कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

चीनले अनुदानमा दिने भयो थप १० लाख खोप, खरिदका लागि पनि सहजीकरण गरिदिने, भारतका राष्ट्रपतिलाई पनि खोपका लागि पत्राचार
कार्यकारी भूमिकामा नरहेकी संवैधानिक राष्ट्रप्रमुख भण्डारीले थालेको खोप कूटनीतिलाई राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् । मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । जवाफमा सीले नेपाललाई थप १० लाख खोप तत्काल दिने र नेपाललाई चाहिएको अरू खोप खरिद गर्ने सम्बन्धमा आफ्नोतर्फबाट सहजीकरण गरिदिने वचन दिए ।

‘अहिले नेपाली जनताको जीवन बचाउन आवश्यक छ, नेपाललाई खोप अतिआवश्यक छ, खोप खरिदका लागि सहजीकरण गरिदिनुहुन आग्रह गर्छु,’ राष्ट्रपति भण्डारीले सीसँग गरेको आग्रह उद्धृत गर्दै राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले कान्तिपुरसँग भने । त्यसपछि सीले अनुदानमा दिने खोपबाहेक नेपाललाई अरू खोप खरिदमा पनि सहजीकरणदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले खोप खरिदका सम्बन्धमा नेपाली पक्ष र चिनियाँ सरकारी कम्पनी सिनोफार्म सम्पर्कमा रहेको जानकारी दिए । ‘सिनोफार्मका अधिकारीहरूले नेपाललाई उपलब्ध गराउन सक्ने खोपको संख्या, लागत र कति समयमा खोप उपलब्ध गराउन सकिन्छ भन्नेजस्ता विषयमा बेइजिङस्थित नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् । अब नेपाली दूतावासमार्फत जवाफ आएपछि खरिदको प्रक्रिया के हुन्छ भन्ने थाहा हुन्छ,’ चाङले कान्तिपुरसँग भने । चीनले यसअघि नेपाललाई सिनोफार्मबाटै उत्पादित ८ लाख थान भेरोसेल खोप सहयोगस्वरूप दिएको थियो । उक्त खोप १८ वर्षदेखि ५९ वर्षभित्रका मान्छेले मात्र लगाउन मिल्छ ।

सीसँग संवाद हुनु अघिल्लो दिन मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोविन्दलाई ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिनका लागि’ पहल गरिदिन अनुरोध गर्दै पत्राचार गरेकी थिइन् । राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत भारतका राष्ट्रपतिसमक्ष मंगलबारै पत्र पठाएको सञ्चारविज्ञ ढकालले जानकारी दिए । उक्त पत्रका सम्बन्धमा सोध्दा काठमाडौंस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले कान्तिपुरलाई प्रतिक्रिया दिए, ‘भारतले राष्ट्रपतिजीको पत्रलाई सकारात्मक रूपमा लिएको छ । आगामी जुनदेखि भारतमा खोपको उत्पादन दोब्बर बनाउने भनिएको छ । उपलब्ध भएपछि जतिसक्दो छिटो खोप नेपाललाई उपलब्ध गराउन चाहन्छौं ।’

शीतल निवास स्रोतका अनुसार भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि टेलिफोन संवाद गरेर खोपका लागि पहल गर्ने तयारी गरेकी छन् । उक्त संवादका लागि समय मिलाउन परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास गरिरहेको स्रोतले जनाएको छ ।

