कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकार टिकाउन नागरिकता अध्यादेश ल्याएको भन्दै वैज्ञानिक समाजवादी पार्टीद्वारा विरोध

काठमाडौँ — वैज्ञानिक समाजवादी पार्टीले सरकार टिकाउन नागरिकताजस्तो विषयलाई समेत राजनीतिक दाउपेचको विषय बनाएर छेडछाड गर्ने सरकारको हर्कतको भर्त्सना गरेको छ । संसद्‌मा नागरिकतासम्बन्धी विधेयक अल्झाएर अध्यादेश ल्याइएकोमा सरकारको नियत र रवैया षड्यन्त्रकारी भएको भन्दै उक्त पार्टीले विरोध जनाएको हो ।

सरकार टिकाउन नागरिकता अध्यादेश ल्याएको भन्दै वैज्ञानिक समाजवादी पार्टीद्वारा विरोध

वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतिले बुधबार विज्ञप्ति निकाल्दै सरकार टिकाउन नागरिकता जस्तो विषयलाई राजनीतिक दाउपेजको विषय बनाएर छेडछाड गर्ने सरकारको कार्यप्रति पनि विरोध जनाएका छन् ।

'आफ्नोसमेत सहमति भएको विधेयक संसद्‌मा वर्षौं पारित हुन रोक्ने अनि नागरिकताको सम्बन्धमा उठेका न्यायपूर्ण आवाजहरूलाई कुल्चिरहने,' विज्ञप्तिमा भनिएको छ, 'तर आज सरकार टिकाउन नागरिकताजस्तो विषयलाई समेत राजनीतिक दाउपेचको विषय बनाएर छेडछाड गर्ने सरकारको हर्कतको भने हामी भर्त्सना गर्दछौं ।'

जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्ने विषय कुनै कोणबाट पनि राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय नभएको भन्दै संयोजक आहुतिले नागरिकका सम्बन्धमा वास्तविक समस्या र विवाद समाधनमा हस्तक्षेप बढाउन सबैलाई अपील गरेका छन् । तर वैज्ञानिक समाजवादी पार्टीले अहिले जारी भएको अध्यादेशले जन्मसिद्ध नागरिकता प्राप्त गरेका १ लाख ९० हजार ७२६ जनाका सन्तानलाई नागरिकता प्रदान गर्ने बाटो खुल्ने अध्यादेशको यो व्यवस्था स्वाभाविक र अनिवार्य भएको उल्लेख गरेको छ । साथै उनले मुलुकमा नागरिकतामाथि छेडछाड भएका र हुन सक्ने कुनै पनि प्रकारका नकारात्मक गतिविधि निरन्तर अनुगमनका निम्ति शक्तिशाली केन्द्रीय स्थायी आयोग खडा गर्न पनि विज्ञप्तिमार्फत माग गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी थिइन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारको समर्थन गरिरहने बनाउनका निम्ति उक्त अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७८ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?