरिकलाई खाद्य अभाव भएमा सम्बन्धित स्थानीय तहमा खाद्य व्यवस्थाको व्यवस्थापन गर्न प्रशासनले अनुरोध गर्ने निर्णय भएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?