पछिल्लोपटक कोरोना भाइरसको संक्रमण बढेसँगै २०७७ वैशाख ५ गते राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद भएको थियो । त्यसबेला कोरोना नियन्त्रणका लागि चिनियाँ पक्षले गरेको स्वास्थ्य सामग्री सहयोगलाई लिएर भण्डारीले धन्यवाद दिएकी थिइन् । सीले नेपाललाई कोरोना नियन्त्रणमा सघाउन थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । दुवै मुलुक मिलेर कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा लड्नुपर्ने प्रतिज्ञा पनि उनीहरूले गरेका थिए । उनीहरूबीच २०७६ असोजमा राष्ट्रपति सीले गरेको नेपाल भ्रमणका सन्दर्भमा पनि कुराकानी भएको थियो । ‘बुधबार पनि उक्त भ्रमण र त्यस बेला दुई मुलुकबीच भएका सम्झौताहरूको कार्यान्वयनका बारेमा कुराकानी भयो,’ राष्ट्रपतिका सञ्चारविज्ञ ढकालले भने । दुई राष्ट्रपतिले बुधबार बुद्धजयन्तीको शुभकामना पनि साटासाट गरेका थिए ।

भारतको सिरम इन्स्टिच्युटबाट किनिएको खोपसमेत नआएको सन्दर्भमा चीनबाट खोप ल्याउन जनदबाब बढ्दै गएको थियो । तर स्वास्थ्य सेवा विभागले सिनोफार्मको ठेगाना नै नभेटिएको र पत्राचार हुन नसकेको हास्यास्पद जानकारी दिँदै रहस्यमय ढंगले त्यसमा आलटाल गर्दै आएको थियो । यो पृष्ठभूमिमा सरकार खोपका निम्ति चीनतिरै पहल गर्ने टुंगोमा पुगेको हो । पछिल्लो समय सरकारको चीनसँग दूरी बढेको टिप्पणी भइरहेका बेला भएको यो पहलले फरक सन्देश दिने जानकारहरूको बुझाइ छ ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले करिब दुई साताको गृहकार्यपछि सीसँग भण्डारीको फोन संवाद गराउन सकेको हो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र चीनबीच पूर्ववत् हार्दिक सम्बन्ध छैन । चिनियाँ पक्षले तत्कालीन नेकपा फुटाउन नहुने र प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाडेर भए पनि नेकपाको एकता जोगाउनुपर्ने भन्ने सुझाव दिएपछि ओली र चीनबीचको सम्बन्धमा चिसोपना आएको भनिन्छ । त्यससँगै ओलीको दक्षिणतिर ढल्किने रणनीतिले ओली–चीन सम्बन्ध सहज भएको देखिँदैन । तर यसबीचमा पनि राष्ट्रपति भण्डारी चिनियाँ पक्षसँग सम्पर्कमै रहेको राजनीतिक वृत्तको बुझाइ छ ।

दुई राष्ट्रपतिबीचको संवाद चीन र ओली सरकारबीच सम्बन्धमा सुधार आएको संकेत हो त ? चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की दुई राष्ट्रपतिबीचको संवादलाई सरकारसँग जोडेर हेर्न नमिल्ने मान्छन् । ‘यो महामारीको बेला हो । नेपाली जनता संकटमा छन् । यस्तो अवस्थामा चीनले नेपाल र नेपाली जनतालाई सहयोग गरेको हो । चीनजस्तो मुलुकले कुन देशमा कुन सरकार छ भन्ने कुरामा ध्यान दिनेभन्दा पनि कसलाई सहयोग गर्ने भन्ने हेर्छ,’ उनले भने, ‘यो संवाद र सहयोग दुई मुलुकबीचको हो । यसलाई दुई सरकारबीचको सम्बन्धमा राखेर हेर्न मिल्दैन ।’

चीनले नेपालमा दोस्रो लहर आएपछि पनि सहयोग गर्दै आएको छ । यसबीचमा उसले ३५ सय अक्सिजन सिलिन्डर सहयोग गर्नुका साथै अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको छ । चीनको स्वशासित तिब्बत प्रदेशले नेपाललाई दिएको पछिल्लो सहयोगमा ३० हजार लिटर तरल अक्सिजन, अक्सिजनसहितको ८ सय सिलिन्डर, १० वटा कन्सन्ट्रेटर, ५ वटा भेन्टिलेटर, २ सयवटा आईसीयू बेड र १५ हजार एन्टिजेन किट उपलब्ध गराएको थियो ।

