२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीबाट निष्कासित भएका छन् । शनिबारको बसेको केन्द्रीय बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

जनमोर्चाका सांसद थापा साधारण सदस्यबाटै निष्कासित

‘हामीले उहाँलाई पार्टीको सबै जिम्मेवारीबाट हटाएका छौं’, उनले भने, ‘यसभन्दा पहिला पनि कारबाही गर्दै दलको नेताबाट हटाएका छौं ।’ उनले सांसद पदबाट पनि कारबाही गर्न पहल भइरहेको बताए । पार्टीमा आँच आउने गरी काम गरेको र पार्टी निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको भट्टको भनाइ छ । पार्टीले ह्रवीप जारी गर्दासमेत थापाले उल्लंघन गर्दै आएको उनले बताए ।

विपक्षी गठबन्धनले गण्डकी प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा राजमोको साथ थियो । अविश्वासको प्रस्तावमाथि मतदान गर्ने पार्टीले निर्णय गरेको थियो । अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्रवान गरेकी थिइन् ।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार गठनको लागि बहुमत (३१ सदस्यको) को हस्ताक्षर चाहिन्छ । गण्डकीमा कांग्रेसका १५, एमालेका २८, माओवादी केन्द्रका १२ (सभामुखसहित) राजमोका ३ र जसपाका २ सदस्य छन् । सरकार गठनको लागि निर्णयक भूमिकामा रहेको राजमोका थापाले एमाले पार्टीलाई सहयोग गरेका थिए । उनले मुख्यमन्त्रीमा गुरुङ नै हुनुपर्ने बताएका थिए ।

नयाँ सरकार गठनको लागि हस्ताक्षर संकलन गर्ने क्रममा 'समय छ हस्ताक्षर गर्ने भन्दै' तर्किए । महासचिव भट्टको नेतृत्वमा बसेको पार्टी बैठकले बारम्बार निर्देशन दिँदा पनि नयाँ सरकार गठनको पक्षमा उनी उभिएनन् । जनमोर्चाका उनको हस्ताक्षर नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले संसद्‌मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

अहिले गण्डकीमा गुरुङ नेतृत्वको अल्पमतको सरकार छ । वैशाख २९ मा शपथ लिएका मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रकाशित : जेष्ठ ९, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?