संवैधानिक राष्ट्रपति, कार्यकारी अनुरोध

कार्यकारी भूमिकामा नरहेकी संवैधानिक राष्ट्रप्रमुख भण्डारीले थालेको खोप कूटनीतिलाई राजनीतिक–वृत्तमा चासोपूर्वक हेरिएको छ । उनले भारतीय राष्ट्रपति कोविन्दलाई पठाएको पत्रमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भारतले गरेको सहयोगका निम्ति धन्यवाद पनि दिएकी छन् । उक्त पत्रमा भारतले नेपाललाई दिएको १० लाख खोप सहयोगबारे धन्यवाद दिइएको छ भने नेपालले खरिद गरेको थप २० लाख खोपमध्ये हालसम्म १० लाखमात्र प्राप्त भएकोमा घुमाउरो गुनासोसमेत उल्लेख गरिएको छ ।

सञ्चारविज्ञ ढकालले भारतले सहयोग गरेको र नेपालले खरिद गरेर आउन बाँकी रहेको लगायत सम्पूर्ण कुरालाई पत्रमा उल्लेख गरिएको प्रस्ट पारे । पूर्वराजदूत दिनेश भट्टराईले भारतका राष्ट्रपति कोविन्दलाई पत्र पठाइए पनि त्यसलाई उनले मोदी सरकारलाई नै ‘फरवार्ड’ गरिदिने प्रस्ट पारे । ‘संवैधानिक राष्ट्रपतिले केही पनि गर्न मिल्दैन । उहाँको काम पाएको पत्र सरकारलाई पठाइदिने मात्र हो,’ उनले भने ।

राष्ट्रपति भण्डारीले संकटका बेला खोप कूटनीति थाल्नुलाई सकारात्मकका रूपमा लिए पनि यो उनको कार्यक्षेत्रको विषय हो कि होइन भन्नेमा पनि चर्चा भइरहेको छ । परराष्ट्रविज्ञ भट्टराई भने मुलुकमा आवश्यकता पर्दा जसरी कुरा गरे पनि खोप आउँदा उचित हुने मान्छन् ।

‘कसले कोसँग संवाद गरे भन्ने कुरा होइन । अहिले महामारीको बेला छ, नेपाललाई खोप आवश्यक छ । जसले पहल गर्दा पनि हुन्छ,’ उनले भने, ‘तर हाम्रोजस्तो संसदीय प्रणाली भएको व्यवस्थामा प्रधानमन्त्रीले नै नेतृत्व लिएर काम गर्नुपर्ने थियो । किन राष्ट्रपतिलाई अघि सारियो थाहा छैन । यो केही असान्दर्भिक पक्कै देखिन्छ ।’

प्रथम राष्ट्रपति रामवरण यादवका तत्कालीन सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति भण्डारीको चीनका कार्यकारी राष्ट्रपति सीसँग भएको संवाद सामान्य रहे पनि भारततर्फ पठाएको पत्रलाई लिएर भने अरूको मनमा जस्तै आफ्नो मनमा पनि केही प्रश्न उठेको बताए ।

‘राष्ट्रपतिको गुडविल प्रयोग गरेरै भए पनि नेपाललाई आवश्यक पर्दा संकटका बेला सहयोग जुटाउने पहल गर्नु राम्रो कुरा हो । तर भारततर्फको सवालमा भने मुलुकको कार्यकारी प्रधानमन्त्री र भारततर्फको पनि कार्यकारी प्रधानमन्त्री हुँदाहुँदै दुवै संवैधानिक रूपमा मात्र रहेका राष्ट्रपतिले पत्र आदानप्रदान गर्नुले प्रश्न उठेको छ,’ दाहालले भने । उनले प्रधानमन्त्री ओलीको साख नभएकै कारणले गर्दा राष्ट्रपतिको गुडविललाई प्रयोग गर्न खोजिएको हो कि भन्ने प्रश्न पनि यो घटनाले अरूको मनमा जस्तै आफ्नो मनमा पनि उठाएको बताए ।

प्रकाशित : जेष्ठ १३, २०७८ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?